४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपीमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ। धरानका ६७ वर्षीय एक संक्रमित पुरुषलाई प्रतिष्ठानमा प्लाज्मा थेरापी उपचार गरिएको हो। निमोनिया भएर उपचार गर्न अस्पताल गएका उनलाई साउन २९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनको अवस्था गम्भीर हुँदै गएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो। उनको लागि नेपाल रेडक्रस सोसाइटी सुनसरीको पहलमा कोभिड निको भएको बि पोजेटिभ रगत समूहका व्यक्तिहरुको खोजी गरिएको थियो। सामाजिक सञ्जालमार्फत आह्वान गर्दा मोरङको सुन्दर हरैचा १ का २५ वर्षीय युवा सम्पर्कमा आएर रक्तदान गरेका थिए।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्माले सोमबार राती नै संक्रमित विरामीलाई प्लाज्मा थेपारी दिइएको बताए। प्लाज्मा संक्रमित विरामीको लागि औषधी नै भएको उनको भनाई छ। ‘प्लाज्मा थेरापी औषधी नै हो, त्यही प्लाज्मामा भाइरस मार्ने एन्टिबडी हुन्छ,’प्लाज्मा थेरापीबारे सरकारद्वारा गठित केन्द्रीयस्तरको समितिका सदस्यसमेत रहेका डा.शर्माले भने,‘कोडिभ निको भएका व्यक्तिहरुलाई रक्तदान गर्न म आह्वान गर्छु। उहाँहरुले रक्तदान गर्नुभयो भने हामी प्लाज्मा छुट्याएर राख्छौं, र आवश्यक पर्दा लगाउँछौं।’

सोमबार राती एनेस्थेसियाका डाक्टर विकास अधिकारी र इन्टरनल मेडिसिनका डाक्टर श्यामबाबु नेतृत्वको टोलीले संक्रमितलाई प्लाज्मा थेपारी गरेका थिए। डा.श्यामबाबुका अनुसार वीपीमा पहिलो पटक भएको हुनाले र्यापिड रेस्पोन्स टिम(आरआरटि)ले वृहत छलफल गरेर निर्णय गरेको थियो। ‘पहिलो पटक भएकोले आरआरटिले छलफल गरेर ठूलो निर्णय लियो, र योजना बनाएर काम गर्यौं, आरआरटी ठूलो निर्णय लिएको हो,’डा.श्यामबाबुले भने,‘विरामीमा अहिले धेरै राम्रो सुधार भइरहेको छ, आउदाको अवस्था र अहिले धेरै राम्रो छ।’

कोभिड संक्रमण भएको व्यक्तिको शरीरमा भाइरस विरुद्धमा लड्न एन्टिवडी बनेको हुन्छ। उक्त एन्टिबडीको काम भाइरसको प्रतिरोध गरेर मार्ने हो। एन्टिबडी बनेर भाइरसलाई मारेपछि विरामी निको भएको हुन्छ। कोभिड निको भइसकेको व्यक्तिको शरीरमा भएको एन्टिबडीलाई नै रोग प्रतिरोध क्षमता कमजोर भएका अर्का संक्रमित विरामीलाई चढाइदिने विधि नै प्लाज्मा थेपारी हो। नेपालमा यसअघि राजधानीमा विराट नर्सिङका डा.ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट उपचार गरिएको थियो। एन्टिबडी भएको व्यक्तिले रक्तदान गरेपछि रगतमा भएको कोषिका, प्लेटलेटलाई छुट्याएर बाँकी रहेको प्लाज्मा संक्रमित व्यक्तिलाई दिइन्छ। यसको लागि दाता र संक्रमित व्यक्तिको रक्तसमूह एउटै हुनुपर्छ भने संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने मापदण्ड छ।

 

प्रकाशित: २ भाद्र २०७७ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App