१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना त्राससँगै जंगली हात्तीको आतंकबाट त्राहीमाम

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको छ। समाजले यति लामो बन्दाबन्दीको अकल्पनीय परिस्थिति यसअघि कहिल्यै बेहोर्नु परेको थिएन। इतिहासमै सबैभन्दा कठिन दिनहरू सर्वसाधारणले आत्मसात गरिरहेका बेला कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा निरन्तर रुपमा जंगली हात्तीको समूहले मानववस्तीमा प्रवेश गरि आतंक मच्चाउँदा सर्वसाधारण त्राहीमाम भएका छन्।  

‘एकातिर कोरोना महामारीले गर्दा मानसिक रुपमा त्रास भोग्नु परेको छ, अर्कातिर निरन्तर हात्तीले गाउँ घरमा प्रवेश गरेर आतंक मच्चाउँदा ज्यान जोगाउन गाह्रो परि सक्यो,’ प्रकाशपुरका रामकुमार मण्डलले भने। उनका अनुसार हात्तीले धान बाली नष्ट गर्ने र हरेक दिन घर भत्काउने क्रम बढ्दो छ।  

पछिल्लो समय हात्तीले मानवीय क्षति भने पुर्‍याएको छैन। तर, घर नै भत्काउदा गरिव परिवारलाई यस्तो महामारीका बेला सारै पीडा खेप्नु परेको कोशी टप्पु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र यादवले बताए। ‘हात्तीले पनि गरिव परिवारकै घर भत्काएर घरबारविहीन बनाएको छ,’ उनले भने।  

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा यो वर्ष १७ वटाको संख्यामा हात्ती रहेको र तिनैले आतंक मच्चाउँदै आएको आरक्ष प्रशासनले जनायो। यी हात्तीमध्ये सप्तरीको कमलपुर, उदयपुर क्षेत्र र सुनसरीको कोशी गाउँपालिकाको श्रीलंका टापु तथा बराहक्षेत्र नगरपालिका क्षेत्रका विभिन्न वस्तीमा प्रवेश गरि आतंक मच्चाउने गरेको  छ।  

‘सुनसरीमा भने एउटा मात्र हात्ती मकुनाले आतंक मच्चाउने गरेको छ, अरु हात्तीले उदयपुर र सप्तरीमा आतंक मच्चाउने गरेका छन्,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘आरक्ष प्रशासनले निरन्तर गर्ने कार्य गस्ती भने युद्दस्तरमा गरि नै रहेको छ।’ उनका अनुसार सप्तरीको कमलपुर, सुनसरीको हरिनगर र प्रकाशपुरमा जनताको ट्रयाक्टर प्रयोग गरि इन्धन आरक्ष प्रशासनले हालेर निरन्तर गस्ती गरि रहेको छ। हात्तीले घर भत्काउनुका साथै धान बाली नष्ट गर्दा पनि आरक्ष प्रशासनले भने कोरोना महामारीले गर्दा पीडितलाई राहत प्रदान गर्न सकेको छैन। ‘पीडितबाट डकुमेन्ट प्राप्त गरि नसकेकाले गर्दा यसवर्ष राहत प्रदानमा समस्या भइरहेको छ,’ वार्डेन चौधरीले भने।  

कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हात्ती थिए। पछि तिनै हात्तीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। यो वर्ष थप तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका हुन्।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ।  

नेपालमा कुल २०० देखि २२५ वटा जंगली हात्ती छन्। कोशी टप्पुमा १७ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

प्रकाशित: २५ भाद्र २०७७ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App