बागलुङको ढोरपाटन नगरपालिकाभित्र विभिन्न वडाका बस्तीमा ठूलो आकारमा भौतिक र मानवीय क्षति पु¥याउने गरी बुधबार राति स्थानीय भुजीखोलामा भीषण बाढी आयो। अकल्पनीय रुपमा आएको बाढीमा हराएका धेरै स्थानीयको अझै अत्तोपत्तो छैन। खोजी जारी रहे पनि भेटिएका छैनन्।
नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन जाने मुल सडक क्षेत्रमा पर्छ घटनास्थल। २०७२ को भूकम्पपछि निसी–भुजी जलाधार व्यवस्थापन क्षेत्रको पञ्चवर्षिय योजना अनुसार त्यो बेला बागलुको भू–संरक्षण कार्यालयले भुजीखोला आसपासको क्षेत्रको बस्तीको जोखिम पहिचान गर्नका लागि अध्ययन गरेको थियो। जिल्लास्तरको त्यो कार्यालयले गरेको अध्ययन अनुसार भुजीखोला आसपासका क्षेत्रका बस्ती जोखिममा रहेकोले ती बस्ती अन्यत्र सार्नुपर्ने सुझाव दिइएको थियो।
अध्ययनको नेतृत्व गरेका तत्कालिन समयमा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत रहेका शेरवहादुर श्रेष्ठका अनुसार भूकम्पका कारण चिराचिरा परेको भूभागमा पहिरोको जोखिम हुने भएकोले त्यो क्षेत्रको अध्ययन गरिएको थियो। ‘भूकम्पले चिरिएका क्षेत्रमा पहिरोको जोखिम हुन्छ भन्ने थाहा भएपछि हामीले त्यो क्षेत्रलाई पनि सम्भावित जोखिम क्षेत्रको रुपमा हेरेर अध्ययन गरेका हौ,’ श्रेष्ठले भने, ‘हाम्रो अध्ययनले पनि त्यो ठाउँ निकै नै जोखिमपूर्ण ठहर गरेको हो। त्यही अनुसार प्रतिवेदन बनाएर जिल्लास्तरीय दैवि प्रकोप समितिमा बुझाइयो। तर, त्यो प्रतिवेदन कार्यन्वनय हुन सकेन।’
श्रेष्ठ अहिले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्। उनका अनुसार भुजी खोलाको दायाँबायाँ एकसय मिटरदुरीभित्रका बस्ती निकै नै जोखिममा रहेको उबेला नै ठहर गरिएको थियो। ‘सिरान क्षेत्रमा कुनैपनि बेला पहिरो आउनसक्ने, त्यो पहिरोले खोला थुनिएर फुट्दा तटीय क्षेत्रमा नोक्सान पुग्न सक्छ भनेर हामीले त्यहीबेला अनुमान गरेका थियौं,’ उनले भने, ‘हाम्रो त्यही अनुमान अहिले सत्य सावित भयो।
हामीले त्यो बेला नै जोखिम ठहर गरे अनुसार बस्ती व्यवस्थापनमा ध्यान दिइएको भए यो क्षति नहुनसक्थ्यो।’ त्यो बेला अध्ययन गर्दा भुजीखोला बस्तीमा पस्न नदिनका लागि पञ्चवर्षिय योजना अनुसार करिब १० करोड रुपैयाँ बजेट अनुमान गरेर तटबन्द गर्नुपर्ने सुझाव दिइएको पनि उनले बताए।
‘हामीले त्यो प्रतिवेदन भूसंरक्षण विभागमा पनि बुझाएका हौ। तर, हाम्रो प्रतिवेदन कहाँ गयो, अहिले भन्न सकिन्न,’ उनले भने, ‘जिल्लास्तरमा गरिएका त्यस्ता अध्ययन प्रतिवेदन कार्यन्वयन गर्ने हो भने क्षति भोग्नुपर्दैनथ्यो।’ उनका अनुसार त्यहाँको मौसमी अवस्था निकै नै डरलाग्दो छ। दक्षिणपूर्वबाट उत्तरपश्चिपट्टि वायु जाँदा ढोरपाटनको देउराली डाँडामा ठोक्किने गरेको छ। त्यसले गर्दा त्यहाँको सिमित क्षेत्रमा भीषण वर्षा हुने गरेको छ। ‘पहाडमा वायु ठोक्किदा त्यहाँ भूमरी पर्छ र क्लाउड ब्रस्ट हुन्छ,’ उनले भने, ‘केही क्षेत्रमा भीषण वर्षा हुनेगरि मौसमी चक्र चल्छ। त्यसैले पनि हामीले त्यसलाई जोखिमपुर्ण ठहर गरेका थियौं।’
सिरान क्षेत्रको त्यही जोखिमका कारण तटीय क्षेत्रका बस्ती सुरक्षित हुनुपर्छ भनेर सुझाएको उनले बताए। उनका अनुसार त्यहाँको भौगोलिक अवस्था, माटो, जलवाष्प, डाँडाकाँडाको स्वरुपलाई आधार मानेर त्यो बेला प्रतिवेदन बनाइएको थियो। ‘पहाडको भौगोलिक अवस्था हेर्दा त्यहाँ मक्किएको भूमी छ,’ उनले भने, ‘यसै त कमजोर भूभाग, त्यसैमाथि मोटरबाटो खनिँदा झनै जोखिम बढेको हो। भूसंरक्षणका त्यस्ता प्रतिवेदन कार्यालय खुम्चिएसँगै ओझेलमा परेको उनले बताए। ‘हामीले जिल्लास्तरको दैविप्रकोप उद्धार समितिमा त्यो प्रतिवेदन छलफल ग¥यौ, आफ्नै विभागलाई पनि पठायौं,’ उनले भने।
तत्कालिन अवस्थामा हरेक जिल्लामा रहेका भू संरक्षण कार्यालय खारेज भई अहलिे सीमित आकारमा छन्। अहिले पर्वतमा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले पाँचवटा जिल्ला जिल्ला हेर्ने जिम्मा पाएको छ। पर्वतको त्यो कार्यालयले पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङजालाई समेट्छ।
पर्वतस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेका अनुसार ढोरपाटनको भुजी खोलामा उप जलाधार क्षेत्रको पाँचवर्षे योजना अनुसार काम गरिएको छ। ‘त्यो क्षेत्र (भुजीखोलाको तटीय क्षेत्र) जोखिममा छ भनेर नै हामीले त्यहाँ काम गरिरहेका छौ,’ घिमिरेले भने, ‘त्यहाँको भौगोलिक अवस्था, यसअघिका पहिरो, खोलाको कटान, हरियाली सहित सामाजिक अवस्थालाई हेरेर त्यो क्षेत्र संवेदनशील छ भन्ने थाहा भयो। त्यही भएर हामीले काम गरिरहेका छौ।’
‘खोला किनारैकिनार मोटरबाटो गएपछि बस्ती पनि त्यही मोटरबाटो पछ्याउने क्रममा खोलानजिक आईपुगे,’ उनले भने, ‘कतिपय ठाउँमा खोला नै मिचिएको पनि छ। त्यसले गर्दा पनि जोखिमता पहिचान भएको हो।’ जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्षेत्र फराकिलो हुँदा भुजीखोलामा मात्र ध्यान पुग्न नसकेको उनले बताए। ‘त्यस क्षेत्रमा पहिरो जान नदिन वृक्षरोपण गरिएको, खोलाको कटान नियन्त्रण गर्न ठाउँठाउँमा जाली भरेको, कुलोको मुहान संरक्षणका काम भईरहेका छन,’ उनले भने।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने पाँचवर्ष अघि नै त्यो क्षेत्र जोखिमपूर्ण छ भनेर अध्ययन गरिए पनि नगरपालिकास्तरमा जानकारी नपाएको बताए। ‘त्यो बेला अध्ययन गरिएको भए त सार्वजनिक सुनुवाई गरेर जनतालाई सचेत गराउने काम गरिएन, त्यसले गर्दा अहिले क्षति भयो,’ नेपालीले भने, ‘अध्ययन मात्र गरेर हुँदैनथ्यो, त्यो अध्ययनको सार यहाँका बासिन्दालाई पनि जनाउ दिनपर्ने हो। तर, वेवास्ता गरिएको रहेछ।’ अध्ययन प्रतिवेदन बनाउने तर बाहिर जानाकारी नगराउने हो भने स्थानीयस्तरमा प्रभावकारी हुन नसक्ने उनले बताए।
प्रकाशित: २० भाद्र २०७७ १०:०७ शनिबार