गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुंगे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु. ६२ करोड बजेट बिनियोजन गरेको छ।
क्रमागत १७ योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिए।
यसअघिका वर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण व्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भइरहेको उनले बताए।
धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ।
संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो।
बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु. एक/एक करोड बजेट बिनियोजन भएको छ।
म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धौलागिरि गाउँपालिका–१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु. ५० लाख बिनियोजन भएको जानकारी दिए। संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उनले बताए।
मंगला गाउँपालिका–१ को तुसारेपानी–कुहुँ, गैराखेत–मालिका मन्दिर र दरवाङ–लामेला–अल्काचौर, दूधखोला–तोलावाङ र सराग्दी सडकका लागि रु. ५०/५० लाख र मालिका गाउँपालिकाको खतेन–ओखरबोट झोलुंगे पुललाई रु. ३० लाख बजेट बिनियोजन भएको छ।
घारखोला–नेपाने र तिप्ल्याङ–बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा–२ र बगैचा रानीपौवा रिसिन चौतारी हुँदै बेगखोला जोड्ने सडक र रघुगंगा –१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०/५० लाख बजेट बिनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। ग्रामीण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उनले बताए। सडक स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाइसराइ घट्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण–५ पाउद्धारदेखि कुरिलाबगर हुँदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा–भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा– हुँदै ठारा, भगवती–डाडाबारी–पिप्ले एकघरे सडक, कोटगाउँ–रायखोर– घ्यासीखर्क र पाखापानी– कालावाङ –ठाडाखानी र ठूलोगैरा – खबरा– बन्चरेढुंगा–भकुण्डे र आनन्दबगर– लामबगर – ढोडेनी सडकका लागि रु. ५०/५० लाख बजेट बिनियोजन भएको छ।
बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुंगे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुवर्षीय योजनाहरु हुन्।
निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवती–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधिन छन्। रासस
प्रकाशित: २२ कार्तिक २०८२ ०६:४९ शनिबार



