४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विपन्न संक्रमितलाई ‘अक्सिजन बैंक’

कोरोनाको संक्रमण बढ्दै गएपछि अक्सिजन सहितका आइसोलेसन केन्द्र भरिभराउ हुन थालेको छ। आइसोलेसन केन्द्रमा पहुँचवाला बाहेकलाई अक्सिजनसहितको बेड भेट्टाउन मुस्किल भएपछि संक्रमितहरु घरमै बसेर उपचार गराउन बाध्य छन। उनीहरुका लागि आवश्यक पर्ने पर्ने अक्सिजन तथा चिकित्सकीय परामर्श निःशूल्क उपलब्ध गराउन मनकारीहरु अघि बढ्दै छन्।

घरमै बसेर उपचार गराउन बाध्य संक्रमितहरुका लागि काठमाडौंदेखि जनकपुरसम्म निःशूल्क अक्सिजन तथा चिकित्सकीय सहयोग अभियान सुरु भएको छ। काठमाडौंमा एक फोनमै विपन्न संक्रमितका लागि अक्सिजन सेवा उपलब्ध गराउँदै आएका छन् लायन्स क्लब अफ काठमाडौं समर्पणले। समर्पणले ‘अक्सिजन बैंक’ संचालन गरेर घरमै सेवा उपलब्ध गराउँदै आएको छ। उक्त बैंकको सेवा घरमै उपचार गराउने बिरामीमा केन्द्रित छ, समर्पणका सदस्य विवेक शर्माले भने,‘ बिरामीलाई आवश्यक परेको समयमा निःशुल्क अक्सिजन तथा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएका छौं।’ शर्माका अनुसार विपन्न वर्गका बिरामीलाई बिनाधरौटी वडा कार्यालयको सिफारिसमा निःशूल्क अक्सिजन उपलब्ध गराउँदै आएका छौं। विपन्न भएको प्रमाण नभएका व्यक्तिको हकमा १० हजार रुपैयाँ धरौटीमा अक्सिजन उपलब्ध गराउँदै आएको उनले बताए। विपन्नको नाम दुरुपयोग नहोस् भनेर फारम भर्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

‘कोरोना महामारी फैलिँदै जाँदा घरमै उपचार गराउन चाह्नेहरुलाई कसरी सहयोग गर्ने? सोच्दै जाँदा यो उपाय फुरेको हो’, शर्माले भने, ‘घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराउन बाध्य बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउँदैछौं।’

क्लबले आफ्नो आउटलेट कलंकी र सानेपामा राखेको छ। बिरामीले कार्यालयमा सम्पर्क राखेर अक्सिजन लैजान सक्नेछन्। माग बढेसँगै आउटलेट थप्दै प्लाज्मा थेरापीको सेवा उपलब्ध गराउनेबारे समेत योजना बनाएका छौं, उनले भने। यसका लागि प्लाजमा बैंक स्थापना गर्ने तयारी सुरु गरिसकिएको छ। अहिलेसम्म १८ जना कोरोना संक्रमितलाई निःशूल्क अक्सिजन उपलब्ध गराइसकिएको उनले बताए।  

काठमाडौंमा मात्र होइन लाइन्स कल्वले मंगलबारबाट कोरोनाको हटस्पट प्रदेश २ को वीरगन्जमा समेत अक्सिजन बैंक सेवा संचालन गरी निःशूल्क सेवा सुरु गरेको छ। यो अभियानलाई देशव्यापी फैलाउने योजना रहेको उनले बताए।

प्रदेश २ मा संक्रमणको ग्राफ उकालो चढिरह्दा क्लोथ बैंक धनुषाले समेत अक्सिजन बैंकको सेवा संचालन गरेको छ। विपन्नका लागि लुगा सहयोग गर्दै आएको क्लोथ बैंक कोरोना महामारी फैलिएसँगै बेड अभावमा होम आइसोलेसनमा बसेका संक्रमितलाई निःशुल्क चिकित्सकीय परामर्श उपलब्ध गराउँदै आएको छ। आवयश्क विरामीलाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गर्दै आएको बैंकका सदस्य पुरन रौनियारले बताए। अभियान अन्तर्गत बैंकले मंगलबारसम्म २२ थान अक्सिजन सिलिन्डर सहयोग गरिसकेको रौनियारले बताए।

चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले गरेको एकलाख रुपैयाँको सहयोगबाट सिलिन्डरहरु खरिद गरिएको छ। चिकित्सको निगरानी र परामर्शमा सेवा लिइरहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस अघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर प्रशासनलाई हस्तान्तरण गरेको थियो। बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिलेसम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिवद्वता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ।

धनुषाबाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु जुडन थालेका छन्। पर्साका १८, सर्लाहीका ४, महोतरीका २, सिरहाका २ र सप्तरीका २ जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रहेर परामर्श लिइरहेका छन्।  धनुषाका कुल ३० जना संक्रमितहरु परार्मश लिइरहेको समेत बताइएको छ।

 

 

प्रकाशित: १० भाद्र २०७७ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App