समुदाय स्तरमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि व्यास नगरपालिकामा र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो। प्रशासनले व्यास नगरपालिकाकामा एक हप्ता र भानु नगरपालिकामा दुई हप्ताको लागि निषेधाज्ञा जारी गरेको हो।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले व्यास नगरपालिकामा भदौ ७ गतेसम्म र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको बताए। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन्।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए। राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल सञ्चालन हुनेछन्। त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
जिल्लाको भानु नगरपालिकामा, व्यास नगरपालिकामा, देवघाट गाउँपालिकामा र बन्दीपुर गाउँपालिकाका समुदाय स्तरका ३२ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ। समुदाय स्तरमा कोरोना पुष्टि हुनेमा भानुमा २४ जना, व्यासमा ५ जना, देवघाटमा २ जना र बन्दीपुरमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ।
प्रकाशित: १ भाद्र २०७७ ०८:३८ सोमबार