फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँची जिल्ला कारागारका ३३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाएसँगै उनीहरूले भोट हाल्न पाउने भएका हुन्।
जिल्ला कारागार अर्घाखाँचीका प्रमुख श्यामहरि भट्टराईका अनुसार कारागारमा हाल कुल ८९ जना कैदीबन्दी रहेका छन्। तीमध्ये मतदाता नामावलीमा नाम भएका २९ पुरुष र ४ महिला गरी ३३ जनाले मतदान गर्नेछन्।
उनीहरूको सहजताका लागि कारागार परिसरभित्रै मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख भट्टराईले जानकारी दिए।
यस्तै, निर्वाचनका लागि जिल्लामा खटिएका तथा विभिन्न कार्यालयका गरी १ हजार ४ सय ५२ जना कर्मचारीले पनि समानुपातिक तर्फ मतदान गर्नेछन्। यी कर्मचारीहरूको मतदानका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
यसबाहेक, निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, म्यादी प्रहरी र मतदान स्थलमा खटिएका कर्मचारीहरूले भने आफू कार्यरत रहेकै मतदान केन्द्रबाट समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १५:३१ सोमबार





