१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विजय राम मृत्यु प्रकरण : एसपी खड्कासहित ६ प्रहरी अधिकारीविरुद्ध मुदा दर्ता

दलित युवकको हिरासतमा मृत्यु भएको प्रकरणमा एसपी रवीराज खड्काविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा मुदा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीविरुद्ध मुदा दर्ता गराउन आन्दोलन गरिरहेका पीडितहरुले प्रहरी कार्यालयमा मुदा दर्ता हुन नसकेपछि सरकारी वकिल कार्यालयमा बुधवार मुद्दा दायर गरेका हुन्।  

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका न्यायाधिवक्ता सुवास कुमार भट्टराईले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन एसपी रवीराज खड्कासमेत ६ जनाविरुद्ध आएको जाहेरी कानुनअनुसार दर्ता गरिएको बताए। पनिलाल रामले दिएको जाहेरी दर्ता गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको पनि न्यायाधिवक्ता भट्टराईले बताए।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको र सोअनुसार  आवश्यक कारबाही भइरहेको बताए।  

गत साउन ३१ गते राति गरुडा ८ जिंगडियाका २० वर्षीय युवक निरन्जन रामको घाटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो। युवकको हत्याको आरोपमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये १९ वर्षीय विजय रामको प्रहरी हिरासतमै उपचारको क्रममा भदौ १० मा मृत्यु भएको थियो। निरन्जन रामको हत्यामा संलग्न रहेको भनी स्वीकार गराउन प्रहरीले विजय रामलाई चरम यातना दिएको र प्रहरी यातनाकै कारण युवकको मृत्यु भएको भन्दै दलित अगुवाहरुले आरोप लगाउँदै आएका छन्।  

उनको हिरासतमा मृत्यु प्रकरणमा तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी रवीराज खड्का र इप्रका गरुडाका तत्कालीन प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोको पनि संलग्नता रहेको भन्दै दलित अधिकारकर्मी तथा दलित नेताहरुले दुवै जनालाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए। एसपी, डिएसपीसहित ६ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै स्थानीयले दिनहुँ प्रदर्शन गर्दै आइरहेका थिए।

तत्कालिन एसपी खड्कासहित इलाका प्रहरी कार्यालय गरुडा तत्कालीन प्रमुख डिएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, सई वीरेन्द्र यादव, हवलदार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध मुद्दा दर्ता भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयमा मुदा दर्ता भएपछि दलितहरुको आन्दोलन केही मत्थर हुने विश्वास गरिएको छ।  

 

 

प्रकाशित: २४ भाद्र २०७७ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App