६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बागलुङ पहिराे: गाउँलेले खोला थुनिएको पत्तै पाएनन्

बागलुङको ढोरपाटन नगरपालिका भएर बग्ने भुजीखोलाले तटीय क्षेत्रमा विभिन्न वडाका बस्तीलाई छुन्छ । ढोरपाटन –९ देउरालीनजिकै यो खोलाको मुहान पर्छ । मुहानभन्दा झन्डै तीनकिलोमिटर तल द्वाल खोलाकिनारमा पहिलो बस्ती भेटिन्छ । त्यसपछि तल्लो भेगमा ठाउँठाउँमा बस्ती छन् । बस्तीका ती सबै घर खोलाकिनारमै छन् ।  

बुधबार राति देउरालीमा पहिरो झ-यो । भीषण पहिरोले केहीबेर भुजीखोला थुनियो । तर तटीय भेगका बासिन्दाले सिरान क्षेत्रमा खोला थुनिएको मेसै पाएनन् । मध्यरात हुन थालेको र वर्षा निरन्तर भएकाले पनि खोलामा पानीको सतह घटबढ भएकोबारे गाउँलेले हेक्का राख्न सकेनन् । कारण थियो, पहिरोले थुनिएको भुजीखोलाभन्दा तल्लो क्षेत्रमा आसपासका ठाउँबाट अरू खोला पनि त्यही भुजीमै मिसिन्थे । भुजीआसपासबाट आएर मिसिएका खोलाको बहाव बढी हुन्थ्यो ।

राति १ बजेतिर थुनिएको खोला फुटेर गडगडाउँदै बस्ती बगाउँदै आउँदा ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । तीमध्ये सातजनाको मात्र सनाखत भएको छ । सनाखत भएका ७ जनाको शव आफन्तले बुझेर लगेका छन् । बाढीले बगाउँदा ३८ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार एकैघरका चारजनाको परिवार नै पहिरोमा बगेका छन् । उनका अनुसार बागलुङको पहिरोमा परेर बगेका व्यक्तिको शव गुल्मीमा फेला परेका छन् । भुजीखोलाको पानी बडीगाडमा मिसिँदा शव पनि बग्दै गुल्मी पुगेको उनले बताए । ‘१५ सुरक्षाकर्मीको टोली शुक्रबार बिहानैदेखि हराएका व्यक्तिको खोजीमा लागे पनि कोही फेला परेको छैन,’ डिएसपी रेग्मीले भने ।  

ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलका अनुसार मानवीयबाहेक भौतिक क्षति पनि ठूलो भएको छ । खोलाकिनारका १ सय ३० घर बगेका छन् । ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । भुजीखोलामाथिका पाँचवटा पक्की पुल, १० वटा काठेपुल, तीनवटा झोलुंगे पुल बगेका छन् । दुईवटा स्कुलमा पनि क्षति भएको छ । त्यसबाहेक ढोरपाटनलाई रूपन्देहीको सालझन्डी जोड्ने सडकको करिब २० किलोमिटर खण्ड पूर्ण रूपमा क्षति भएको छ । ढोरपाटन नगरपालिकाभित्र मात्र यो सडक ३८ किलोमिटर भए पनि २० किलोमिटरमा क्षति पुगेको पोखरेलले बताए । यो सडकमा दोहोरो सवारी चल्ने गथ्र्यो । दशकअघि नै ढोरपाटनसम्मको ट्र्याक खोलेर यहाँ मोटर चल्ने गरेका थिए ।  

स्थानीय ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘निरन्तरको वर्षापछि राती नै पहिरो झ-यो, पहिरोले केही घन्टा भुजीखोलाको बहाव रोकियो,’ उनले भने, ‘केही घन्टापछि ताल फुटेर बाढी आउँदा खोलाकिनारका घरलाई पनि हान्यो ।’ उनका अनुसार त्यही भुजीको सिरान क्षेत्रमा विद्युत्को पावरहाउस बनाउन केही समयअघि खन्दा निस्केको माटो, रूखका मुढा भुजीखोला किनारमै थुप्रिएका थिए । ती मुढा र माटो पनि त्यही बाढीले बगाउँदा झनै ठूलो बाढी आएको उनले बताए । उनका अनुसार पहिरो बगेर आउँदा पहिलो बस्ती द्वालमा भेटिन्छ । द्वाल र पहिरोस्थलको दूरी करिब ३ किलामिटर छ । द्वालभन्दा माथि कुनै घर नरहेको र एकाएक माथिबाट बगेको पहिरोले घर बगाए पनि तल्लो तटका बासिन्दाले थाहा नपाएको उनले बताए । ‘एक्कासि गडगडाउँदो बाढी आयो, रातिको समयमा मस्त निद्रामा रहेका गाउँलेलाई घरसँगै बगायो । गाउँले घरबाहिर निस्कन पनि भ्याएनन्,’ उनले भने । उनका अनुसार यो बाटो भएर स्थानीयको आउजाउ निकै नै हुन्छ । खोलाकिनारैकिनार स्थानीयको हिँडडुल हुने हुँदा सबै बस्तीहरू बजारजस्तै बनिसकेका थिए ।  

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पनि पहिरोले थुनिएको खोला एकाएक फुटेर बग्दा आसपासका घरमा क्षति पु-याएको बताए । ‘पहिरोले खोला थुनियो, पहिरोसँगै रूख लडे, थुनिएको खोला फुटेर यो क्षति पु-याएको हो,’ उनले भने, ‘रोकिएको खोला एक्कासि खुल्दा भेलको बहाव बढ्ने नै भयो । त्यसले क्षति पु-यायो ।’ रातको समयमा खोला थुनिएको र केही समयपछि फुट्न पुग्दा स्थानीयले पत्तै नपाएको उनले बताए । यसैबीच बाढीको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली शुक्रबार दिउँसो ढोरपाटन गएको छ । बिहीबार नै ढोरपाटनका लागि सेनाको हेलिकोप्टरमा उडेका थापा मौसम खराबीका कारण बाटोबाट फर्किएका थिए । गृहमन्त्री थापा, सांसद देवेन्द्र पौडेललगायतको टोली पुनः राहत सामग्रीसहित सेनाको हेलिकोप्टरमार्फत ढोरपाटन गएको हो । तत्कालका लागि त्रिपाल, म्याटलगायत राहत सामग्री मन्त्री थापाले लगेका छन् ।

प्रकाशित: २० भाद्र २०७७ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App