९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

धनकुटाका एम्बुलेन्स चालक आन्दोलित

मालती मोक्तान

असुरक्षित रूपमा बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरू आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटामा १० बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरूले सुरक्षा सामग्रीसहित १५÷१५ दिनमा पिसिआर परीक्षणको माग राखेका छन् ।

ज्ञापनपत्रमा कोरोना महामारीभरि एम्बुलेन्स चालकलाई खाने–बस्ने व्यवस्था हुनुपर्ने, कोरोनाका बिरामी बोक्दा एम्बुलेन्स भाडाको ५० प्रतिशत चालकले पाउनुपर्ने, हरेक एम्बुलेन्सलाई सात÷सात दिनको पालोको तालिका बनाई दैनिक १ हजारका रूपैयाँका दरले ७ हजार रूपैयाँ एकमुष्ट पाउनुपर्ने, कोरोनाका बिरामी बोकिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाई दैनिक १ हजार रूपैयाँ भत्ताको व्यवस्था हुनुपर्ने उल्लेख छ । यसैगरी बिरामी बोकेर धरान गएका बेला भेडेटारमा हुने चेकजाँच बन्द गरिनुपर्ने, हरेक दिन गाडी निर्मलीकरण गरिनुपर्ने, एम्बुलेन्स चालकको निःशुल्क बिमा हुनुपर्ने, महामारीसम्बन्धी हरेक बैठकमा एम्बुलेन्स चालक प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

कोरोनाको महामारी बढ्दै जाँदा पनि धनकुटामा एम्बुलेन्स चालकका लागि सुरक्षित व्यवस्थापन हुन नसकेको धनकुटा नगरपालिकाका एम्बुलेन्स चालक नवीन श्रेष्ठले बताए । ‘पिपिईको व्यवस्था नगरिएकाले बिरामीलाई अस्पताल पु¥याउने हामी नै सुरक्षित छैनौं,’ उनले भने । उनले एम्बुलेन्स चालकलाई एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजरलगायत) उपलब्ध गराउनुपर्ने बताए । कोरोनाको संक्रमण बढ्दै गएपछि धनकुटामा नौवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । कोरोनाको आशंका पाउनेबित्तिकै एम्बुलेन्स चालक बिरामीको घरमा पुग्नुपर्ने र बिरामीलाई क्वारेन्टिन वा अस्पतालसम्म पु¥याउन खटिनुपर्ने अवस्था छ । तर आफूहरूको स्वास्थ्यमाथि हुने खतरालाई व्यवस्थापन गर्न भने कसैको ध्यान नपुगेको एम्बुलेन्स चालकको गुनासो छ ।

एम्बुलेन्स चालकले माग गरेका १० बुँदामा ३ बुँदा पुरा गर्ने स्थानीय प्रशासनले प्रतिबद्धता जनाएको छ । प्रशासनले हरेक १५÷१५ दिनमा एम्बुलेन्स चालकको पिसिआर परीक्षण गर्ने, भेडेटारमा हुने चेकजाँच बिरामी बोकेर धरानतिर गएको एम्बुलेन्समा नगर्ने, सम्बन्धित कम्पनीलाई एम्बुलेन्स चालकको बिमा गर्न लगाउने विषय पूरा गर्ने जनाएको हो । 

प्रकाशित: १० भाद्र २०७७ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App