१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

समुदायमा कोरोना जोखिम

सुर्नया गाउँपालिका–७ का २८ र २९ वर्षीय दुई पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। १५ दिन क्वारेन्टिनमा बसेर असार पहिलो साता कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई घर पठाइएको थियो। स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरूलाई १५ दिन क्वारेन्टिनमा बसाएर घर पठाउने निर्देशिकाअनुसार उनीहरू डिस्चार्ज भएका हुन्। अहिले फेरि दुवैजना संक्रमित भेटिएका छन्। करिब दुुई महिनापछि उनीहरू पुुनः कोरोना संक्रमति भएका हुन्। गाउँपालिकाले दोस्रो चरणको परीक्षण गर्दा पुनः संक्रमित देखिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।  

समुदायमा घुलमिल भएका उनीहरूमा कोरानो देखिएपछि समुदायसम्म फैलिएको आशंका गरिएको छ। गत हप्ता पाटनकी एक गर्भवती महिला पनि कोरोना संक्रमित भेटिएकी थिइन। उनको सम्पर्कमा रहेका अन्यमा संक्रमण नदेखिए पनि उनको कुनै ट्राभल हिस्ट्री नभएकाले समुदायमा पनि संक्रमण फैलिएको अनुमान स्वास्थ्यकर्मीले गरेका छन्।

पुनः संक्रमण देखिएका नागरिकको सम्पर्कमा रहेकाहरूको पहिचान गरी स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए। जिल्ला स्वास्थ्य कार्यालयले यसअघि संक्रमण पुष्टि भएका परिवारको दोस्रो चरणको कोरोना परीक्षण गरिरहेको छ। समुदायमा कोरानो फैलिएको आशंकामा गाउँपालिकाका संक्रमितका सम्पर्कमा रहेका कम्तीमा दुईजनाको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भइरहेको महराले जानकारी दिए।

पछिल्लो समयमा सरकारले नै होम क्वारेन्टिनमा बस्ने निर्देशिका बनाएको र त्यसको नियम पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। भारतबाट फर्केका नागरिकहरू सिधै घर जान थालेपछि जिल्लामा कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्। होम क्वारेन्टिनमा बस्ने भन्दै अन्यत्रबाट जिल्ला भित्रिएका नागरिकहरू सिधै घर जान थालेकाले कोरोना जोखिम बढ्दै गएको हो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको होम क्वारेन्टिन निर्देशिका अनुसार छुट्टै ट्वाइलेट बाथरुमसहितको कोठा, घरपरिवारका सदस्यहरूसँग घुलमिल नहुने खालको अवस्थामा मात्र होम क्वारेन्टिन प्रभावकारी हुने कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। निर्देशकामा भनेअनुसार घरमा कोठा नभएकाले होम क्वारेन्टिनका नाममा कोरोना संक्रमण बढ्दै गएको हो। विद्यालयमा स्थापना गरिएका क्वारेन्टिनसमेत मापदण्डअनुसार नहुँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन्। सरकारले होम क्वारेन्टिनको अवधारणा ल्याएपछि स्थानीय तहले विद्यालयमा रहेका क्वारेन्टिन बन्द गरिसकेका छन्।  भारतबाट फर्केका नागरिक सिधै घर जान थालेकाले समस्या आउन थालेको बताइएको छ।

प्रकाशित: ३२ श्रावण २०७७ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App