रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ओपिडी र वार्डहरू सिल गरिएको छ। आइतबार २७ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।
उनलाई त्यही रहेको आइसोलेसनमा राखिएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनी एक महिनादेखि उक्त अस्पतालमा नै कार्यरत थिइन्। गएको साउन २५ गतेदेखि भदौ ६ गतेसम्म अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई सेल्फ क्वारेन्टिनमा बस्न अस्पतालले आग्रह गरेको छ।
अस्पतालमा कार्यरत कर्मचारीहरूको प्रोटोकल अनुसार स्वाब संकलन गरी कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले अस्पतालले अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ। हालसम्म जिल्लामा १५ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन्। कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ।
जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ। अब १ सय ६४ वटाको नतिजा आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।
प्रकाशित: ८ भाद्र २०७७ ०५:१९ सोमबार