१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीजको मुखैमा सुस्ताउँदो बजार

कोरोना संक्रमणको त्रास

तस्बिरः उमेश पुन/नागरिक

सामान्य अवस्थामा सातामा ६ दिन (शनिबार बाहेक) मात्र खुल्ने चिप्लेढुंगास्थित बुद्ध बिशाल बजार नजिकिएको तीजसँगै शनिबार पनि खुल्ला थियो। केहीदिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाएपनि शनिबार बुद्ध बिशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए। त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा उत्तिसारो चहलपहल देखिदैनथ्यो।

बुद्ध बिशाल बजारको भवनभित्र २४० वटा पसल छन्। अरुबेला शनिबार बन्द हुने यो बजार चाँडबाँडको बेलामा भने सातैदिन खुल्छ। तीज आउनुभन्दा अघिल्लो र तिहार सकिएपछिको शनिबारसम्मको अवधिमा सातैभर यो बजार खुल्छ। नत्र अरुबेला शनिबार बाहेकको दिनमात्र खुल्छ।  

चाँडबाँड नजिकिएको भन्दै व्यवसायीले बजार त खुलाए, तर, शनिबार किनमेलका लागि पुग्ने ग्राहक पाउन भने व्यवसायीले सकेनन्। बुद्ध बिशाल बजार व्यापारिक एशोसिएनका अध्यक्ष केशबबहादुर खत्री भन्छन, ‘तीज आयो भनेर शनिबार पनि बजार खोलियो, तर, ग्राहक पाउन सकिएन।’ तीज आउन एकसाता पनि बाँकी रहँदा बजार चम्किन नसकेको हो।’  

अध्यक्ष खत्रीका अनुसार कोरोना भाईरस संक्रमण बढ्दै जाँदा बजारको चमक पनि हराउन थालेको छ। कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएपछि यहाँको बजार असारको सुरुताका खुल्दा केही चमक देखिन्थ्यो। बजारमा चहलपहल बढ्दै जाँदा सबैखाले ब्यापार पनि उकालो लाग्दै गएको थियो। ब्यापारले ५० प्रतिशत नाघिसक्दा व्यवसायी आशाबादी देखिन्थे। तर, पछिल्लो केहीदिनदेखि संक्रमण उकालो लाग्दो बजार पनि सुस्ताउन थालेको छ। ‘एकसाता अघिसम्म बजारमा निकै नै चहलपहल थियो। ब्यापार पनि दैनिक रुपमा उकालो लाग्दै थियो,’ खत्रीले भने, ‘तर, अहिले त निकै नै सुनसान बनिसकेको छ। संक्रमणको त्रासले ग्राहक बजारसम्म आउन सकेनन्।’

संक्रमण नहुँदो हो त यो बेला तीजका कारण बजारमा खुट्टा राख्नेसम्म ठाउँ नहुने गरेको अनुभव व्यवसायीसँग छ। ‘अरुबेला शनिबार बन्द हुने बजार पनि तीजका कारण यो पटक खुलाइयो। तर, ब्यापार भएन,’ उनले भने, ‘यो बेलादेखि सातैदिन खुल्ने बजार तिहार सकिएको एकसातापछि सम्म निरन्तर हुन्थ्यो। तर, यो पटक भने त्यस्तो अवस्था छैन। अब आउने शनिबार नै बजार बन्द हुने अवस्था छ।’ संक्रमण बढ्दै जाँदा बजारमा एकाएक चहलपहल हराएको उनले बताए। ‘तीजकै कारण ब्यापार अझै उकालो लाग्नेमा हामी आशावादी पनि थियौं। तर, अब त निराश बनाएको छ,’ उनले भने। यो बजारमा खासगरि लत्ताकपडा, जुत्ताचप्पल, खेलौना, कस्मेटिक्सका सामानका थोक र खुद्रा कारोबार हुन्छ।  

पोखरा ट्रेडमल र बुद्ध बिशाल बजारभित्र ब्यापार गरिरहेका सुविन श्रेष्ठ तीज नजिकिएपनि बजार सुनसान रहेको बताउँछन्। ‘लकडाउन खुलेपछि ब्यापार उकासिन थालेको थियो। तर, जब पोखराभित्र केही ठाउँमा संक्रमण देखियो, त्यसपछि बजार एकाएक खस्कियो,’ श्रेष्ठले भने, ‘यो बेला तीजका कारण बजार भरिभराउ हुनुपर्ने हो। तर, अहिले त सुनसान भईसकेको छ।’ पोखराको लामाचौरमा संक्रण देखिएपछि बजारमा एकाएक चहलपहल घट्न थालेको उनले सुनाए। ‘यो बेला तीजको भीड लाग्ने बेला हो। तर यो पटक कोरोनाको मारमा तीज प¥यो,’ उनले भने, ‘हामी व्यवसायी पनि कोरोनाकै अप्ठेरोमा प¥यौं।’ तीजलाई मध्यनजर गरेर ब्यापार खुलाएपनि आर्थिक गतिविधि भने निकै नै कम रहेको उनले बताए।  

तीज आउन केहीदिन मात्र बाँकी रहँदा यो बेला यहाँको मुख्य व्यापारिक क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, न्यूरोडमा भीडभाड हुन्थ्यो। घरायसी सामान र लत्ताकपडा किन्न जाने ग्राहक थपिँदा यो बेला पैदल हिडडुल पनि सहज हुँदैनथ्यो। तर, यो पटक शनिबार भने मुख्य व्यावापारिक क्षेत्र सुनसान देखिन्थ्यो। आधाभन्दा बढी पसल सटर बन्द थिए। चल्तीका पसलमा पनि एकाध बाहेक ग्राहक थिएनन। पसल खुलेपनि ब्यापार नहुँदा व्यवसायी फुर्सदिला देखिन्थे।  

पोखरा उद्योग बाणिज्य संघले केहीवर्ष अघिसम्म चाँडबाँडका बेला बाहेक शनिबार बजार बन्द गर्न व्यवासायीलाई आव्हान गर्दथ्यो। संघको आव्हानसँगै सातामा शनिबार बाहेक अरुदिन यहाँ पसल खुल्थे। तर, शनिबार बजार बन्द गर्दा कर्मचारी र विद्यार्थीले किनमेल गर्न नपाएको गुनासो आएपछि शनिबारको बाध्यकारी बन्द भने हटाइएको थियो। तरपनि अधिकांश पसल शनिबार बन्दै रहन्थे। चाँडबाँडका बेला भने शनिबार पनि ती सबै पसल खुल्थे। कोरोना मारमा परेको यो बेला सबै पसल चाँडबाँडका बेला पनि खुल्न नसकेको संघका महासचिव अर्जुन पोखरेल बताउँछन्।  

‘संघले बाध्यकारी नबनाएपछि अरुबेला शनिबार व्यवसायी आफैले बजार बन्द गर्दथे। तर, चाँडबाडँका बेला भने सबै बजार खुलिसक्थे,’ पोखरेलले भने, ‘अहिले त कोरोनाको त्रासले गर्दा शनिबार मात्र नभई अरुदिन पनि बजार खुल्न सकेको छैन।’ लकडाउन सहज भएसँगै असारको सुरुवातताका बजार खुल्न थालेकोमा लकडाउन पूर्ण रुपमा हट्दा बजारमा चहलपहल बढिसकेकोमा अहिले फेरि सुनसान बन्दै गएको उनले बताए।  

‘तीज आउन अब पाँचदिन मात्र बाँकी छ। यो बेला बजारमा व्यवसायीलाई बोल्न फुर्सद हुँदैनथ्यो, भीड बढेर खुट्टा टेक्ने ठाउँ पाउन सकस हुन्थ्यो,’ पोखरेलले भने, ‘अहिले भने सबैतिर खुलमखुला छ। बजार पनि बन्द छ, ग्राहक पनि छैनन। आधासंख्यामा पसल खुलेका छैनन।’ अरुबेला व्यवसायी आफैले शनिबार बन्द गर्ने व्यापार यो पटक तीजको नजिक पर्दा पनि खुलाउन नसकेको उनले बताए।  

‘लकडाउन खुलेसँगै हल्का कारोबार उकासिदै थियो। एकसाताअघिसम्मको ब्यापार चित्तबुझ्दो थियो,’ उनले भने, ‘तर, अहिले एकाएक खस्कियो। तीज आउन पाँचदिन बाँकी रहँदा बजार सुनसान छ।’ अघिल्ला तीजताका यो बेला तनहुँ, पर्वत, स्याङजादेखि किनमेलका लागि ग्राहक आउने गरेको भएपनि अहिले भने ती जिल्लाका एकजना ग्राहक पनि पोखराको बजारसम्म आउन नसकेको उनले बताए।  

पछिल्लो साता पोखरा सहरमा संक्रमण तिब्र रुपमा बढेको छ। त्यसको असर सिधै बजारमा पर्न गएको उनले बताए। ‘आइतबारदेखि झनै सुनसान हुने अनुमान छ। किनकी संक्रमणले तिब्रता लिँदा बजारसम्म आउने आँट ग्राहकले गरेका छैनन,’ पोखरेलले भने, ‘मान्छेलाई घरबाहिर निस्कनै डर भएपनि बजार सुनसान हुनु स्वभाविक हो।’ जसोतसो बजार आएका ग्राहकसँग पनि क्रयशक्ति कमजोर हुँदा चाहेको सामान किन्न सक्ने अवस्था नभएको उनले बताए। 

प्रकाशित: ३१ श्रावण २०७७ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App