२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी घेरामा डा. केसी

सुदूरपश्चिमलगायत कणालीका दुर्गम बस्तीमा स्वास्थ्यसेवा दिँदै जुम्ला पुुगेका डा. गोविन्द केसीले साउन ३२ गते पत्रकार सम्मेलन गरेर सरकारलाई आफ्ना माग सम्बोधन गर्न भदौ १० गतेसम्मको समय दिए। उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूले राखेका माग भदौ १० सम्म सम्बोधन नभए ११ गतेदेखि सत्याग्रह बस्ने घोषणा गरेका थिए। त्यसबीचमा डोल्पा र मुगुका केही बस्तीमा पुगेर उनले स्वास्थ्यसेवा दिन थाले। गाउँले गाउँमै विशेषज्ञ सेवा लिन पाउँदा निकै खुसी भए। त्यहाँबाट जुम्ला खलंगा फर्किएपछि भने उनीमाथि प्रहरी निगरानी बढ्न थाल्यो। उनले भदौ ११ गते सत्याग्रह थाल्ने तयारी गरेका थिए। डा. केसी बसेको क्षेत्रमा त्यो दिन बिहानैदेखि पूर्ण निषेधाज्ञा घोषणा गरियो।

जुम्लाका सिडिओ र डिएसपी डा. केसीलाई भेट्न एकाबिहानै होटलमै पुगे। उनीहरूले ‘जोखिमपूर्ण परिस्थितिमा सत्याग्रहमा नबसिदिन’ डा. केसीलाई आग्रह गरे। ‘त्यही आग्रहअनुसार सत्याग्रह एक साता स्थगित गर्न पुगें। म एक सातासम्म सत्याग्रह स्थगित गर्छु, त्यसपछि दुनियाँको जुनसुकै शक्ति आए पनि सत्याग्रह रोक्न सक्नेछैन। तपाईंहरू पनि मेरो सत्याग्रहमा बाधक नबन्नुहोला भन्दैे पठाएँ’, डा. केसीले त्यस बिहान सिडिओ र डिएसपीलाई भनेका थिए।  

डा. केसी होटल रोयल गार्डेनमा बसेका छन्। उनलाई भदौ ११ गते दिनभर होटलको कोठाबाट बाहिर निस्किन दिइएन। दुईतीनपटक होटलको गेटबाहिर आउन खोजेका डा. केसीलाई प्रहरीले धकेलेर भित्र पठायो। ‘अस्पताल जान्छु भन्दा पनि दिएनन्। सिडिओ सा’पको आदेश भन्दै होटलभित्र थुनिरहे। त्यसभन्दा ठ्ूलो अपमान के हुन सक्छ’, उनले भने। १८ गते थालिने सत्याग्रह रोक्ने प्रयास भएमा स्थानीय प्रशासनविरुद्ध सत्याग्रह थाल्ने चेतावनी डा. केसीले दिएका छन्। ‘म बसेको होटलबाहिर घेरा हाल्न प्रहरी परिचालन गरिएको छ। मैले स्थानीय प्रहरी प्रशासकलाई जनताको सेवक बन्नुस् भनिसकेको छु’, केसीले थपे। केसी जुम्ला आएदेखि नै प्रहरी प्रशासनको निगरानी बढेपछि सत्याग्रहमा सरकारी दमन हुन सक्ने भन्दै जुम्लावासी डराएका छन्।  

डा. गोविन्द केसीलाई सत्याग्रहमा बस्न नदिन उनी बसेको होटलवरिपरि प्रहरी परिचालन गरिएको छ ।  

दुई वर्षअघि जुम्लामै सत्याग्रहमा बसेका डा. केसीलाई काठमाडौं लैजान बल प्रयोग गरेको थियो। त्यति बेला केसीको अनशन बिथोल्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहित सुरक्षा अधिकारीको टोली जुम्ला पुगेको थियो।  

केसीलाई अस्पतालबाट उठाएर लैजान खोजेको सरकारी टोली र प्रतिष्ठानका कर्मचारी–विद्यार्थीबीच झडप भएको थियो। त्यस क्रममा अस्पतालमा उपचाररत सर्वसाधारणसमेत घाइते भएका थिए।

यसपटक पनि दुई वर्षअघिको घटना दोहोरिन सक्ने आशंका केसीलाई समेत छ। ‘स्थानीय प्रशासनले अनशन बस्न नदिन अवरोध गर्न सक्छ तर म कसैको घुर्कीले रोकिन्नँ’, उनले भने। कर्णाली प्रतिष्ठानका कर्मचारी र विद्यार्थीले डा. केसी सत्याग्रह बस्न नपर्नेगरी वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। एक विद्यार्थीले भने, ‘सरकार एक व्यक्तिको पछि लागेको छ। डा. केसीका माग जनहितमा नै छन्। यो टकराव राम्रो भएन। डा. केसीका मागप्रति बृहत् छलफल गरेर वार्ताका माध्यमबाट सम्बोधन होस् भन्ने कर्णालीवासीको चाहना छ।’ कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले डा. केसी अस्पतालमा अनशन नबस्ने बताउँछन्। 

उनले भने, ‘डा. केसीका माग पनि आम नेपालीका हुन्। सरकार पनि आम नेपाली जनताको नै हो। यी दुवै पक्षबीच प्रभावकारी समन्वय गरेर अघि बढ्नेछौं। सरकार र डा. केसीबीचमा मुठभेड हुन नदिनेगरी काम गर्ने उनले बताए। ‘उहाँ अस्पतालबाहिर नै सत्याग्रहमा बस्नुहुनेछ’, उनले भने। अघिल्लोपटक केसी कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको अस्पताल परिसरमा अनशन बसेका थिए। सरकारसँग सम्झौता भएपछि दुई वर्षअघिको अनशन टुंगिएको थियो। सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनका विभिन्न बुँदामा सुधार हुनुपर्नेमा भएन। ‘मेडिकल माफियालाई पोस्नेगरी ऐन जारी गरियो’, डा. केसी भन्छन्, ‘सरकार ढाँट्दै हिँड्ने अनि म निरीह भएर बसेर हुन्छ ?’

प्रकाशित: १५ भाद्र २०७७ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App