कास्कीमा निषेधाज्ञाको नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ। कास्कीमा हाल लगाइएको निषेधाज्ञा खुकुलो बनाउने मोडालिटीको खोजी सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ ३ गते मध्यरात १२ बजेदेखि कास्कीमा लगाएको निषेधाज्ञा आईतबार मध्यरात १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा लम्ब्याउने कि यसको मोडालिटी परिवर्तन गर्नेबारे छलफल भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
लकडाउन वा निषेधाज्ञा अन्तिम विकल्प नभएकाले अन्य विकल्पहरुबारे छलफल भइरहेको प्रजिअ ढकालले बताए । ‘निषेधाज्ञा सँधैभरी लागु गरेर त हुँदैन’, उनले भने, ‘त्यसो भनेर पूरै खोल्न सक्ने स्थितिपनि छैन किनभने संक्रमण फैलिएर उग्र रुप लियो भने कन्ट्याक्ट ट्रेसिङसमेत गर्न सकिदैन । त्यस्तो स्थिति नआओस् भन्ने नै हो हाम्रो चाहना । त्यसैले हामी उपयुक्त विकल्पको खोजीमा छौं ।’
विकल्पको खोजी गर्ने क्रममा केहि खुकुलो बनाएर निषेधाज्ञा लम्ब्याउनु पर्छ कि भन्ने सुझाव बलियो रुपमा आएको प्रजिअ ढकालले बताए । छलफलमै छौं हामी, उनले भने,।।।अहिलेको निषेधाज्ञा प्रभावकारी भएको छ, निषेधाज्ञा प्रभावकारी भएकैले संक्रमण फैलिन पाएको छैन, त्यसैले निषेधाज्ञा लम्ब्याउनुपर्छ भन्नेमा धेरैको जोड छ । तर केहि खुकुलो बनाएर लम्ब्याउँदा उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ ।’ सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थाहरु खोलेर निषेधाज्ञा लम्ब्याउने मोडालिटीबारे छलफल चलिरहेको उनले बताए । उनले विज्ञ तथा स्थानिय तहसँगको छलफलबाट निर्णय हुने स्पष्ट पारे ।
निषेधाज्ञा लगाउन सिफारिस गर्ने पोखरा महानगरपालिकापनि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नुपर्ने पक्षमा उभिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आईतबार विहान कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको जिल्लास्थित कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी)ले निषेधाज्ञाको नया मोडालिटीबारे निर्णय गर्ने बताए ।
महानगरपालिका निषेधाज्ञा वा लकडाउन मात्रै समाधान होइन भन्ने पक्षमा छ’, उनले भने, ‘निषेधाज्ञाको विकल्पबारे छलफल गरिरहेका छौं, निषेधाज्ञा लम्ब्याएपनि फरक ढंगले लम्ब्याउनु प¥यो । त्यसका लागि केहि खुकुलो बनाउनुपर्छ कि भन्नेबारेमा छलफल भइरहेको छ ।’ उनले विज्ञहरुको राय नै अन्तिम निर्णय हुने बताए ।
प्रकाशित: ६ भाद्र २०७७ ०८:२३ शनिबार





