१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमितलाई सामाजिक बहिस्कारको डर

दुईसाता अघि घोराही उपमहानगरपालिका वडा नं. १५ का ५० वर्षीय जीवराज केसी (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसे। कोरोना लाग्नु उनका लागि अभिषाप जस्तै भयो। 

छिमेकका कोहि कसैले उनको स्वास्थ्य अवस्था बारे चासो देखाउनु साटो, उनको घरको बाटो भएर हिँड्न समेत छोडे। छिमेकबाटै भएको हेलाले केसी परिवारले कोरोना लाग्नु ठूलो अभिषाप भएको महशुस गरेको छ।  ‘कोरोना लाग्नु ठूलो अभिषाप रहेछ, छिमेकीहरु घरको बाटो समेत हिँड्न छोड्दा रहेछन्,’ केसीका छोरा प्रज्वलले भने ‘कोरोन संक्रमणको त्रास भन्दा पनि बढि डर सामाजिक बहिस्कारको हुँदो रहेछ।’

एक महिना अघि देउखुरीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो। उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि छिमेकीहरु थप त्रासित बने। ती स्वास्थ्यकर्मीको परिवारका सबै सदस्यसंग छिमेकीहरु टाढिन थाले। ‘हाम्रो एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यो परिवारलाई समाजले हेला गर्न थाले छ, उनीहरुसँग उनिहरुसंग गाउँका सबै बोल्न छोडे, बाटो काटेर हिँड्ने सम्मको त्रासदी मच्चियो,’ जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले भने ‘त्यो परिवारलाई ठूलै सामाजिक बहिस्कार भएपछि हामीहरु आँफै गएर छिमेकीहरुलाई सम्झाउने काम गर्याैँ।’

कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित मात्रै हैन, उसको सिंगो परिवारनै सामाजिक बहिस्कारमा पर्ने गरेका जिल्लामा बग्रेल्ती छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन चन्द भन्छन् ‘ जिल्लामा थुप्रै संक्रमित तथा उनीहरुको परिवारलाई सामाजिक बहिस्कार गरिएका छन्, फलत: कोरोना लागेपछि सामाजिक बहिस्कारमा परिन्छ भन्ने त्रासदी जिल्लामा ब्याप्त भैसकेको छ।’  

यहि त्रासका कारण समुदायमा फैलिईसकेको कोरोनाले थप बिकराल रुप लिन सक्ने त्रास बढाईदिएको छ। कोरोना संक्रमति भएपछि सामाजिक बहिस्कारमा परिन्छ भन्ने त्रासदीले संक्रमण आशंका गरिएकाहरुले समेत कोरोना परीक्षणै गर्न अस्वीकार गर्न थालिसकेका  छन्।

जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुरमा कोरोना परीक्षण गर्न नमानेको घटनाले कोरोना फैलिएको त्रास बढेको छ। नारायणपुरका एकजनालाई कोरोना संक्रमण पुष्टि भयो। उनको परिवारका सदस्य तथा उनको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गर्ने तयारी जिल्ला स्वास्थ्य कार्यालयले थाल्यो। तर कोरोना परीक्षणका लागि स्वाब दिन परिवारका सदस्य तथा उनको सम्पर्कमा रहेका कोहि पनि राजी भएनन्। 

‘ती व्यक्तिका परिवारका सदस्य तथा उनको सम्पर्कमा रहेकाहरुको पहिचान गरेर  कोरोना परीक्षण गर्ने तयारीमा थियौँ, तर उहाँहरु कसैले पनि स्वाब दिनै मान्नु भएन,’ जनस्वास्थ्य कार्यालयका फोकलपर्सन चन्दले भने  ‘उहाँहरु सबै होम आईशोलेशनमा बसे त एउटा कुरा भयो , नत्र उहाँहरुबाट समुदायमा कोरोना संक्रमण फैलने त्रास स्वतः झनै बढि हुने नै भयो नि।’

नारायणपुरको यो घटना मात्रै हैन, समुदायमा कोरोना संक्रमण फैलनुको प्रमुख कारण कोरोना ‘परीक्षण अस्वीकार’ पनि एक हो। जिल्लामा विगत दुई सातादेखि समुदायस्तरमा कोरोना संक्रमण ब्याप्त देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको समुदायस्तरमा बाह्य मुलुकबाट आएका नागरिकहरुबाटै संक्रमण फैलिएको देखिएको छ।

बाहिरबाट आएकाहरु सबै होम क्वारेन्टिनमा बस्न मानेनन्। उनीहरु  परिवारका सबै सदस्यसंग घुलमिल भए। नत उनिहरु कोरोना परीक्षणका लागि सम्पर्कमै आए। कोरोना संक्रमित भैहाले १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता अनि कोरोना संक्रमण भए सामाजिक बहिस्कारमा पर्ने त्रासदीले उनीहरुले कोरोना परिक्षण गर्न अस्वीकार गरे। फलतः संक्रमितहरु खुलेआम परिवार तथा गाउँछिमेकमा घुलमिल हुँदा कोरोनाले समुदायमा आक्रमण गर्न थालेको जनस्वास्थ्य कार्यालय बताउँछ । 

‘कोरोना संक्रमित भैहाले १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्ने झन्झट, अनि संक्रमित भैहाले समाजले हेला गर्छ भन्ने मानसिकताले बाहिरबाट आएका धेरै नागरिकले कोरोना परीक्षण गर्न मानेनन्,’ चन्द भन्छन् ‘फलतः उनीहरु मध्य संक्रमित भएकाहरुबाट समुदायमा बिस्तारै कोरोनाले आक्रमण गर्न सुरु गर्यो।’

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले १४ भदौबाट पुनः लकडाउन सुरु गर्यो। एक हप्तासम्म अत्यावश्यक बाहेक हरेक क्षेत्र बन्द रहने गरि लकडाउन गर्ने निर्णय गरेको प्रशासनको लकडाउनको पालना त्यति हुन सकेन। बजार, व्यवसाय बन्द रहेपनि स्थानीयको चहलपहल भने घटेन। स्थानीयहरुले खुल्ला रुपमै हिँडिरहे, भीडभाड उस्तै रह्यो। पहिलो हप्ताको लकडाउनलाई केहि खुकुलो पार्दै प्रशासनले लकडाउनलाई एक हप्ता लम्ब्यायो। अहिले विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुल्ला रहनेगरि लकडाउन कायमै छ।

कोरोना संक्रमण नबढोस् भनेर स्थानीय  प्रशासनले लकडाउन लागू गरेपनि स्थानीयहरुले भने यसको प्रवाह गरेको देखिन्न। बजारमा स्थानीयहरुको भीड निकै छ। ‘सामाजिक/भौतिक दूरी को चेत आमनागरिकमा अन्त्य भैसकेको जस्तो लाग्छ,’जनस्वास्थ्य कार्यालयका फोकलपर्सन कमल चन्दले भने ‘कोरोना छैन, वा कोरोना लागेपनि केहि हुँदैन भन्ने गलत मानसिकता हाबी भैसकेको छ।’ 

कोरोना संक्रमणलाई ठूलो रोग हैन, भन्ने मानसिकताले आम नागरिकको हरेक क्षेत्रमा भीडभाड दिनहुँ बढ्दै गएको भन्दै स्वास्थ्य कार्यालयले आमनागरिकमा विकसीत हुँदै गएको यो गलत मानसिकताले समुदाय स्तर कोरोनाबाट झन खतरामा पर्दै गएको जनाउँछ।  जिल्लामा अहिले सम्म ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ।  

प्रकाशित: २७ भाद्र २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App