६ चैत्र २०८० मंगलबार
समाज

वीरगन्जमा ९ वर्षीय बालकको मृत्यु, उपचार नपाएको आरोप

बारा जिल्लाका ९ वर्षीय बालक सुशीलकुमार साहले उपचार नपाउदा ज्यान गएको उनको परिवारको आरोप छ । मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बारागढी गाउँपालिका–२ सुखीपत्रा घर भएका बालकको मृत्यु भएको हो ।

आइतबार स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएर झाडापखाला र बान्ता ठिक नभएपछि सोमबार बिहान करिब २ बजे सुशीललाई उनका परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका थिए । उनीहरुका अनुसार वीरगन्जका पाँच वटा अस्पतालमा जाँदा कसैले भर्ना लिएनन् । प्रहरीको भनसुनपछि दोस्रो पटक जाँदा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिएको थियो । आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको र दिनभरि उपचार नगरेको मृतकका भिनाजु उपेन्द्र साहको भनाई छ । अर्को दिन मंगलबार बालकको मृत्यु भएको छ ।  

परिवारकाले शुशिललाई पहिले नेसनल मेडिकल कलेज नै लिएर आएका थिए । आइसीयू खाली नभएको भन्दै त्यहाँका कर्मचारीले तराई अस्पताल लैजान सुझाव दिए । बिरामीलाई त्यही छोडेर उनका भिनाजु उपेन्द्र मोटरसाइकलमा तराई अस्पताल पुग्दा त्यहाँ पनि बेड नभएको बताइयो । शुशिलको स्वास्थ्य बिग्रीदै गएको थियो, पानी ट्यांकीचोकमा रहेको एल.एस न्युरो अस्पतालमा लिएर गए । त्यहाँ बालकका अभिभावकसंग दश हजार रुपैयाँ अग्रिम जम्मा गर्न लगाए तर आइसीयुमा भर्ना गर्ने बेला इन्कार गरी अन्यत्र लैजान भने । ‘त्यसपछि भवानी हस्पिटल पनि गयौं त्यहाँ पनि ठाउँ खाली छैन भनेर फर्काए,’ उपेन्द्रले भने ।  

स्वास्थ्य बिग्रदै गएको बिरामी बालकलाई लिएर उनका परिवारजन निकै हतोत्साहित हुन लागेका थिए, बिहान करिब ७ बजे वीरगन्जको घन्टाघर चोकमा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सुझाए । नारायणीको आकास्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले बालकको अवस्था गम्भिर भइसकेकोले आइसीयूमा भर्ना गर्नुपर्ने भन्दै फिर्ता गरी दिएको उपेन्द्रले बताए । त्यहाँबाट उनले पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तको नम्बरमा फोन गरेर समस्या सुनाए । ‘नेसनल मेडिकल जानु्स् तपाईंको बच्चाको उपचार हुन्छ, त्यहाँ ड्युटीमा रहेको प्रहरीलाई भनिदिन्छु’ भनेपछि  परिवारले पुनःबिहान ९ बजेतिर सुशीललाई लिएर मेडिकल कलेज पुगे ।

दोस्रो पटक जाँदा भर्ना लिएपनि आकस्मिक वा आइसीयूकक्षमा उनलाई राखिएन । परिवारले बताएअनुसार बेग्लै कोठामा आइसोलेट गरेर नाकमा अक्सिजनको पाइप लगाएर राखिदिए । दिउँसो बच्चाको कोरोना परीक्षण गराउनु पर्छ भनेपछि एम्बुलेन्समा राखि नारायणी अस्पताल लगेर स्वाब दिन लगाएको उनले बताए । उपेन्द्रका अनुसार बिरामी बालकका परिवारले किनिदिएको पिपिइ लगाएर राति करिब ९ बजे मात्र स्वास्थ्यकर्मी सुशीललाई हेर्न आएका थिए । उनी मंगलबार बिहान कोरोनाको परीक्षण रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा सुशीलको मृत्यु भएको खबर आयो । यता पीसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।  

अदालतको आदेश बिपरित 

वीरगन्जमा अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएकै दिन यो घटना भएको रहेछ । मंगलाबार नै वीरगन्ज चिनि कारखानास्थित उच्च अदालत अस्थायी इजलासले ‘स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी उपचार सेवा दिन र दिलाउन कुनैपनि बहानामा इन्कार नगर्न र नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यो आदेश जारी भएकै दिन यस्तो घटना दोहोरिएको छ । यसअघि पनि वीरगन्जमा यस्ता चार वटा घटना भएका छन् । उच्च अदालतको इजलासले चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सतर्कता अपनाएर उपचार गर्न गराउन आदेश जारी गरेको हो । अधिवक्ताहरु वीरेन्द्रप्रसाद यादव, रामनारायणप्रसाद कुर्मी र निरजकुमार गुप्ताले दायर गरेका संयुक्त रिट निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश वीरबहादुर डाँगीको एकल इजलासले यस्तो आदेश गरेको हो ।  

‘कोरोनाबाट संक्रमित व्यक्तिबाहेक अन्य रोगबाट ग्रसित व्यक्तिलाई कोरोनाको परीक्षण नै नगरी निज कोरोनाबाट संक्रमित भएको भनेर अनुमान गर्दा उपचार नपाएर बिरामीको मृत्यु हुन सक्ने हुँदा सतर्कता अपनाएर उपचार सेवा दिन भनिएको छ ।

प्रकाशित: २७ श्रावण २०७७ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App