डिभिजन सडक कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गौशाला चाबहिल सडकखण्ड कालोपत्रे गर्ने भएको छ। गत आर्थिक वर्षको असार मशान्तभित्रै कालोपत्रे गर्नुपर्ने भएपनि वर्षातको कारणले सो खण्डको कालोपत्रेको काम रोकिएको थियो।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गौशाला चाबहिल तथा पुतली सडक खण्डमा सडक कालोपत्रे गर्ने तयारीमा जुटेको बताए। ‘अहिले निषेधाज्ञाको कारणले काम गर्न पाएका छैनौं। त्यसैले जिल्ला प्रशासन कार्यालयसँग अनुमतिको लागि निवेदन दिइसकेका छौं,’ उनले भने, ‘केही दिनबाटै कालोपत्रेको काम थाल्ने तयारी भइरहेको छ।’
कार्यालयले गत असार मशान्तभित्रै सो सडकखण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि नेपाल विद्युत प्राधिकरणले समयमै भूमीगत विद्युतीय प्रसारणलाइन निर्माण गर्न नसक्दा दुई महिना पछि धकेलिएको हो। प्राधिकरणले तोकिएको समयभित्रै गौशला चाबहिल चुचेपाटी सडकखण्डमा भूमिगत प्रसारणलाइन विस्तार गर्न नसक्दा सडक कालोपत्रे गर्ने काम प्रभावित भएको हो।
प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारणलाइन विस्तार गर्ने लक्ष्यसहित गत वैशाख महिनामा भूमिगत विद्युतीय प्रसारणलाइनको काम सुरु गरेको थियो। प्राधिकरणले गत वैशाखको दोस्रो साता नहुँदै काम थालेको थियो। तर, प्राधिकरणले गत असारमा मात्रै विद्युतीय प्रसारणलाइनको काम सकेसँगै कालोपत्रेको काम प्रभावित भएको थियो। प्राधिकरणले समयमै काम नसक्दा अहिले उक्त सडकखण्ड धुलाम्मे भएर सर्वसाधारण आजित भएका छन् भने अर्कोतर्फ गत आवभित्रै सकिनुपर्ने काम अझैसम्म बाँकी नै छ।
सडक डिभिजन कार्यालयले यो सडकको दीर्घकालिन समाधानको लागि गत पुस १५ मा ठेक्का सम्झौता गरेको थियो। गौशाला चावहिल चुच्चेपाटी, गोपीकृष्ण हलसडक खण्डको सडकको पाइप फेरेर सडक कालोपत्रे गर्ने ठेक्का कालिका कालिका कन्स्ट्रक्सन र वेदांशी कन्स्ट्रक्सन जेभीले पाएको हो। जेभीले करिव साढे दुई किलोमिटर सडकको ठेक्का २० करोड ८७ लाखमा पाएको हो।
कार्यालयले जेभीसँग ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो। सम्झौता अनुसार साढे दुई किलोमिटर सडक उप्काएर फेरि पिच र खानेपानीको नयाँ पाइप जडान गर्नुपर्ने हुन्छ। प्रमुख कुवेर नेपालीले प्राधिकरणको ढिलासुस्तीकै कारणले कालोपत्रे गर्न केही समय ढिलो भएको बताए।
‘प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारणलाइनको काम सक्छौं भनेर काम थालेको थियो। तर, दुई महिना भन्दा धेरै समय लगायो। जसको कारणले तोकिएको समयसीमाभित्रै काम गर्न सकेनौं,’ उनले भने, ‘अब काम गर्न पाएको खण्डमा दशैभित्रै कालोपत्रे सम्पन्न गर्नेछौं।’
कार्यालयले पुतलीस सडकको ७ सय मिटर सडकको पनि कालोपत्रेको लागि आवश्यक तयारी गरेको जनाएको छ। ‘पुतलीसडकको सडकमा ढल राख्ने काम सम्पन्न भइसक्यो,’ उनले भने, ‘ आगामी दशैसम्म कालोपत्रे गर्ने लक्ष्य राखेका छौं।’ १० करोड लागतमा ढल तथा कालोपत्रे गर्न लागिएको हो।
कार्यालयले गत आर्थिक वर्षमा काठमाडौं जिल्लामा ५० किलोमिटर भन्दा धेरै सडक कालोपत्रे गरेको जनायो। ‘लकडाउनको कारणले सबै सप्लाई चेन नै अवरोध भएकाले समस्या भएको हो,’ उनले भने, ‘अब केही सहज हुने बित्तिकै काम अगाडी बढाउनेछौं।’
प्रकाशित: १७ भाद्र २०७७ ०८:४९ बुधबार

