१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विप्लव कार्यकर्तालाई जनताले बाँधेर प्रहरीलाई बुझाए

जुम्लाको तिला गाउँपालिका ६ स्थित घोडेगाउँमा चन्दा अशुल्न गाउँ पसेका विप्लब निकट नेकपाका जिल्ला सेक्रेटरी राजबहादुर भाम (रक्षक) सहित तीन जनालाई जनताले हातखुट्टा बाँधेर प्रहरीलाई बुझाएका छन् । पटक पटक गाउँमा आएर धम्क्याउने र चन्दा अशुली गर्ने कार्य गर्न थालेपछि गाउँले संगठित बनेका हुन् । गाउँमा चन्दा उठाउन पसेपछि गाउँलेले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए ।  

जनताको श्रम पसिनामाथि रजाइ गर्ने दिन गइसके, एक स्थानीयले भने,‘अव क्रान्तिका नाममा गाउँमा आएर धम्क्याउने चन्दा उठाउने दिन गइसके । त्यही भएर सामूहिक रुपमा विप्लव निकट कार्यकर्तालाई प्रतिकार गर्यौ । बाँधेर राख्यौँ, प्रहरीलाई बुझाइदियौँ ।’ गाउँलेले आगामी दिनमा चन्दा अशुल्ने र धम्की दिने पारामा गाउँ प्रवेश गर्ने जो सुकैलाई सामूहिक प्रतिकार गर्ने चेतावनी दिएका छन् ।  

क्रान्तिका नाममा एक दशक निकै सास्ती भोग्यौँ, अब सास्ती बेहोर्न तयार छैनौँ । क्रान्तिका नाममा ब्यापार गर्न दिदैनौँ, स्थानीयले भने,‘विप्लवका कार्यकर्तासंग न बिचार छ, नत सिद्धान्त राम्रो छ । यो पार्टीका कार्यकर्ता ब्यापारी जस्तै छन् । चन्दा अशुल्छन् । सहरमा घर ठड्याउँछन् । जनताको मुक्तिका नारालाई अलपत्र बनाउँछन् । त्यसैले अव जनता सचेत भइसकेका छौँ ।’ घोडे गाउँका जनताले मुगु जिल्ला सोरु गाउँपालिका ६ जिमा गाँउका ३७ वर्षीय राजबहादुर भाम(रक्षक), जुम्ला हिमा गाउँपालिका ७ धाँचु गाउँका २९ वर्षीया नन्द तिरुवा र हिमा गाउँपालिका पातरखोला गाउँकी वर्ष १६ की सपना बुढालाई प्रहरी समक्ष बुझाएका हुन् । जसमध्ये भाम जिल्ला सेक्रेटरी हुन् । तिरुवा जिल्ला समिति सदस्य र सपना बुढा सामान्य कार्यकर्ता हुन् ।

नाग्म प्रहरी चौकी रारालिहीका इन्चार्ज सइ कृष्णबहादुर खड्का जनताले गाउँमा बाँधेर प्रहरीलाई खबर गरेको बताउँछन् । उनले भने,‘प्रहरीलाई राति दश बजेतिर खबर गरेका थिए । साढे दश बजेतिर गाउँतिर लाग्यौँ । गाउँमा पुग्दा गाउँलले बाँधेर तीनै जनालाई फरक फरक कोठामा थुनेर राखेका थिए । गाउँलेले उनीहरुलाई बेहोस हुने गरि कुटपिट समेत गरेका थिए ।’ गाउँमा पाँच जना प्रवेश गरेको भएपनि जनताले तीन जनालाई मात्र नियन्त्रणमा लिइएका थिए । दुई जना भागिसकेका थिए ।

चौकी इन्चार्ज खड्काले गाउँमै पुगेर भने,‘तपाइहरु ढुक्क हुनुस । शान्ति सुरक्षाको जिम्मेवारी म लिन्छु । संगठित हुनुस । बिचार सिद्धान्तका नाममा लुट्नेहरुलाई प्रतिकार गर्नुस । विप्लव कार्यकर्ता गाउँमा प्रवेश पाउने वित्तिकै खबर गर्नुस ।’ गाउँलेले प्रहरीलाई विप्लव कार्यकर्ताले गाउँमा आएर चन्दा रसिद थम्याउने र लुट्ने गरिरहेको अनुभव समेत सुनाए । मानिसलाई तर्साएर चन्दा उठाउने र सहरमा विल्डिङ खडा गर्ने कम्युनिष्टका नाममा कलंक साबित हुदै गएको भन्दै गाउँलले सरकार र जनता मिलेर प्रतिकार गर्नु पर्ने बताएका थिए ।  

गाउँलेले तीनै जनालाई फरक फरक कोठामा राखेका थिए । महिलालाई महिलाले नै डयुटी गरिराखेका थिए । जनताले बाँधेर राखेका तीनै जना जिल्लाप्रहरी कार्यालय जुम्लाको हिरासतमा छन् । पछिल्लो समयमा जुम्लास्थित विप्लव कार्यकर्ताले जनप्रनिधि, शिक्षक, कर्मचारी, राजनीतिक कार्यकर्ता देखि समाजसेवी सबैलाई चन्दा दिन धम्की दिइरहेका थिए । प्रहरी चौकी इन्चार्ज खड्काका अनुसार उनीहरुबाट किताब,चन्दा रसिद र पर्चा फेला परेका छन् ।

त्यो क्षेत्र तत्कालिन जनयुद्धको आधार क्षेत्र हो । जनयुद्धदेखि आजित भइसकेका यहाँका स्थानीय फेरी पनि युद्ध नहोस भन्ने चाहान्छन् । दश वर्षसम्म माओवादी पाल्र्यौँ । सत्तामा गइसकेपछि उनीहरुले फर्केर समेत हेरेनन् । अहिले विप्लवले शुरु गर्न लागेको युद्ध पनि जनतालाई सास्ती दिनको लागि हो । अव सधैँ भरी युद्ध भइरहेको देख्न चाहादैनौँ । स्थानीयले भने,‘देश कोराना संक्रमण विरुद्धको युद्धमा छ  । सबै कोराना संक्रमण फैेलन एकजुट हौँ । भ्रष्टचारीलाई एक्लाउन लागौँ । सुशासन कायम गर्न लागौँ  । देश आफै समृद्ध बन्नेछ ।

प्रकाशित: २७ श्रावण २०७७ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App