१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लामो रुटको सवारी खुल्ने अनिश्चित

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैंठकले तत्कालै सार्वजनिक  नखुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेसँगै यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्।  सरकारले कोभिड १९ नियन्त्रण गर्न प्रभावकारी कदम पनि नचाल्ने र  लामो तथा छोटो रुटका सार्वजनिक यातायात रोकिराख्ने प्रवृत्ति गलत भएको गुनासो पोखेका छन्।  मन्त्रिपरिषद्को गत साउन ५ गते बसेको बैठकले भदौ १ गतेदेखि लामो तथा छोटो रुटका यात्रुबाहक सवारीसाधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।  

तर पछिल्लो समय मुलुकभर कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेसँगै लामो रुटका सार्वजनिक यातायात नखोल्न सीसीएमसीको बैठकले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तर,गत साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैंठकले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुने गरी छोटो, मध्यम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तरजिल्ला सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले उपत्यकासहित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै सार्वजनिक यातायातले कोभिड १९ फैलायो भनेर बदनाम हुनुपरेको गुनासो गरे।  ‘अहिले जनताको भीडभाड छरपष्ट रुपमा बजारमा देखिन्छन्।  कसैले पनि अनुशासन पालना गरेका छैनन्,’ उनले भने, ‘तर कोरोना फैलायो भनेर दोषजति सार्वजनिक यातायातलाई दिइएको छ।’  

महासचिव सिटौलाले कोभिड–१९ फैलिनुमा सार्वजनिक यातायातको मात्रै दोष नभएको बताए।  ‘एक हदसम्म हाम्रा व्यवसायीको पनि कमीकमजोरी छ।  तर जनता र सरकारको पनि त दोष छ नि !’ उनले भने, ‘जबसम्म सरकारले कर्फ्यू लगाएर नियन्त्रण गर्दैन, तबसम्म कोभिड १९ नियन्त्रण हुने देखिँदैन। ’  

महासचिव सिटौला सरकारले २१ दिनसम्म मुलुक नै ठप्प हुने गरी कर्फ्यू लगाएर कोभिड १९ नियन्त्रण गरेर सार्वजनिक यातायात खोल्नुपर्ने बताउँछन्।  ‘अहिले यातायात व्यवसायीले जोखिम मोलेरै सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा ठूलो जोखिम मोलेर काम गरिरहेका छन्।’  

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले मन्त्रिपरिषद्को बैठकले  जे निर्णय गर्छ सोही अनुसार नै हुने बताउँछन्।  ‘यस अघिको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि लामो र छोटो रुटका सवारी साधन खोल्ने निर्णय गरेको थियो।  सो निर्णय सम्बन्धमा अहिलेसम्म थप कुनै निर्णय भएको छैन,’ उनले भने, ‘आज बस्ने मन्त्रिपरिषद्को  खुल्ने वा नखुल्ने निर्णय गर्नेछ। ’ महानिर्देशक हमालले सरकारले लामो तथा छोटो रुटका सवारी साधन स्वास्थ्य सावधानी अपनाएर  सञ्चालन हुन सक्ने दाबी गर्छन्।  ‘जिल्लाभित्र सञ्चालन हुने सवारी साधनमा स्वास्थ्य सतर्कता अपनाउन धेरै समस्या देखिने हो,’ उनले भने, ‘लामो रुटको सवारी साधनमा सामाजिक दुरी कायम राखेर सञ्चालन गर्न सकिन्छ।’  

विभागले लामो रुटका सवारी साधनको सिट क्षमताको आधा मात्रै यात्रु राखेर सवारी गुडाउँदा कुनै समस्या नदेखिने दाबी गरेको छ।  महानिर्देशक हमालले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी चालक तथा सहचालक र यात्रुले मास्क लगाउन आनाकानी गरेकाले अनुगमनलाई तीव्र पारेको बताए।  

‘केही चालक तथा सहचालक र यात्रुले सामाजिक दुरी कायम नगरेको गुनासो गरेसँगै अनुगमनलाई तीव्र पारेका छौं,’ उनले भने।  सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो।  तर गत असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले असार २६ गतेदेखि उपत्यकाका तीन र अन्य जिल्लाभित्र मात्रै सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।  

 

प्रकाशित: २६ श्रावण २०७७ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App