१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारलाई बिउँझाउन खाना वितरण

साझा पार्टी भक्तपुरले तीनै तहका सरकारलाई राहत वितरणका लागि सकारात्मक दबाब सिर्जना गर्न खाना वितरण कार्यक्रम सुरु गरेको छ। राहत आवश्यक पर्ने नागरिकलाई लक्ष्य गरी एक साताका लागि आयोजित उक्त कार्यक्रमको पहिलो दिन आइतबार साँझ भक्तपुरका सूर्यविनायक, च्याम्हासिंह, कमलविनायक, नयाँ थिमी, पुरानो थिमी, गट्ठाघर र कौशलटारमा एकैपटक खाना वितरण गरिएको छ।

लामो लकडाउनका कारण दैनिक ज्यालादारी गरेर बिहानबेलुकाको छाक टार्नेदेखि नियमित आय बन्द भएका निम्नमध्यम वर्गीय नागरिकमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था सिर्जना हुँदा पनि तीनैथरी सरकारले केही नगरेको भन्दै सरकारको खोजी गर्न खाना वितरण सुरु गरेको पार्टीले जनाएको छ। यस्तो विकराल अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षड्यन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहेको भन्दै व्यंग्यस्वरूप यस किसिमको कार्यक्रम सुरु गरिएको पार्टी नेताहरूले जनाएका छन्।

विपद्मा समेत जनतालाई राहत प्रदान गर्न व्यक्ति र संस्था नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो ? अब कोही भोको बस्नुपर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन भन्ने प्रधानमन्त्री कसका लागि ? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशन मात्र दिएर पुग्दैन, उनीहरूले राहत पाएका खोइ ? पाएका भए देशभरि किन कारुणिक दृश्य देखिइरहेका छन् ? यी र यस्तै प्रश्नहरू उठाउँदै दबाबस्वरूप खाना वितरण थालिएको नेताहरूको भनाइ छ।

पार्टीका नेता प्रकाशचन्द्र परियारले समाजसेवीले खुवाएको खाना वितरण र आफूहरूको खाना वितरणमा केही फरक रहेको बताए। पार्टीका मनकारीहरूबाट चन्दा उठाई खर्च व्यवस्थापन गरेर खाना खुवाउन थालेको उनले बताए। पार्टी अनि समाजसेवीले खाना वितरण गर्नुपर्ने स्थिति आएको सन्देश दिएर सरकार खोज्न खाना वितरण गरेको नेता परियारले बताए।

कोरोना संकटमाझ देशभरका विपन्न तथा न्यून आय भएका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको, साँझबिहान खान पनि नपाइरहेका हजारौंलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाइरहेका बेला सरकार भने हराएको टिप्पणी पार्टीले गरेको छ। कैयौं नागरिक खान नपाएर र कैयौं बिरामी उपचार नपाएर मरिरहेका कारण यस्तो अभियान सुरु गर्नुपरेको पार्टीको भनाइ छ। भोक र रोगबाट पीडितहरूको सहयोगार्थ काम गरिरहेका सबै मनकारी व्यक्ति तथा संस्थाहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ। पार्टी सहप्रवक्ता सरजराज पाठकले सम्भव भएसम्म अन्य जिल्लाहरूमा पनि यसरी नै खाना बिहान र बेलुकी दिनको दुई छाक खाना वितरण गर्ने योजना रहेको उनले सुनाए।

प्रकाशित: २२ भाद्र २०७७ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App