१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना रोक्न नाकामै छेकबार

पूर्वीपहाडको सबैभन्दा सहज भारतीय नाका पशुपतिनगर रहेको सूर्याेदय नगरपालिकाले कोभिड–१९ नियन्त्रण गर्न जटिल अवस्था सामना गर्नु परिरहेको छ। तर, खुला सीमाबाट मध्यरातिसमेत मानिस लुकीछिपी आउ–जाउ गर्ने गरेपनि कोभिड नियन्त्रणको प्रभावकारी प्रयास गर्न सफल भएको नगरले जनाएको छ।  

नगरले गरेको व्यवस्थापनकै कारण पशुपतिनगर नाका भएर छिर्ने व्यक्तिहरूबाट इलामसहित पूर्वीपहाडी जिल्लामा कोभिड फैलिन नपाएको मेयर रणबहादुर राईले बताए। ‘पशुपतिनगर नाकासहित खुला सीमा नियन्त्रण नगरिएको भए कोरोनाले पूर्वी पहाड मात्र होइन, सिंगो देशमै अर्काे रूप लिन सक्ने सम्भावना थियो,’ उनले भने, ‘नगरले नाकाबाट छिरेका नेपालीलाई सुरक्षित रूपमा आ–आफ्नो जिल्ला पुर्‍याइदिएकाले कोरोनाबाट बच्न सजिलो भयो।’ 

सरकारले केही समयअघि पशुपतिनगरसहित देशका सीमित नाकाहरूबाट मात्र नेपालीलाई स्वदेश छिर्न दिने निर्णय गरेको थियो। सरकारी निर्णयअघि र पछि पनि सूर्याेदयले पशुपतिनगर नाका भएर आउने नेपालीका लागि सीमामै आरडिटी परीक्षण गर्ने व्यवस्था मिलाएको थियो। सीमाबाट छिर्नेबित्तिकै सबैको आरडिटी परीक्षण गरी नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला पठाउने र पोजिटिभ देखिए क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको थियो। कोभिड नियन्त्रणका लागि जिल्लामै पहिलोपटक पशुपतिनगरका ४ हेल्थ डेस्क स्थापना गरी ‘थर्मल गन’ले ज्वरो नाप्ने व्यवस्था गरिएको थियो। कोरोना नियन्त्रणकै लागि नगरको पहलमा सीमाक्षेत्रका ५ स्थानमा सशस्त्र प्रहरीको चेकपोस्ट स्थापना गरिएको छ।  

भारतमा काम गरेर बसेका दोलखाका २ सय १० सहित विभिन्न जिल्लाका युवालाई यहाँबाट सम्बन्धित जिल्ला पुर्‍याइएको छ। उनीहरूलाई नगरले आफैं सवारी साधन व्यवस्था गरी अन्य व्यक्तिसँग सम्पर्क नहुनेगरी आ–आफ्नो जिल्ला पुर्‍याएको थियो। कोरोना नियन्त्रणकै लागि नगरको पहलमा सीमाक्षेत्रका ५ स्थानमा सशस्त्र प्रहरीको चेकपोस्ट स्थापना गरिएको छ।

कोरोनाको असर सुरु हुनेबित्तिकै बजेट विनियोजन र दाताहरूबाट सहयोग जुटाएर स्वास्थ्य सामग्री व्यवस्था गरेको मेयर राईले बताए। तर, भारतलगायत अन्य देशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिलाई अस्पतालले उपचार गर्न नमान्दा एक युवकको निधन भएको उनले बताए।

अधिकतर किसान चिया खेतीमा आश्रित सूर्याेदयले कोरोना महामारीबाट बचेर व्यवसाय सञ्चालन गराउन चिया टिपाइको मापदण्डसहितको कार्यविधि जारी गरेको थियो। प्रदेश र संघीय सरकारसँग पहल गरेपछि त्यही मापदण्डका आधारमा हरियो चिया टिपाइ सुरु गरिएको थियो। ‘टिप्न तयार भएको हरियो चिया २/४ दिन टिपिएन भने किसानलाई लाखौंको घाटामात्र हुँदैन, हातमुख जोर्ने समस्यासमेत आउँछ,’ उनले भने, ‘नगरले किसानलाई चिया टिपाइको बाटो देखाउनुको कुनै विकल्प पनि थिएन।’

कोरोना नियन्त्रणका लागि नगरले गत चैतदेखि असार मसान्तसम्ममा ७५ लाख ६६ हजार रुपैयाँ खर्च भएको विवरणसमेत सार्वजनिक गरेको छ। आर्थिक पारदर्शिता र नागरिकको सूचना पाउने अधिकार संरक्षण गर्न नगरले समारोह नै आयोजना गरी कोरोना नियन्त्रणको हिसाब–किताब सार्वजनिक गरेको हो। गत असारसम्ममा नगरको विपद् व्यवस्थापन कोषमा ८७ लाख ९ हजार रुपैयाँ जम्मा भएको नगरका आन्तरिक लेखापरीक्षण अधिकृत प्रदीप चापागाईंले बताए।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले भारतसँग सीमा जोडिएको सूर्याेदय नगरले कोभिड नियन्त्रणमा प्रशंसनीय प्रयास गरिरहेको बताए। ‘सूर्याेदयले नाकामा गरेको व्यवस्थापनले देशमै कोरोना नियन्त्रणमा ठूलो सहयोग पुगिरहेको छ,’ प्रमुख बरालले भने, ‘काम गर्दा खर्च हुनु स्वभाविक हो। तर, सीमा क्षेत्रमा रहेको नगरले देशकै ठूलो समुदायलाई कोरोनाको जोखिमबाट बचाउनु चाहिँ लेखाजोखा गर्न नसकिनेखालको उपलब्धि मान्नुपर्छ।’

नगरले कोभिड–१९ नियन्त्रणका लागि हुने आय–व्यय व्यवस्थित र पारदर्शी बनाउन अब प्रत्येक साता हिसाब–किताब सार्वजनिक गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले बताए। उनले यसको तथ्यांक सबैले हेर्न मिल्नेगरी वेबसाइटमै राख्ने प्राविधिक तयारी भइरहेको पनि बताए। गत जेठ २७ मा सूर्याेदय नगरको करफोक क्वारेन्टिनमा रहेका युवकमा जिल्लामै पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो।  

सूर्याेदय नगरमा अहिलेसम्म १५ जना संक्रमित पुष्टि भएकामा सबैजना उपचारपछि घर फर्केका छन्। ४३ जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको र नगरमा ४ सय जना क्षमताको क्वारेन्टिन रहेको नगरको स्वास्थ्य शाखाका विपुल अधिकारीले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०७७ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App