८ वैशाख २०८१ शनिबार
समाज

अग्रपंक्तिका योद्धाहरू

जाङ्मु शेर्पा, नर्स। नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिको आइसोलेसन वार्डमा बिरामीको ब्लड प्रेसर जाँच गर्दै। उनको घरमा ९५ वर्षीय हजुरबुवा छन्। तर, संक्रमणको डरले उनले हजुरबुवालाई नभेटेको बताइन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी चिकित्सक लिना देवकोटा कोरोना भाइरसको संक्रमण र जोखिमलाई ध्यानमा राख्दै पूर्ण सावधानी अपनाएर हरपल बिरामीको सेवामा छिन्। शुक्रराज ट्रपिकल त्यसै पनि सरुवा रोगसम्बन्धी अस्पताल भएकाले विगतमा पनि उनी बिरामीको उपचार गर्दा सावधानी नै अपनाउने गर्थिन्। ‘त्यसमाथि अहिले त हामीले कोरोना संक्रमणबाट जोगिन सम्पूर्ण सावधानी अपनाएका छौँ,’ देवकोटाले भनिन्।  

बिरामीले विश्वास गरेर डाक्टरलाई आफ्नो जीवन नै सुम्पिरहेका छन्, तैपनि आममान्छे चाहिँ उनीहरूदेखि डराइरहेको अनुभूत गर्छिन्, देवकोटा। ‘अहिले त डाक्टर र स्वास्थ्यकर्मी भनेपछि आममान्छे त्यसै डराइरहेका छन्, त्यसमा पनि टेकुको डाक्टर भनेपछि प्रायः मान्छे डराउने र भाग्ने गरेका छन्,’ देवकोटाले भनिन्, ‘हामीले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सबै प्रोटोकल अपनाएका छौँ। त्यसैले त हामी डराएका छैनौँ र हामीसँग पनि डराउनुपर्दैन।’

नेपाल प्रहरीका इन्स्पेक्टर बस्नेत पनि सक्दो सावधानी अपनाएर सुरक्षामा खटिइरहेका छन्। ‘सरकारले जारी गरेको आदेश अवज्ञा गर्नेलाई हामीले क्याचर मेसिन प्रयोग गरेर नियन्त्रणमा लिन्छौँ,’ बस्नेतले भने, ‘त्यसको प्रयोगको मुख्य उद्देश्य भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरण गर्ने नै हो।’  

बल्खुस्थित तरकारी बजारका ३९ वर्षीय दीपक पौडेल जोखिमका बीच पनि तरकारी व्यापार गरिरहेका छन्। पिपिई र मास्क लगाएका उनले भने,  ‘आफ्नो तर्फबाट सक्दो सावधानी अपनाएको छु। एकजना ग्राहकसँग कारोबार गरेपछि हात सेनिटाइज गरिहाल्छु।’ संक्रमणको डर रहे पनि उनी आफ्नो कर्ममा खटिइरहेका छन्।  

वसुन्धरास्थित एक दूध डिपोकी ४५ वर्षीया शान्ता कुँवर बिहान ३ बजे नै उठेर आफ्नो काममा लाग्छिन्।  ‘बिहानको ४ बजेसम्म दूधका सबै गाडी आउँछन्। त्यसपछि पसल र अरुलाई वितरण गर्छु,’ विगत १६ वर्षदेखि यही पेसामा अभ्यस्त कुँवरले भनिन्, ‘डर लागे पनि काम नगरी खान पाइँदैन, रोगभन्दा भोक नै ठूलो हुँदो रहेछ।’ त्यसैले त सक्दो सावधानी अपनाएर उनी निरन्तर आफ्नो काममा लागिरहेकी छिन्।  

लिना, प्रदीप, दीपक र शान्ता प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्ता अग्रपंक्तिका धेरै योद्धा आफ्नो कर्ममा खटिएका छन् र महामारीका बीच पनि केही सर्वसाधारणले सुविधा पाएका छन्। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिएका योद्धाले आफैँ संक्रमित भएर पनि आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले अग्रपंक्तिका यी योद्धासँग डराउने होइन, सावधानीपूर्वक कोरोनासँग जोगिएर अगाडि बढ्ने हो।  

नेपाली सेनाका दुई जवान। कोरोना संक्रमित भई मृत्यु भएका व्यक्तिलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लैजानुअघि अन्तिम श्रद्धाञ्जली दिँदै।

  

फोटो पत्रकार नाजिया श्रेष्ठ। कोरोनाको डर भए पनि सावधानी अपनाएर काम गरिरहेको उनले  बताइन्।  

 

ट्राफिक प्रहरी तिलक श्रेष्ठ। लगनखेलस्थित आफ्नो कार्यक्षेत्रमा खटिएका उनले भने, ‘मेरा धेरै साथीहरु संक्रमित भइसकेका छन्। संक्रमित हुन्छु भनेर डराएर मात्रै भएन। मैले त सावधानी अपनाएर ड्युटी गरिरहेको छु।’  
४३ वर्षीया विष्णुमाया पोडे त्रिपुरेश्वर क्षेत्रमा फोहोर संकलन गर्दै । उनी भन्छिन्, ‘कोरोनासँग डराएर के गर्नु, खानका लागि काम गर्नैप-यो !’

प्रकाशित: २७ भाद्र २०७७ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App