२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विवादमा गाउँपालिकाः स्थायीलाई पन्छाएर करारलाई जिम्मेवारी

गंगादेव गाउँपालिका ।

रोल्पाको एक गाउँपालिकाले स्थायी ईन्जिनियरलाई ‘प्राबिधिक शाखा प्रमुख’बाट हटाएर करारका सब ईन्जिनियरलाई फाट प्रमुख बनाएपछि विवाद चुलिएको छ। स्थायी ईन्जिनियर नबिन डांगीलाई जिम्मेवारीबाट पन्छाउदै सव इन्जिनियर रमेश डांगीलाई शाखा प्रमुख बनाएको भन्दै सामाजिक संजाल तथा विभिन्न मिडियाहरुमा चर्काे आलोचना भईरहेको छ। त्यसैगरि जिल्लामा कार्यरत अन्य ईन्जिनियरहरुले पनि बिरोध गरेका छन्।  

गाउँपालिकामा खनिएका करिब एक दर्जन सडक स्टीमेट अनुसार नखनिएपछि इन्जिनियर नबिन डांगीले कार्य सम्पादन स्वीकार नगरेका कारण उनलाई जिम्मेवारीविहीन बनाईएको आरोप लागेको हो। करिब दर्जन सडकमा संख्या नपुगेपछि ईन्जिनियरले योजना पास गर्न अस्वीकार गरेका थिए। ‘खन्नु पर्ने जति दूरी नखनेको जसमा आवश्यक आधारभुत कुराहरु मिट नभएपछि मैले योजना पास गरेन। विवाद भएपछि कार्यपालिकाबाटै मलाई जीम्मेवारी नदिने निर्णय गराईएको छ।’ नबिन डांगीले भने ‘हिजो आज कार्यालय गए पनि हाजिरी मात्रै गरेर बस्ने गर्दछु।’  

गाउँपालिकाले स्थायी प्राविधिक ईन्जिनियर नवीन डांगीलाई हटाएर करारका सव इन्जिनियर रमेश डांगीलाई शाखा प्रमुख बनाएको भन्दै सामाजिक संजाल तथा विभिन्न मिडियाहरुमा चर्काे आलोचना भएपछि गाउँपालिकाले पनि विज्ञप्ति निकालेको छ। छिटो छरितो र सन्तोषजनक काम नगर्ने जुनसुकै कर्मचारीलाई कारबाही गरिने बताउदै बिज्ञप्तीमा भनिएको छ, ‘प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत र प्राविधिक प्रमुख नवीन डांगीलाई लिखित स्पष्टीकरण मागिएकोेमा डांगीको स्पष्टीकरण चित्त बुझदो नभएकाले कारबाही स्वरुप हटाइएको हो।  

बिज्ञप्तीका अनुसार ‘गंगादेव गाउँपालिका रोल्पामा कार्यरत प्राबिधिकहरु र प्रशासन शाखा प्रमुखको काम कार्बाही सन्तोषजनक नदेखिएपछि गाउँकार्यपालिकाको बैठकले लिखित स्पष्टीकरण मागेको थियोे। प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत, इन्जिनियर नवीन डांगी लगाएत सबै प्राबिधिकले लिखित स्पष्टीकरण बुझाएका थिए। पेश भएका स्पष्टीकरण अध्ययन गर्दा इन्जिनियर नबिन डांगीको स्पष्टीकरण संतोषजनक नदेखिएकाले गाउँकार्यपालिका बैठकले कार्बाही स्वरुप इन्जिनियर नवीन डांगीलाई प्राबिधिक शाखा प्रमुखबाट हटाइ सव इन्जिनियर रमेश डांगी शाखा प्रमुख बनाउने निर्णय गरेको थियोे।’  

फोन सम्पर्कमा आएका पालिकाका अध्यक्ष बिरबहादुर खत्रीले नागरिकसंग छोटो कुरा गर्दै बिज्ञप्ती आईसकेकाले यो विषयमा बुझ्न पालिकामै आउनु पर्ने बताए। पटक पटक बिभिन्न विवादमा आउने गंगादेब गाउँपालिकामा यतिखेर प्रमुख प्रशासकिय अधिकृत समेत छैनन्। जनप्रतिनिधिको व्यवहारका कारण यहाँ गतिलोसंग कर्मचारीहरु टिक्न नसक्ने गाउँपालिकामा काम गरेर सरुवा भएका कर्मचारीहरु बताउँछन्। लामो समयदेखि स्वास्थ्यका प्राबिधिक कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिईएको छ।

प्रकाशित: २६ भाद्र २०७७ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App