१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपतको अवस्था बुझ्न गाउँमा सिडिओ

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा विपतको अवस्था बुझ्न जुम्ला कालिकोटको सिमाना पर्ने घोडेसिम गाउँमा पुगे । तिला गाउँपालिका ७ मा पर्ने घोडेसिम गाउँमा एक साता अघि पहिरो गएको थियो । जसका कारण गाउँका चारपाँच घर जोखिममा थिए । गाउँमा प्रमुख जिल्ला अधिकारी थापा पुग्दा स्थानीयले जोखिम व्यवस्थापनको लागि ध्यानाकर्षण गराए । उनीहरुको एउटै माग थियो,‘गाउँ पहिरोको जोखिममा छ । पहिरो नियन्त्रणका लागि पहल थालिदिनु पर्‍यो । पहिरोबाट गाउँ जोगाइदिनु पर्‍यो ।’

वडासदस्य गोर्खबहादुर रोकायाले भिरालो जमिनमा गाउँ भएकोले पहिरोको उच्च जोखिममा रहेको बताउँदै पहिरो नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरे । उनले भने,‘पहिलो पटक आफ्नै जिल्लाको सिडिओ पाएका छौँ । गाउँको पिडा सुनिदिनुहोला । पहिरो रोक्ने वातावरण बनाइदिनु होला ।’ पहिले गाउँको माथितिरबाट कच्ची कुलो हुँदै पानी बग्ने भएकोले अझ जोखिम थियो । ठाउँठाउँबाट पानी छिरेर गाउँको बीचमा मुल फुटे जस्तो देखिन्थ्यो । गाउँ हिलाम्य हुन्थ्यो । उनले भने,‘अहिले पक्की कुलो बनेपछि केही सुरक्षित भएका छौँ । तर पहिरोको त्रास कायमै छ । सिमानाको गाउँ भएकोले सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।’ पहिलो पटक जुम्ली सिडिओ गाउँमा पुगेकोले उनीहरुले सबै प्रकारका समस्या राखे । सबैभन्दा बढि जोड पहिरो नियन्त्रण नै बन्यो ।’

स्थानीय सरकारका जनप्रतिनिधि र सुरक्षा निकायसहित गाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी थापाले गाउँका समस्या सबै अवगत भएको बताउँदै विपत व्यवस्थापन समितिबाट हुने सबै सहयोग गर्ने आश्वासन दिए । पहिले पनि यो गाउँ पहिरोको जोखिममा छ भन्ने सुनेको थिए । गाउँ स्थान्तरण गर्ने या जोखिम व्यवस्थापनका लागि अन्य उपाय अपनाउने भन्ने विषयमा पहिलेदेखि छलफल भइरहेको थियो । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जिल्लाको कुनामा परेको बस्ती भएकोले दृष्टि पर्न सकेन । स्थानीय सरकारसंग समन्वय गरेर पहिरो नियन्त्रणका कार्य गर्न पहल हुनेछ । अब यो गाउँको जोखिम व्यवस्थापनका लागि स्थानीय सरकारसंग समन्वय भइरहनेछ ।’

यो बस्ती कुनामा परेकोले दृष्टि नपुगेको हो । गाउँमा खतराको संकेत देखिने वित्तिकै जानकारी दिनुहोला । सुरक्षित स्थानतिर लैजान सकिन्छ । प्रमुख जिल्ला अधिकारी थापा तिला गाउँपालिकाको ७ को घोडेसिम र हिमा गाउँपालिकाको कुडु गाउँमा पुगेका थिए । दुबै पहिरोको उच्च जोखिम क्षेत्र हुन् । जहाँ क्याप्स कर्णाली परियोजनाले पहिरो नियन्त्रणका क्रियाकलाप गरिएको  थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापाले पहिरोको जोखिम कम गर्न अनुकुलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पेस नेपालको क्याप्स कर्णाली परियोजनामा जलवायु अनुुकुलनका क्षेत्रमा भएका क्रियाकलापको समेत अनुगमन गरेका थिए ।  

प्रमुख जिल्ला अधिकारी थापाले गाउँमा जलवायु अनुकुलन, पहिरो नियन्त्रण लगायतका विपत व्यवस्थापनका लागि भइरहेका क्रियाकलाप सन्तोषजनक भइरहेको बताउँदै आगामी दिनमा पनि जनताको अनुकुलता र आवश्यकताका आधारमा योजना निर्माण गर्न जोड दिए । गाउँमा भइरहेको बृक्षारोपण सिँचाइ व्यवस्थापन र पहिरो नियन्त्रणका क्रियाकलापको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी थापाले भने,‘तपाइहरु प्रशासन कार्यालयमा निवेदन दिनुस, पहिरो नियन्त्रणका लागि ग्याबिन उपलब्ध गराउँछौँ ।

स्थानीयले प्रमुख जिल्ला अधिकारी थापालाई स्थानीय बाली फापरको केक समेत खुुवाएका थिए । प्रमुख जिल्ला अधिकारीसंग तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष विष्णु बुढा, पेस नेपालका अध्यक्ष किशोर न्यौपाने, विश्व खाद्य कार्यक्रमका कृष्ण शाही लगायतको सहभागिता थियो ।

प्रकाशित: २७ श्रावण २०७७ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App