२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य

पद्मासनको शिवमूर्ति स्थापित गर्न लकडाउनले लम्बियो

पुम्दीभुम्दीको पुम्दीकोटमा ५१ फिटको पद्मासन शैलीको शिवमूर्ति स्थापना गर्न बनाइएको पूर्वाधार । तस्बिर: नागरिक

फेवाताल पारी अनदु डाडाँमा विश्वशान्ति स्तुप बजारबाटै देखिन्छ। विश्वशान्ति स्तुप भन्दा पर अझ उचाईमा पुम्दीकोटमा विशाल शिवमूर्ति देखिने छ। शिवमूर्ति राख्ने अन्तिम तयारी गरिएको छ। मूर्ति ल्याउन बाँकी छ। भारतको मथुरामा मूर्ति तयार छ।  

विश्वव्यापी महामारी कोरोनाले चैत ११ गतेदेखि चार महिना लकडाउन लगाईयो। लकडाउनकै कारण शिवमूर्ति पोखरासम्म आउन अझै समय लाग्ने देखिएको छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने छ।  

पुम्दीभुम्दीको १३ सय मिटरको उचाईको पुम्दीकोटमा भ्यु टावर छ। भ्यु टावरसँगैको जग्गामा शिवमूर्ति राख्ने आवश्यक भौतिक पूर्वाधार तयार गरिएको छ। मूर्ति राख्नको लागि पूर्वाधारसहितको स्ट्याण्ड तयारी भईसकेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए। ‘कोरोनाले शिवमूर्ति ल्याउन सकिएको छैन। मूर्ति राख्न आवश्यक सबै पूर्वाधार तयार भईसकेको छ’ उनले भने–‘महामारीको अन्त्य भएपछि मथुराबाट मूर्ति पोखरा आउँछ।’  

पुम्दीकोटमा शिवमूर्ति स्थापना गर्ने परिकल्पना उनै बरालले गरेका हुन्। तीन वर्ष अघि परिकल्पनालाई साकार पार्न महायज्ञ लगाईयो। महायज्ञबाट ६ करोड रुपैयाँ दानरकम जम्मा गरियो। जग्गा समेत दानमा प्राप्त भएको थियो। दानरकमबाट आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाईयो। ‘महायज्ञबाटै जुटाइएको दानरकमबाट काम शुरु गरियो’ परिकल्पनाकार बरालले भने–‘१३ करोड रुपैयाँ खर्च भईसक्यो।’ उनका अनुसार पुम्दीकोट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु गरिएको योजना साकार पार्न ४० करोड खर्च हुने अनुमान गरिएको छ।

योजनाको लागि पर्यटन मन्त्रालयबाट २ करोड ८० लाख रुपैयाँ सहयोग प्राप्त भएको बरालले जानकारी दिए। पोखरा महानगरपािलकाले १ करोड ५० लाख सहयोग उपलब्ध गराएको थियो। गण्डकी प्रदेश सरकारले ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो। सहकारी संस्थाबाट समेत ऋण लिएर कामलाई फत्ते गर्ने योजना समितिले लिएको छ। ‘मूर्ति तयार भएपनि ल्याउन समय लाग्ने छ।’ उनको भनाई थियो। मूर्ति १०८ फिट अग्लो राख्ने योजना थियो। तर नागरिक उड्डयन प्राधिकरणले स्वीकृति नदिएपछि घटाएर ५१ फिटमा झारिएको छ। पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलले एयर रुट पर्ने सम्भावना देखाउँदै उचाई घटाउन निर्देश गरेको थियो।

‘नागरिक उड्डयन प्राधिकरणको सुझावलाई मध्यनजर गर्दै १०८ फिटबाट घटाई ५१ फिटमा झारिएको हो’ उनले भने–‘उभ्भिएको मूर्ति राख्ने योजना थियो। अहिले बसेको(पद्मासनको) मूर्ति राखिने छ।’ मूर्ति फाईबर ग्लासको हुने छ। मूर्तिको लागत दुई करोड १६ लाख रुपैयाँमा कबोल गरिएको थियो। तर अहिले लागत बढ्न सक्ने उनको भनाई थियो। पुम्दीकोटमा शिवमूर्तिसँगै १०८ वटा शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिढीं, महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेल समेत राख्ने योजना छ। कुमार तथा पार्वतीको मूर्ति समेत राखिने छ। सुमेरु पर्वत समेत रहने छ। ५ फिट उचाईको शिवलिङ्ग तथा बसाहा समेत राखिने समितिका अध्यक्ष बरालले बताए। १८ वटा सटर निर्माण गरिएको छ। गुरु महाराज आश्रम समेत बनाइएको छ। आश्रम सुविधायुक्त छ। सबै काम सम्पन्न भईसकेको छ।  

शिवमूर्ति स्थापनापनि पुम्दीभुम्दी बौद्ध र धार्मिक पर्यटनको गन्तव्य बन्ने विश्वास स्थानीय युवा तथा महायज्ञ मुल समितिका महासचिव समेत रहेका प्रकाश बरालले बताए। ‘पुम्दीकोट आफैंमा ऐतिहासिक स्थल हो। त्यसलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियानसँगै विशाल शिवमूर्ति राख्ने योजनालाई साकार बनाउँदै छौं।’ बौद्ध धर्म अनुयायीहरु विश्वशान्ति स्तुप उक्लिने छन्। हिन्दुधर्ममा आस्था राख्ने सर्वसाधारण पुम्दीकोटमा पाईला टेक्ने छन्। शान्तिस्तुप र पुम्दीकोट पैदलयात्रा केवल बढीमा एक घण्टाको दूरीमा छ।

प्रकाशित: २ भाद्र २०७७ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App