७ वैशाख २०८१ शुक्रबार
समाज

रथ तान्न निस्किएकालाई कोरोना संक्रमण

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत बिहीबार ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई प्रहरीले हिरासतमा लिएर शुक्रबार र शनिबार पिसिआर परीक्षण गराएको थियो।

पक्राउ परेका १६ जनाको पिसिआर परीक्षण गर्दा ६ जनाको पोजेटिभ रिपोर्ट आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी सन्तोष तामाङले बताए। हिरासतमा रहेका अन्य १० जनाको भने रिपोर्ट आउन बाँकी छ। उनका अनुसार शुक्रबार र शनिबार गरी झडपमा संलग्न १९ जना पक्राउ परेका थिए। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई जथाभावी बोलेको भन्दै थप एकजनालाई सोमबार पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये ९ जनालाई प्रहरीले छाडिसकेको छ भने अन्य ११ जना जावलाखेल प्रहरी हिरासतमा छन्। उनीहरूमाथि मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। ‘पक्राउ परेकालाई मुद्दा अगाडि बढाउन अदालत लैजानुअघि स्वास्थ्य परीक्षण गनुपर्ने भएकाले पिसिआर गराउँदा रिपोर्ट पोजेटिभ आएको हो। अझै केहीको रिपोर्ट आउन बाँकी छ,’ डिएसपी तामाङले भने। रिपोर्ट पोजेटिभ देखिएका ६ जनालाई हाजिरी जमानीमा छाडिएको छ।

त्यस्तै सो भिड नियन्त्रणमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएकामध्ये प्रहरी निरीक्षकसहित १८ प्रहरीलाई पनि कोरोना देखिएको छ। महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत पाँच जना प्रहरी पनि संक्रमित भएका छन्। प्रहरी संक्रमण देखिएपछि ब्यारेक र चौकीमा उच्च सावधानी अपनाइएको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनले भने, ‘अस्तिको भिडभाडले संक्रमण फैलने डर देखिएको छ, सबैभन्दा बढी प्रहरी नै प्रभावित भइरहेका छन्, यसबारे हामी सबै सचेत हुन जरुरी छ।’

त्यसो त आइतबार रथ तान्ने क्रममा पनि पुल्चोकमा भिडभाड भएको थियो। उक्त भिडमा सरिक भएकाहरूलाई पनि कोरोना संक्रमण हुनसक्ने जिल्ला जनस्वास्थ्य चौकीले अनुमान लगाएको छ। भिडमा आएकाहरूलाई सकेसम्म घरभित्रै बस्न र एकसाता पुगेपछि पिसिआर गर्न निर्देशन दिइएको छ। जनस्वास्थ्य कार्यालयले पाटन क्षेत्रका अधिकतर मानिस सडकमा निस्किएकाले पनि उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वाब दिएपछि भिडमा खटिएका प्रहरीलाई कोरोना

महानगरीय प्रहरी परिसर जावलाखेलले आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा खटाएको पाइएको छ। रथ तान्ने क्रममा झडप हुँदा पिसिआर दिएका प्रहरीलाई पनि परिसरले खटाएको थियो। उनीहरूले झडप हुनअगाडि नै स्वाब दिइसकेका थिए। झडपको भोलिपल्ट वृत्तका १९ प्रहरीलाई कोरोना पोजेटिभ देखिएको हो।

शंस्कापद लागेर कोरोना परीक्षण गराएका उनीहरूले भौतिक दुरी कायमसमेत गर्न नसकेकाले अन्य प्रहरी र स्थानीयमा पनि कोरोना फैलिन सक्ने डर देखिएको छ। ललितपुरका जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले सबै प्रहरी र नजिक रहेकाको कन्ट्याक्ट टे«सिङ भइरहेको बताए। उनले भने, ‘सामान्यतया स्वाब दिएपछि नतिजा अनाएसम्म ‘आइसोलेटेट’ भएर बस्नुपर्ने हो तर पछिल्लो समय पिसिआर दिएर ओहोरदोहोर गर्ने गरेको पाइएको छ, कसैले पनि यसो नगरौं।’

परिसर जावलाखेलका प्रमुख एसएसपी राईले आवश्यताका आधारमा खटाइएको बताए। उनले सुरक्षाकर्मी जस्तोसुकै अवस्थामा पनि अलर्ट रहनुपर्ने भएकाले खटाइएको जानकारी दिए। ‘संक्रमण भएकालाई हामीले सुरक्षित राखेका छौं, नमुना स्वाब दिएकालाई पनि खटाइएको थियो, कतिपय ठाउँमा देखिँदैन भन्ने प्रहरीलाई पनि पोजेटिभ देखिएको छ,’ उनले भने, ‘सकेसम्म सावधानी अपनाएका छौं, यस्तो समयमा सर्वसाधारणले पनि प्रहरी र आफूलाई कोरोनाबाट बचाउन आवश्यक छ।’

प्रकाशित: २३ भाद्र २०७७ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App