२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रक्षक संक्रमित हुँदा त्रास

एक नम्बर प्रदेशस्थित सशस्त्र र नेपाल प्रहरीमा कोरोना संक्रमण बढेपछि समुदायमा समेत त्रास फैलिएको छ। नागरिककै सुरक्षामा खटिने सुरक्षाकर्मीसँग कुनै न कुनै रूपमा भौतिक हिसाबले सम्पर्क भए कोरोना सर्ने डर सर्वसाधारणलाई छ।  

इलामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ मा केही दिनअघि ४६ जनामा कोरोना संक्रमण पुष्टि भयो। तिनै सुरक्षाकर्मी स्वाबको नमुना दिएर गाउँ र सरकारी कार्यालयमा समेत पुगेको थाहा पाएपछि समुदायमा त्रास फैलियो। ‘सशस्त्रका कतिपय जवान सडक र गाउँतिरै देखिने गरेकाले गाउँमा कोरोना पु¥याए कि भन्ने डर हुँदोरहेछ,’ माइजोगमाई गाउँपालिकाका एकजनाले भने, ‘आफ्नो गणमा कसैलाई संक्रमण भए सुरक्षाकर्मीले आफू जोगिने र अरूलाई पनि जोगाउनुपर्ने हो, लखरलखर गाउँ घुम्ने होइन।’ यति बेला भने ४६ मध्ये २२ जना संक्रमणमुक्त भइसकेको हेडक्वार्टरका एसपी सुधीरजंग थापाले बताए।  

१ नम्बर प्रदेश सशस्त्र प्रहरीमा इलामपछिको प्रभावित जिल्ला झापा हो। झापाका ३७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमध्ये आधाजति डिस्चार्ज भइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीका डिआइजी वंशीराज दाहालले इलाम र झापाबाहेक अन्य जिल्लास्थित सशस्त्र प्रहरीमा संक्रमित धेरै नभएको बताए। ‘इलाम र झापामा खतरापूर्ण तबरले संक्रमण फैलिएको थियो,’ उनले नागरिकसँग भने, ‘तर अब ती दुवै जिल्लाका एकाइमा खतरा छैन। सशस्त्रले सकेसम्म र हुनेसम्म सबैखाले सचेतता अपनाएको छ।’ भारतीय क्षेत्रबाट आउजाउ गर्न पनि रोक लगाइएको उनले जानकारी दिए। उनले कोरोनाबाट बच्न र समुदायलाई बचाउन प्रदेशस्थित सशस्त्र प्रहरी सजग रहेको पनि बताए।

प्रदेशस्थित नेपाल प्रहरीममा पनि कोरोना संक्रमण फैलिरहेको छ। विभिन्न जिल्लाका प्रहरीमा कोरोना पुष्टि भइरहेको छ। प्रदेश प्रहरी कार्यालयले प्रहरीमा संक्रमित कति छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छैन। प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोख्रेलले फिल्डमा खटिएका प्रहरीको मनोबल ‘उच्च’ राख्न संख्या सार्वजनिक नगरेको बताए। ‘प्रहरीभित्र पनि कोरोना संक्रमित छन्। संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन्,’ उनले भने।

इलाम सशस्त्रमा यसरी फैलियो कोरोना  

इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ गणका ४६ जनामा कोरोना संक्रमण पुष्टि भयो। जिल्लामा संक्रमण पुष्टि भएका कुल ७६ जनामध्ये ४६ जना डिएसपीसहितका सशस्त्र प्रहरी थिए। संक्रमित सशस्त्रमध्ये ४३ जना हेडक्वार्टरकै हुन् भने तीनजना पनि कुनै न कुनै रूपमा हेडक्वार्टरसँग भौतिक रूपमा जोडिएका थिए। यसले सदरमुकामबाहिर रहेका सशस्त्र प्रहरी बेसक्याम्पमा पनि संक्रमणको त्रास बढायो। ती क्याम्पनजिकै रहेका समुदायमा अहिले पनि डर छ। हेडक्वार्टर केही दिनयता ‘सिल्ड’ छ तर त्यसअघि हेडक्वार्टर आएका र जिल्लाबाहिर पुगेका सुरक्षाकर्मीमा समेत संक्रमण पुष्टि भएको छ।  

नागरिककै सुरक्षामा खटिने सुरक्षाकर्मीसँग भौतिक हिसाबले सम्पर्क भए कोरोना सर्ने डर सर्वसाधारणलाई छ। 

हेडक्वार्टरमा कसरी फैलियो कोरोना ? आमअनुमान र सम्बन्धित निकायको जवाफ फरक–फरक छन्। सर्वसाधारणले सशस्त्र प्रहरीको लापरबाहीले जोखिम बढाएको भन्दै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन्। सरकारी निकायचाहिँ भारतीय सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी संक्रमणको माध्यम भएको बताइरहेका छन्। गणमा केही दिनअघि सरुवा भइआएका एसपी सुधीरजंग थापा संक्रमण आशंका गरिएका व्यक्ति राखेका क्वारेन्टिनबाट गणमा कोरोना आइपुगेको दाबी गर्छन्। ‘सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा रहेको क्वारेन्टिनमा सशस्त्रको ड्युटी टिम चेन्ज गरिएछ,’ उनले आफू आउनुअघिको अवस्थाबारे जानकारी दिँदै थपे, ‘त्यहींबाट यहाँसम्म कोरोना आइपुगेको हुनसक्छ। ड्युटीको टोली त्यसरी चेन्ज गर्नुहुँदैनथ्यो।’ सशस्त्रले सदरमुकामबाहिरका क्वारेन्टिनमा पनि सुरक्षा टोली राखेको छ। तर त्यहाँ ड्युटी परिवर्तन नभएको उनले बताए।

सशस्त्रको टोली भारतीय सीमा क्षेत्रतिरसमेत ड्युटीका लागि पुगेर हेडक्वार्टर फर्किएकाले उनीहरूबाट कोरोना सरेको अनुमान पनि सुरक्षा निकायमा छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बराल भन्छन्, ‘यही कारणले, यही माध्यमबाट कोरोना सरेको भन्न सकिने अवस्था त छैन तर भारतीय सीमाक्षेत्रमा खटिएका जवानबाट सशस्त्रको गणसम्म कोरोना फैलिएको हुनसक्छ।’

सिल हुनुअघिसम्म हेर्डक्वार्टरमा जिल्लाका सबैजसो बेसक्याम्पबाट सुरक्षाकर्मीको आउजाउ चलिरहेको थियो। कोरोनाको त्रास रहे पनि सुरक्षाकर्मीको सरुवाबढुवा, दज्र्यानी चिह्न प्रदान गर्नेजस्ता गतिविधि भइरहेकाले कोरोना फैलिन ‘मलजल’ मिलेको सशस्त्र प्रहरीकै अधिकारीहरू स्विकार्छन्।  

साउन ११ गते हेडक्वार्टरका १० जनाको स्वाब नमुना परीक्षण गर्दा डिएसपीसहित पाँच जनाको रिपोर्ट पोजेटिभ आएको थियो। यही गणका १५ जनाको नमुना पठाइएकामा साउन १६ गते ५ जनामा, ४० जनाको नमुना पठाइएकामा साउन १७ मा १७ जना र ३८ जनाको नमुनामा साउन २२ गते थप १६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। हेडक्वार्टरका डिएसपीमा कोरोना पोजेटिभ देखिएपछि त्यसको केही दिनअघि उनलाई भेट्न जिर्मलेबाट हेडक्वार्टरसम्म आएका इन्स्पेक्टरमा समेत कोरोना पुष्टि भएको थियो।  

इलाम हेडक्वार्टरबाटै झापाको पाडाजुगीस्थित सशस्त्र प्रहरी तालिम केन्द्र गएका ३ जनामा पनि साउन १५ मा कोरोना पुष्टि भएको थियो। झापाका सीमावर्ती क्षेत्रमा ड्युटी गरेर इलाम आएका जवानको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको हेडक्वार्टरका डिएसपी विश्व खड्काले बताए। ‘संक्रमण पुष्टि भएका केहीमा कोरोनाको लक्षण देखिए पनि बाँकीमा देखिएको छैन,’ उनले भने, ‘संक्रमणको जोखिममा रहेका जवानहरूलाई हामीले गणमा पनि क्वारेन्टिनकै रूपमा अलग्गै राखेका थियौं।’  

भारतीय सीमा क्षेत्र मानेभन्ज्याङमा रहेको बिओपीमा सशस्त्रका ७ जना रहेकामा सदरमुकामस्थित हेडक्वार्टरबाट थप ३ जना पठाइएको थियो। तर उनीहरू मानेभन्ज्याङ नपुग्दै पशुपतिनगर बिओपीले सेल्फ क्वारेन्टिनमा राखेर पिसिआर जाँच गरेको थियो। जाँच गर्दा साउन २० मा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो।

प्रकाशित: २९ श्रावण २०७७ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App