coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुरुषको जनैपूर्णिमा, नारीको गौरा

हाम्रो पूर्वीय वैदिक सभ्यताले समाजलाई सभ्य र सुसंस्कृत बनाई एकता सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न चाडपर्व, संस्कार–संस्कृति र परम्परा स्थापना गरेको छ। त्यस्ता थुप्रै चाडपर्वमध्ये काली–कर्णाली क्षेत्रको एकता, सहिष्णुता र सद्भावको पर्व हो, गौरापर्व। गौरापर्व कर्णाली अञ्चलदेखि महाकालीसम्म धुमधामसँग मनाइन्छ।  

गौरा र पर्व एक यौगिक शब्दका रूपमा रहेको पाइन्छ। ‘गौरा’ शब्दले जगतजननी शक्तिस्वरूपा गौरी देवीलाई र ‘पर्व’ शब्दले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने समय वा उत्सवलाई जनाउँछ। अतः गौरा देवीको पूजा–अर्चना गरी मनाइने पर्वलाई गौरापर्व भनिन्छ।  

हिमालय पुत्री पार्वतीको दोस्रो नाम गौरी हो। गौरी, पार्वती र उमा तीन नामले परिचित छिन्, जगतजननी पार्वती। सत्व, रज र तम तीन गुणले युक्त तिनै पार्वतीका सृष्टि, पालन र संहार तीनवटा कर्म रहेका छन्। रक्त, गौर र श्याम वर्णले विराजित आध्यशक्ति जगतजननी भगवती पार्वतीको गौर (गोरो) वर्ण भएका कारण यिनलाई गौरी भन्ने गरिएको विभिन्न कथा र पुराणमा पाइन्छ। गौरीको नामबाट स्थापित भएको पर्व हुनाले यो पर्वलाई गौरापर्व भनिएको हो। स्थान अनुसार कतै गौरा, कतै गोःरा, कतै गमरा र कतै लोलीगौरा भन्ने प्रचलन छ।  

गौरापर्व मुख्य गरेर पाँच दिनसम्म विधि–विधानका साथ मनाइन्छ। गौरापर्वको तिथिक्रम चतुर्थी, विरुडापञ्चमी, सूर्यषष्ठी, अमुक्ताभरणसप्तमी र दूर्वाष्टमी रहन्छ।

नारी पर्व

गौरापर्व हिन्दू नारीद्वारा आफ्नो सु–सौभाग्य, दीर्घायु, सुख, शान्ति र शुद्धताका लागि गरिने संस्कारजन्य अनुष्ठान हो। यो पर्व आफ्नै ज्ञान, गरिमा, आध्यात्मिकताले भरिपूर्ण र आफैँमा शान्ति, सद्भाव, भ्रातृत्व र सह–अस्तित्वको प्रतीकका रूपमा रहेको छ।  

पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा मालाजसरी घाँटीमा धारण गर्छन्।  

हिमालय पुत्री पार्वतीले शिवलाई पति पाउनका लागि व्रत बसी शिवको आराधना गरेको र सोही व्रतका प्रभावले शिवलाई पतिका रूपमा वरण गर्न पाएकाले सोही समयदेखि यो पर्वको आरम्भ भएको हिमवत् खण्ड र अन्य पुराणमा उल्लेख छ। हिमालयपुत्री पार्वतीपछि गौरा व्रत र अनुष्ठानको थालनी भृगुवंशी ब्राह्मणीहरूले गरेको कुरा कथाहरुमा पाइन्छ। भृगुवंशी ब्राह्मणीले गौरी र महेश्वरको पूजा–आराधना गरी शक्ति प्राप्त गरेर आफूलाई आइपरेको संकट निवारण गर्न सफल भएकाले त्यही समयदेखि यो पर्वले निरन्तरता पाएको जनविश्वास छ। त्यस्तै, आफ्नो मनोकांक्षा पूर्ण भई शिवलाई पतिका रूपमा वरण गर्न पाएकाले सोही समयदेखि त्यही तिथिमा यो पर्वको आरम्भ भएको भन्ने पनि भनाइ छ।

हिन्दू जातीय परम्परामा महिलाद्वारा आफ्नो सौभाग्य, समृद्धि र आफ्ना पति तथा पुत्रपुत्रीको दीर्घायु सुख, शान्तिका लागि शुद्ध–पवित्र भई व्रत, पूजा र अनुष्ठान गर्ने गरिन्छ। मुख्य गरी विवाहित महिलाले मात्रै यो व्रत प्रारम्भ गर्न सक्ने परम्परा छ।

अनुष्ठान विधि

मूल रूपमा गौरापर्व गौरी महेश्वरको उपासना हो। गौरा पूजनमा प्रमुख नैवेद्यका रूपमा विरुडाको अग्रस्थान रहेको छ। संस्कृतको विरुढ शब्दबाट विरुडा भएको हो। पाँच किसिमका अन्नको सामूहिक स्वरूपलाई विरुडा भनिन्छ। यो पर्वको थालनी नै विरुडाको प्रारम्भिक कार्यबाट हुने गर्छ। गौराको पर्व विधान चतुर्थीबाट सुरु भई दुर्वाष्टमीसम्म रहन्छ।

गौरापर्व चतुर्थीबाट आरम्भ हुन्छ। यस दिन पाँच किसिमका गेडागुडी (मास, गुराँस, गहत, कलाँ र गहुँ) आदिलाई मिसाएर तयार पारिएका विरुडालाई नारीले शुद्ध पवित्र भई केलाउने गर्छन्। यी पाँच किसिमका अन्नलाई शिव पञ्चाक्षरी मन्त्रको प्रतीकका रूपमा पनि लिने गरिन्छ। मंगलगानका साथ केलाएर तयार पारिएको विरुडा गौरा जगतजननी जगदम्बामा चढाउन बनाइएको विशेष नैवेद्यको रूपमा मानिन्छ, यसलाई प्रसादको रूपमा श्रद्धापूर्वक ग्रहण गर्ने परम्परा छ।  

पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।

महिलाले केलाएका विरुडालाई पञ्चमीको दिनमा भिजाउने भएकाले पञ्चमीलाई विरुडा पञ्चमीको नामले सम्बोधन गरिएको हो। यस दिन महिलाले शुद्ध पवित्र भई पञ्चमीको व्रत उपासना गरी सप्तऋषिको पूजा आराधना गर्छन्। शुद्ध पवित्र लुगा लगाई शृंगारले सजिई मंगल गीतहरू गाउँदै महिलाले तामा र पितलका भाँडामा शुद्ध जल राखी विरुडा भिजाउने गर्छन्। विरुडा भिजाउँदा महिलाले गौराका फाग (मंगलगीत) गाउने प्रचलन छ।

षष्ठीको दिन नयाँ लुगा लगाएर सजिसजाउ भएका महिलाले मंगलगीत गाउँदै बाजागाजासहित आ–आफ्नो घरमा भिजाएका विरुडाका भाँडा लिएर जलाशययुक्त ठाउँमा गई धुने गर्छन्। विरुडा धोइसकेपछि आ–आफ्ना विरुडा लिई महिला घर फर्कन्छन्। धोएर ल्याएका विरुडा गौरा घरमा राख्ने चलन छ।  

अमुक्ताभरण सप्तमी गौरापर्वको प्रमुख दिन मानिन्छ। यस दिनमा व्रत धारण गरिसकेकी विवाहित महिला व्रत बस्छिन्। व्रत बसेका महिलाले धान, साउँ, बलु, अपमार्ग र ऐंसेलुजस्ता पञ्च वनस्पतिबाट गौरीमाताको प्रतिमूर्ति बनाई वस्त्रालंकार आदि पहिराई गौरा घरमा ल्याएर डालोमा स्थापना गर्छन्। त्यसका साथै काठको पिर्कालाई महेश्वरको प्रतीक मानी कपडा पहिराई गौरी माताकै समीपमा स्थापना गरिन्छ। त्यसै ठाउँमा यज्ञ स्थापना गरी ब्राह्मणद्वारा प्राण–प्रतिष्ठा गराई विधिपूर्वक देवपूजन गरी गौरीमाता र महेश्वरको पूजा आराधना गर्ने गरिन्छ। यस दिनको विशेष नैवेद्य विरुडालाई मानिन्छ।  

दूर्वाष्टमी गौरापर्वको अत्यन्त व्यस्त दिन हो। यसै दिनमा व्रतालुले दुबोको पूजा गर्छन्। त्यही बेला गौराको दोस्रो प्रतिमूर्ति  भित्र्याइन्छ । जसलाई सञ्जागौरा भनिन्छ। लोलीगौरालाई पार्वतीको प्रतीक र सञ्जागौरालाई सतीदेवीको प्रतीक मानी पूजा गरिन्छ। यसै दिन महिलाले अघिल्लो वर्ष धारण गरेको दुवाधागो निकालिन्छ र गोश्वर (गाईको गोबर बनाइएको) द्वारा तयार पारिएको गौरीकुण्डमा विसर्जन गरिन्छ। गौरीकुण्डको पवित्र जलले अभिषेक गरेको नयाँ दुवाधागोलाई धारण गरिन्छ। दुवाधागो ग्रहण गरी पूजा–अनुष्ठान गरिसकेपछि गौरी महेश्वरको तीन वा पाँचपटक प्रदक्षिणा गरी सूर्यलाई अघ्र्य दिइन्छ। सूर्य अघ्र्यपछि गरगहना र नयाँ लुगामा सजिएका महिलाले गौरा र महेश्वरलाई आ–आफ्नो टाउकामा राखी अन्य महिलाद्वारा गाइएका अठवाली (फाग) अनुसार हाउभाउ गरी कम्मर मर्काइमर्काई नाच्छन्। यसलाई गौरा नचाउने भनिन्छ। गौरा नचाउने कार्य महिलाले पालोपालो गर्छन्। महिलाले अठवाली गाउने भएकाले अष्टमीलाई अठवाली भन्ने प्रचलन पनि छ।

अठवाली गौरापर्वमा महिलाले गाउने मंगलगीत हो। यसमा गौरी र महेश्वरको स्तुतिगान गरिएको हुन्छ। संस्कृत भाषाको ‘अष्टावली’ शब्दको अपभ्रंश रूप नै अठवाली हो। गौरा महेश्वरको स्तुतिगान गरिएका आठवटा स्तुतिपद्य हुने भएकाले यसलाई अष्ठावली अर्थात् अठवाली भनिएको बुझिन्छ। विभिन्न विद्वान्ले दूर्वाष्टमीको दिन गाइने भएकाले अठवाली भनिएको मत अघि सारेका छन्। जेहोस् गौरापर्वमा अठवाली गीतको विशेष महत्व छ। श्रुति परम्परामा हुर्किंदै आएका यी स्तुत्यगान महिलाले लयात्मक रूपमा गाउने गर्र्छन्।

कहाँ उब्जी गया महेश्वर गुँसाई

कहाँ उब्जी लोली गमरा

शिखर धुरा सुनका सिंहासन

महेश्वर उब्याउन धान

खेत सौ खेत लोली रे उब्जी

गंगाधर नौलीपार लोली रे उब्जी

कहाँ रे उब्जी गया चन्द्रमा सुरज

अन्तर उब्जी गया चन्द्रमा सुरज

हाय हाय सदा शिव देव दुवार

हाय हाय सदा शिव बमुनेला द्वार।

अठवाली गायनसँगै गौराको प्रतिमूर्ति र महेश्वरको प्रतीकका रूपमा सजाइएको पिर्का टाउकामा राखेर नाच्ने गर्छन्। दूर्वाष्टमीको दिनमा दुबोको पूजा भइसकेपछि गौराको अनुष्ठान पूर्ण भएको मानिन्छ। गौराको अनुष्ठान पूरा भइसकेपछि विरुडालाई प्रसादका रूपमा ग्रहण गरिन्छ।  

गौरा पूजामा गौरा महेश्वरलाई चढाएका फलफूल तथा विरुडा एउटा कपडामा राखेर चारजनाले चारतिरको छेउ समाएर मानिसको भीडमा आकाशतिर उछिट्याइन्छ, जसलाई फल फट्काउने भनिन्छ। आकाशतिर उछिट्याइएका फलफूल तथा विरुडा जसको आँचल वा हातमा पर्छ, ऊमाथि गौरा र मण्हेश्वरको ठूलो आशीर्वाद रहेको मानिन्छ। त्यसैले उपस्थित महिला–पुरुष आफूले थापेको आँचल वा हातमा फलफूल र विरुडा पार्न तँछाडमछाड गर्छन्। जसले फलफूल र विरुडा प्राप्त गर्छ, उसले वर्षभरि सुख शान्ति प्राप्त गर्ने, रोगव्याधिको कष्ट व्यहोर्न नपर्ने र दैवी विपत्तिको सामना गर्नुनपर्ने लोक विश्वास छ। त्यसैले यो कार्यलाई भाग्यको परीक्षा मानिन्छ।

गौरा विर्सजन

गौराको अनुष्ठान पूरा भइसकेपछि आ–आफ्नो कुलाचार अनुसार विसर्जन गर्न तिथि–मितिको तय गरिन्छ। प्रायः तीन वा पाँच दिनमा गौराको विसर्जन मिति तय हुन्छ। विसर्जन नभएसम्म महिला–पुरुषले डेउडा, चैत धमारी, ढुस्को र भोलाउलो लगायत खेल खेल्ने गर्छन्। विसर्जनको दिनमा गौरालाई सजधजका साथ शृंगार गरी खुवाइ–चुठाई गौराघरबाट बाहिर ल्याइन्छ। महिला र पुरुषको सामूहिक सहभागितामा गौरालाई सबै परिवारका घरघरमा बिदाइ भेट गर्न लगिन्छ। पुरुषले बाजा बजाउँदै र महिलाले गौरा महेश्वरका फाग गाउँदै प्रत्येक घरबाट बिदाइ गरी जलाशययुक्त ठाउँ, दुबोको चौर वा पिपलको वृक्ष भएको ठाउँमा लगेर गौरा विसर्जन गरिन्छ।  

चन्द्रमास र सौरमासका आधारमा मनाइने हाम्रा चाडपर्व निश्चित पक्ष र तिथिमा पर्छन्। तर, गौरापर्व यसको अपवादका रूपमा छ। अगस्तिको उदय भइसकेपछि गौरा पूजन र विसर्जन दुवै कार्य गर्दा त्यसको फल प्राप्त नहुने कुरा पुराणमा उल्लेख छ। त्यसैले पञ्चांग निर्माणकर्ताले अगस्ति उदयलाई हेरेर गौरापर्वको तिथिमिति तय गर्नुपर्ने भएकाले यो पर्व कुनै वर्ष शुक्ल पक्षमा र कुनै वर्ष कृष्ण पक्षमा पर्ने गर्छ। शुक्ल पक्षमा परेको गौरापर्वलाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने गरिएको छ। पहिलोपटक व्रत धारण गर्ने विवाहित महिलाका लागि उजेली गौरा शुभ मानिन्छ।  

गौरा र डेउडा

धार्मिक अनुष्ठान पूरा गरिसकेपछि महिला–पुरुषले हातमा हात समाएर खुट्टाको डेढ पैतालाको चालमा गोलो घेरामा डेउडा खेल्ने गर्र्छन्। गौरापर्वको प्रमुख आकर्षण नै डेउडा खेल हुन गएको छ। डेउडा खेल्नकै लागि टाढा–टाढाबाट सबै उमेरका महिला–पुरुष गौरास्थलमा आउने गर्छन्।  

डेउडा खेल्दा कुनै कुराको पनि भेदभाव हँुदैन। सबै समान हुन्छन्। गौरापर्वमा खेलिने डेउडा खेलले अनेकतामा एकताको सन्देश दिँदै आएको छ। डेउडा गीतमा संस्कार, संस्कृति, परम्परा, मायाप्रीति, राजनीति, सामाजिक परिवेशका कुरा व्यक्त गरिएको पाइन्छ। डेउडा काली–कर्णालीको अत्यन्त लोकप्रिय खेल हो। न्याउला गीत गाउँदा र न्याउल्या खेल खेल्दा डेढीको प्रमुखता रहने भएकाले यस खेलले डेउडा खेल भनेर ख्याति कमाएको छ। डेउडा काली–कर्णालीको जनजीवनको पेवा मानिन्छ। जुनसुकै चाडपर्व र मेला महोत्सवमा डेउडा नखेलेर कसैको मन पनि दरिलो र भरिलो हुनै सक्दैन। त्यसैले गौरापर्वमा पनि डेउडाको महŒवपूर्ण स्थान छ।  

सिउती सेरो रोपी ल्यायो सर्बु¥या बियाँले,  

लाग सबै डेउडा खेलौँ गौराका नियाले।

०००

काठमाडौंमा बस्या पन माया लाग्दो गाउँको

संस्कृति संरक्षण गरौँ आफ्ना आफ्ना ठाउँको।

माथि उल्लिखित गीतमा गौरापर्वको अवसरमा सबै मिलेर डेउडा खेलौँ रमाइलो गरौँ भनेर आह्वान गरिएको छ। त्यसैगरी हामी कामका सिलसिलामा जहाँ गएर बसे पनि आफू जन्मेको गाउँ–ठाउँको माया निरन्तर लागिरहने र संस्कृतिको संरक्षणमा एक जुट भएर लाग्नुपर्ने भनिएको छ।  

२०५५ सालमा काठमाडौंमा प्रशंसा संरक्षण समूहको स्थापना भयो। यो संस्थाको मुख्य उद्देश्य काली–कर्णाली क्षेत्रको प्रकृति, संस्कृति र सामाजिक मूल्य–मान्यता र परिवेशको उजागर, प्रचार–प्रसार, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न क्रियाशील रहने थियो। २०५५ सालमै यस समूहले काठमाडौंमा गौरापर्वको औपचारिक रूपमा आयोजना ग¥यो। त्रि–चन्द्र क्याम्पसको प्रांगणमा आयोजना गरिएको थियो। त्यसपछि क्रमशः प्रत्येक वर्ष प्रशंसाले खुलामञ्चमा गौरापर्व धुमधामका साथ मनाउन सुरु ग¥यो। काठमाडौंमा गौरापर्वको प्रचार–प्रसार र लोकप्रियता बढ्दै गएपछि खुलामञ्चमा मान्छेको भीड थाम्नै नसकिने हुन थाल्यो र २०६२ सालबाट सैनिक मञ्च अगाडि टँुडिखेलमा गौरापर्वको आयोजना गरिन थाल्यो। वर्तमान अवस्थामा प्रशंसा संरक्षण समूहले गौरापर्व सैनिकमञ्च टुँडिखेलमा प्रत्येक वर्ष भव्य रूपमा आयोजना गर्दै आएको छ।  

काठमाडौं टँुडिखेलको गौरापर्वमा काली–कर्णाली क्षेत्रका महिला–पुरुषका अलाबा सबै जातजाति र जनजातिका ५०औँ हजार मान्छेको सहभागिता रहने गरेको छ। सुरुका दिनमा कालिका स्थानमा गौरा पूजनको व्यवस्था गरिए पनि त्रैलोक्यनाथ उप्रेतीको निधनपछि केही असहज परिस्थिति सिर्जना भएकाले प्रशंसा संरक्षण समूहले कोटेश्वर महादेवस्थानमा गौरा पूजन र महिलाका लागि पूजा अनुष्ठानको व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण महादेव स्थानमा हुने पूजा अनुष्ठान र टँुडिखेलमा आयोजना गरिने औपचारिक शुभकामना समारोह यस वर्ष नहुने भएको छ।  

गौराको विस्तार र महत्व

समयको प्रवाहसँग अंकमाल गर्दै आफ्नो स्वरूपलाई अझै फराकिलो बनाउँदै र भौगोलिक रूपमा पखेटा फिजाउँदै गौरापर्व अहिलेको अवस्थासम्म आइपुगेको छ। यो पर्व अहिले कर्णालीदेखि महाकालीसम्म, काठमाडौं, नेपालगन्ज, पोखरा, धरान लगायत नेपालका विभिन्न स्थान, भारतको उत्तराखण्ड तथा काली–कर्णाली क्षेत्रका नागरिकको स्थायी वा अस्थायी रूपमा बसोबास रहेका अमेरिका, जापान, कोरिया, मलेसिया, कतार, दुबई, अस्ट्रेलियाजस्ता राष्ट्रमा पनि मनाउने गरिएको छ।

अहिलेको गौरापर्वमा युवा समुदायको उल्लेख्य सहभागिता छ। गौरापर्वमा खेलिने डेउडा खेलमा पनि आधुनिक परिवेश, जीवनशैली र प्रविधिको प्रयोग भएका गीत गाइएको पाइन्छ। परापूर्वकालदेखि मुख्य गरेर भारतको उत्तराखण्ड र नेपालको काली कर्णाली क्षेत्रको भूगोलमा सीमित गौरापर्व आज विश्वव्यापीकरण हुन पुगेको छ। यो हामी सबैका लागि खुसीको कुरा हो।  

हाम्रो हिन्दू सनातन धर्म र संस्कारले विभिन्न चाडपर्वका माध्यमबाट परिवारलाई सधैँ मेलमिलापको सुमधुर सूत्रमा बाँध्न प्रयत्न गरेको देखिन्छ। गौरापर्व पनि यसको ज्वलन्त उदाहरण हो। गौरापर्वले पति–पत्नी र सन्ततिका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत गरेको छ। नारी शक्तिस्वरूपा जगतजननी हो। नारी सिर्जनाको मुहान हो। मायाकी खानी हो। नारीको सहयोगविना पुरुष पूर्णरूपमा पुरुष हुन सक्दैन। नारी सन्ततिका लागि शिक्षा प्रदान गर्ने पहिलो पाठशाला हो। 

करुणाकी प्रतिमूर्ति कर्मशील नारीले नै आफ्ना सन्ततिलाई कर्मयोगी बनी सत्मार्गतिर लम्किन दिशानिर्देश गर्छिन्। यिनै नारीले गौरापर्वमा आफ्नो पति र पुत्रपुत्रीको सुस्वास्थ्य, दीर्घायु, श्रीवृद्धि, सुख, शान्ति र आफ्नै अटल सौभाग्यका लागि अनुष्ठान गर्ने गर्छिन्। त्यसैले गौरापर्वले भावनात्मक रूपमा पतिपत्नी र परिवारजनमा एकअर्काप्रतिको श्रद्धा, विश्वास र भावनालाई प्रगाढ तुल्याएको छ। गौरापर्व नारीप्रधान पर्व भए पनि पुरुषको पूरा सहभागिता हुन्छ। गौरापर्वले धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भएर समाज र परिवारमा सद्भाव, समर्पण र शिष्टता दर्शाउँदै पारिवारिक सुमधुर सम्बन्ध स्थापित गर्न महत्वपूर्ण माध्यमका रूपमा कार्य गरिरहेको छ।  

गौरापर्व धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भए पनि यस पर्वले समाज र परिवारमा शिष्टता, सभ्यता र संस्कृतिलाई दर्शाउँदै सबै जातजातिको मन आफूतिर आकर्षित गरी साझा पर्वको रूपमा देशभरि झाँगिरहेको छ। यसले देश र समाजमा समानताको सन्देश पनि दिएको छ। देशका प्रधानमन्त्रीदेखि सामान्य नागरिक, समाजका ब्राह्मण परिवारका पण्डितदेखि दलितहरू हातमा हात र स्वरमा स्वर मिलाउँदै एउटै चाल र समान स्वरलहरीमा लामबद्ध भएर डेउडा, चैत, धमारीजस्ता खेल खेल्ने गर्छन्। 

सानो ठूलो र जातजातिको कुनै भेदभाव नगरी सबै एउटै स्तरमा हातेमालो गरेर रमाउन पाउने यो पर्वले समानताको शंखघोष गरेको छ र सु–संस्कृत सम्पदाको नमुनाको रूपमा देखापरेको छ। पति–पत्नीका बीच सुमधुर सम्बन्धको कडीका रूपमा स्थापित गौरा पर्वले एक–अर्कालाई माया गर्ने र एक–अर्काको सम्मान गर्ने परम्पराको विकास गरेको छ। गौरापर्वमा जागिर, पढाइ र व्यवसायको सिलसिलामा घरदेखि बाहिर रहेका सदस्य घर फर्कन्छन्। त्यसैले गौरापर्व पारिवारिक भेटघाटको माध्यम पनि बन्दै आएको छ। पारिवारिक वा सामाजिक संरचनामा कुनै कारणवश आएको विचलनबाट टाढा भएका मन सबै कुरा बिर्सिंदै गौरापर्वमा पुनः एकाकार हुन पुग्छन्।

 यस पर्वले समाज र परिवारमा आध्यात्मिक, सामाजिक र सहकार्यको भावना जागृत गर्नुका साथै संकल्पशक्तिको पनि विकास गरेको छ। त्यसैले सिंगो परिवार र समाजको आध्यात्मिक पाठशाला हुन पुगेको छ, काली–कर्णालीको गौरापर्व। यस पर्वले सबै जातजाति र समुदायका महिला–पुरुषलाई एउटै थलोमा उभ्याएर आपसी सद्भावको विकास, एकअर्काबीच परस्पर सम्बन्ध, संवाद र सत्कर्मका लागि प्रेरणा प्रदान गरेर समाज र परिवारलाई गतिशील रूपमा अगाडि बढ्न प्रेरित गरिरहेको छ।

 नारी संवेदनालाई गीतका माध्यमबाट उजागर गरी नारी अधिकार र नारी शिक्षाको सन्देश पनि यो पर्वले दिने गरेको छ। यस्ता सन्देश महिलाले खेल्ने डेउडा गीतबाट अभिव्यक्त हुने गर्छन्। वर्षा ऋतुको समाप्तिसँगै बाढी–पहिरोको पीडा, खाद्यान्नको संकट र रोगव्याधिको आक्रान्त स्वरूपलाई बिर्साएर गौरापर्वले पुनः समाजमा रमाइलो वातावरणको सिर्जना गर्छ। काली–कर्णालीको धर्म–संस्कृति, संस्कार–सभ्यता र परम्परालाई विश्व समुदायमा समेत परिचयात्मक सन्देश दिन सफल गौरापर्वले समाजमा शान्ति, सद्भाव, भ्रातृत्व र सहअस्तित्व कायम गर्दै अनेकतामा एकताको सन्देश निरन्तर रूपमा दिँदै आएको छ।

प्रकाशित: ६ भाद्र २०७७ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App