१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकार खोज्न खाना वितरण !

तीनवटै तहका सरकारहरुलाई राहत वितरणको लागि सकारात्मक दबाव सृजना गर्न साझा पार्टी भक्तपुरले राहतको अपेक्षा गरेका नागरिक लक्षित एकहप्ते खाना वितरण कार्यक्रम आइतबार साँझदेखि भक्तपुरका विभिन्न ठाउँंहरुमा सुरु गरेको छ। आइतबार बेलुका पहिलो पटक जिल्लाका सूर्यविनायक, च्याम्हासिंह, कमलविनायक, नयाँं थिमि, पुरानो थिमि, गठाघर र कौशलटारबाट एकैपटक खाना वितरण सुरु गरेका छन्।  

लामो लकडाउनकाबीच दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्दा पनि तीनवटै तहका सरकारले केही नगरेको भन्दै सरकारको खोजी गर्न व्यंग्यस्वरुप खाना वितरण सुरु गरेको पार्टीले जनाएको छ। यस्तो विकराल अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहेको भन्दै व्यंग्यस्वरुप खाना वितरण गरेको पार्टीका नेताहरुले जनाएका छन्।  

विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो ? “अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन् ? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशन मात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका ? पाएका भए देशभरी कारूणीक दृष्यहरू किन देखिइरहेका छन् ? भन्दै पार्टीले खाना वितरण सुरु गरेको जनाएको छ।  

पार्टीका नेता प्रकाशचन्द्र परियाले समाजसेवीले खुवाएको खाना वितरण र आफूहरुको खाना वितरणमा केही फरक रहेको बताए। आफूहरुले यस्तो संकटको बेला पनि कम्युनिष्ट नामको दुई तिहाई सरकार कहां हरायो ? भनी व्यंग्यस्वरुप खाना वितरण थालेको जनाए। पार्टीका मनकारीहरुबाट चन्दा उठाई खर्च व्यवस्थापन गरेर खाना खुवाउन थालेको उनको भनाई थियो। पार्टी अनि समाजसेवीले खाना वितरण गर्नुपर्ने गरी सरकार कता हरायो भनी सरकार खोज्न खाना वितरण गरेको नेता परियारले बताए।  

कोभिड-१९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको, साँझ विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाइरहेका कारूणिक दृश्य सार्वजनिक भइरहेका बेला पनि सरकार हराएकाले खाना खुवाएको पार्टीले जनाएको छ। कयौँ नागरिक खान नपाएर मर्दैछन्, विरामीहरू अस्पताल नपाएर मर्दैछन्।  

यही कारण अभियान सुरु गर्नुपरेको पार्टीको कथन छ। सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरी देखिइरहेका कारूणीक अवस्थालाई तुरून्त सम्वोधन गर्न सरकारसँग जोडदार आह्वान पार्टीले गरेको छ। साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति पार्टीले हार्दिक आभार व्यक्त गरेको छ।

पार्टी सहप्रवक्ता सरजराज पाठकले ‘हामीले देखेका छौ, जनता खान नपाएर भोकै छन्, सरकार नदेखेर रोका छन्, आँंखा खोल सरकार’ भन्ने नाराका साथ खाना वितरण थालेको बताए। सम्भव भएसम्म अन्य जिल्लाहरुमा पनि यसरी नै खाना विहान र बेलुकी दिनको दुई छाक खाना वितरण गर्ने योजना रहेको उनले सुनाए।

प्रकाशित: २१ भाद्र २०७७ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App