१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमणले पोखरामा थप एकको मृत्यु

एकैदिन दुईजनाको ज्यान गयो

कोरोना संंक्रमणले पोखरामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दै । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाईरस संक्रमणले पोखरामा मंगलबार थप एकजनाको ज्यान भएको छ। पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत रहेकै बेला बिहान पौने ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन्।

आचार्यका अनुसार साउन ३२ गते उच्च ज्वरो तथा स्वास प्रश्वासमा समस्या भई अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका ती पुरुषमा कोरोनासँगै उच्च रक्तचाप,  मधुमेह र मिर्गाैलाका दीर्घरोगी थिए। उनलाई सोमबारदेखि अस्पतालको आईसीयुमा राखेर उपचार भईरहेको थियो।  

यसअघि मंगलबार बिहान पनि तनहुँकी एक महिलाको पोखरामै कोरोनाका कारण ज्यान गएको थियो। तनहुँको व्यास नगरपालिका– १ की ५० वर्षीया महिलाको कोरोना संक्रमण कारण मृत्यु भएको अस्पतालले बताएको छ। पोखराको कास्की सेवा अस्पतालमा मंगलबार राति उनको निधन भएको अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिए। उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट भने मंगलबार बिहान मात्रै आएको हो।

खड्काका अनुसार साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना भएकी उनमा सुगर, प्रेसर, मुटुरोग र निमोनियाको समस्या थियो। स्वास्थ्यमा समस्या देखिएपछि आइसीयूमा राखेर उनको उपचार भईरहेको थियो। यो समेत पोखरामा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्यामा पाँच पुगेको छ। पश्चिमाञ्चल अस्पतालमा मात्र चारजनाले ज्यान गुमाएका छन्। गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ।

प्रकाशित: २ भाद्र २०७७ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App