१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमण बढेपछि स्थानीय तहमा आवतजावत रोक

विराटनगर–९ स्थित मेनरोडको बुधहाट चोकमा बन्द गरिएको बाटो। तस्बिरः नागरिक

प्रदेश १ मा कोरोना संक्रमित बढेपछि मोरङका केही स्थानीय तहहरूले आवतजावतमा  रोक लगाएका छन्।  मोरङको विराटनगर र बुढीगंगामा कोरोनाको संक्रमण समुदायस्तरमा देखिन थालेपछि त्यसको विशेष पहिचान गरेर वडामा आवतजावतमा पूर्णरूपमा बन्द गरेका छन्। विराटनगर महानगरपालिकाको वडा नम्बर ९ र बुढीगंगा गाउँपालिकाको १ नम्बर वडा आइतबार साँझबाट मानिस तथा सवारी साधन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा विराटनगर–९ र बुढीगंगा–१ मा बढी आवागमन र भीडभाड हुने स्थान लक्षित गरेर आवतजावतमा पूर्णरूपमा रोक लगाएको छ।  

विराटनगरको ९ नम्बर वडामा सबैभन्दा बढी संक्रमित भेटिएपछि प्रशासन कार्यालयले ७२ घण्टाका लागि रोक लगाएको हो। ट्राफिक चोकदेखि पश्चिम महेन्द्र चोकदेखि उत्तर शनि मन्दिरदेखि पूर्व जलजला मोडहँुदै दक्षिण मेनरोड, गुद्री बजारसम्म आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। प्रजिअ निरौलाका अनुसार विराटनगर र बुढीगंगा गाँउपालिकास्थित आरती स्ट्रिप्स क्षेत्रमा आवातजावतमा रोक लगाइएको हो।

बुढीगंगा–१ स्थित आरती स्ट्रिप्स क्षेत्रलाई लक्षित गरेर कडाइ गर्ने निर्णय आइतबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले गरेको प्रजिअ निरौलाले बताए। पुष्पलाल चोक पश्चिममा कोसी राजमार्ग, उत्तरमा टंकीसिनुवारी र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावतमा पूर्णरूपमा रोक लगाएको प्रजिअ निरौलाले भने।  

महानगरको विभिन्न वडा गरी हालसम्म २ सय ८३ जना संक्रमित पुष्टि भइसकेकामध्ये वडा नम्बर ९ मा २८ जना रहेका छन्। आइतबार सोही क्षेत्रमा एकै परिवारका ११ जनामा संक्रमण देखिएको थियो। आरती स्ट्रिप्समा कार्यरत २२ जनाभन्दा बढी कर्मचारीमा संक्रमण देखिएपछि उद्योगनै सिल गरेर कार्यरत सबै कर्मचारीलाई परीक्षणको दायरामा ल्याइने प्रजिअ निरौलाले जानकारी दिए।  

प्रकाशित: २६ श्रावण २०७७ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App