२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वन्यजन्तु उद्दार गर्न ‘रेस्क्यू’ एम्बुलेन्स

घाइते तथा अलपत्र परेका वन्यजन्तुलाई अब सहजै उद्दार गरिने भएको छ । लामो समयदेखि माग गरिदैं आएको ‘जनावर उद्दार एम्बुलेन्स’को उपलब्ध भएपछि गण्डकी प्रदेशभित्र वन्यजन्तुको उद्दार गर्न सहज हुने विज्ञहरूको भनाइ छ । घाइते जनावरलाई पशु अस्पताल (भेटेनरी) तथा अलपत्र परेको जनावरलाई ‘जुलोजिकल पार्क’को वन्यजन्तु उद्दार केन्द्रसम्म ल्याउन सकिने भएको छ । उद्दार एम्बुलेन्स पोखरा महानगरपालिका लेखनाथ पचभैयास्थित वन्यजन्तु उद्दार केन्द्रलाई जिल्ला वन कार्यालय कास्कीले उपलब्ध गराएको हो ।  

यो एम्बुलेन्स गण्डकी प्रदेशकै पहिलो हो । वन्यजन्तु उद्दारको लागि चितवनस्थित ‘चितवन राष्ट्रिय निकुज्ज’बाट ल्याइन्थ्यो । ‘जनावर उद्दार गर्न एम्बुलेन्स नहुँदा चितवनबाट ल्याएर जनावरलाई केन्द्रसम्म ल्याउनुपर्ने स्थिती थियो । तर अहिले केन्द्रसँगै उद्दार एम्बलुेन्स भएपछि अब सहज हुने छ,’ उद्दार केन्द्रका संयोजक हिमालय बख्रेलले भने, ‘माग गरेको लामो समयपछि जिल्ला वन कार्यालयले उक्त एम्बुलेन्स उपलब्ध गरायो ।’ उनकाअनुसार घाइते र अलपत्र परेका जनावरलाई पशु अस्पताल लैजान र अलपत्र परेको जनावरलाई उद्दार केन्द्रसम्म ल्याउन सहज हुने भएको छ ।  

चार वर्षअघि पोखराको अमरसिंह चोकस्थित युनाइटेड क्लबको परियोजना अन्तर्गत पोखरा ३०, ३१ र ३२ नम्बर वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वनलाई जुलोजिकल पार्क बनाइएको हो । पार्क अन्तर्गत वन्यजन्तु उद्दार केन्द्र रहेको छ । १३५ हेक्टर क्षेत्रफलको सामुदायिक वन छ । वनलाई जुलोजिकल पार्कको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । गण्डकी प्रदेश सरकारको पहलमा जिल्ला वन कार्यालयले नै इन्क्लोजरसहितका पूर्वाधार निर्माण गरिएको हो । ‘चितुवा राख्ने इन्क्लोजर बनाइएको छ ।’ संयोजक बख्रेलले भने, ‘अब चितुवा राख्ने योजना छ ।’ वन्य जन्तु उद्दार केन्द्रको रूपमा निर्माण गरिएको अवस्थामा सरकारले डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

जुलोजिकल पार्कमा दोश्रो चरणमा मयुरको इनक्लोजर, घाइते बन्यजन्तुको उपचार कक्ष, बिरामी तथा घाइते जनवार बोक्ने स्वचालित स्ट्रेचर, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर, उद्धार कक्षको प्रवेशद्वार निर्माण गरिएको थियो । क्लबले मात्रै ५५ लाख रूपैयाँ लगानी गरिसकेको क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए । क्लबको सक्रियतामा वन्यजन्तु उद्दार केन्द्रमा निलगाई, रतुवा, मृग, अजिङगर, स्याल, चरीबाघ, लाटेकोसेरो, हुचिल, चील, मयुरलगायतका वन्यजन्तु रहेको अध्यक्ष गुरुङले जनाए । उद्दार केन्द्र पछिल्लो समय जिल्ला वन कार्यालय कास्कीले रेखदेख गर्दै आएको छ ।

पार्क तथा उद्दार केन्द्रमा गत चैतदेखि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । गण्डकी प्रदेश सरकारको यो महत्वपूर्ण योजनाको रूपमा रहेको छ । पार्कले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विकास गर्ने प्रदेश सरकारको योजना छ । पार्क रूपातालसँगै जोडिएको छ । पार्कभित्र सर्वसाधारणका लागि ‘फुट ट्रयाक’ समेत निर्माण गर्ने योजना रहेको बताइएको छ । पार्क निर्माणपछि सर्वसाधारणको लागि खुला गरिए पोखरा आउने पर्यटकको बसाइँ पार्कले एक दिन लम्ब्याउने विश्वास स्थानीय पर्यटन व्यवसायीको छ ।

प्रकाशित: ३ भाद्र २०७७ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App