१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लिदी पहिरो : नौ अझै बेपत्ता, मृतक ३० पुगे

साताअघिको लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये नौ अझै हराइरहेका छन्।  सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखे पनि बेपत्ताहरु फेला पर्न सकेका छैनन्।  

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका झण्डै ५० जनाको सुरक्षाकर्मी टोली बेपत्ताको खोजीमा जुटिरहेको छ।  खोजीमा स्थानीयले समेत सघाइ रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।  उनका अनुसार स्थानीय सोमरानी दोङ, साइली दोङ, सानुकान्छी दोङ, करेसमाइ दोङ, प्रिया दोङ, वाङची लामा दोङ, प्रकाश दोङ, आयुष दोङ र सुवास दोङ पहिरोमा हराइरहेका हुन्।  

बेपत्ताको खोजी गर्न घटनास्थलमा एक्साकाभेटर लैजाने प्रयास गरे पनि सफल हुन नसकेको डिएसपी काफ्ले बताए।  पाँच दिनअघि लिदी हिँडेको एस्काभेटर घटनास्थल नजिकै पुगेर पहिरोमा रोखिएको छ।  बिहीबार थप पाँचको शव फेला परेपछि लिदी घटनामा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।  चिचीरानी दोङ (४२), उनका छोरा सानुकान्छा (५), छोरी ललिता (१८), हिरा दोङ झाँक्री (४४) र सङल्हामु पाख्रिन (२४) पहिरोमा मृत फेला परेका थिए।  

यसअघि पटक–पटक गरेर २५ को शव भेटिएको थियो।  प्रहरीका अनुसार पहिरोमा ११ बालक, पाँच बालिका, पाँच पुरुष र नौ महिलाले ज्यान गुमाएका छन्।  गत असार ३० गते जुगल गाउँपालिका–२ गोल्चे लिदीमा बस्तीमाथिबाट पहिरो खस्दा ३७ घर पुरेको थियो।  पहिरोमा घरसँगै ३९ बेपत्ता भएका थिए।  बेपत्तामध्येकै ३० मृत फेला परेका हुन्।  पहिरोमा २९ घर नामेट भएका थिए।  ६ स्थानीय गम्भिर घाइते भएका थिए।  उपचारपछि घाइते निको भएर घर फर्किसकेको प्रहरीले जनाएको छ।  

मृतक सबैको अन्त्येष्टि भइसकेको छ।  पहिरो पछि उच्च जोखिममा रहेको एक सय ७२ घरधुरीको सिँगो लिदी गाउँ नै बिस्थापित भएको छ।  बिस्थापितहरु नजिकैको मानेडाँडालगायत स्थानमा टेन्ट, त्रिपालको टहरो बनाएर बसिरहेका छन्।  कतिपय आफ्नै गोठमा आश्रित छन्।  अस्थायी आश्रयस्थलमा पीडितले कठिन साथ गुजारा चलाइ रहेको स्थानीय नेत्र दोङले जानकारी दिए।  

यसै स्थानमा गएको असार २६ गते पहिरो गएको थियो।  त्यतिबेला दुई घरमा क्षति पुगेको थियो।  यो घटनापछि गाउँ जोखिममा परेको ठान्दै स्थानीयले राति घर छोड्दै आएका थिए।  दिनभर घरमै रहने उनीहरु रातिको खाना खाएर सुरक्षित स्थलमा रहेको गोठ र टहरोमा सुत्न जान्थे।  दैनिकी अघि बढाउन बिहान मात्र घर फर्कँन्थे।  फर्केर घर धन्दामा व्यस्त भइरहेका बेला पुरानै ठाउँबाट पहिरो खसेको थियो।   पहिरो खस्दा बालकालिका बिहानीको खाजा खाँदै थिए।  सोही कारण पहिरोमा धेरै बालबालिका परेको स्थानीयको भनाई छ।  पहिरोपछि स्थानीयले गाउँ असुरक्षित रहेको भन्दै बस्तीको भौगर्भिक अध्ययन र स्थानान्तरणसम्मको माग राखेर साउन २३ गते जिल्ला विपद व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए।  वर्षअघि पनि स्थानीयले बस्ती जोखिममा रहेको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए।  समयकै जानकारी दिँदा पनि सरकारले नसुन्दा पहिरोमा ठूलो मानवीय क्षति बेहोर्नु परेको स्थानीय बताउँछन्।  

 

प्रकाशित: ५ भाद्र २०७७ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App