१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई प्रकारको परीक्षण रिपोर्ट आएपछि समस्या

बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको रिपोर्ट फरक आएको छ। २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा समस्या भएको थियो।  

मृगौला रोगी रहेका विराटनगर–१० का ६३ वर्षीय रमेश अग्रवालको उपचारका क्रममा शनिबार धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको थियो। उनी बिरामी भएपछि उनलाई कोसी अस्पताल उपचारका लागि लगिएकोमा लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि अग्रवाललाई फिवर क्लिनिकबाट स्वाब संकलन गरी घर पठाइएको थियो। अग्रवालको स्वास्थ्यमा थप समस्या आएपछि परिवारले उनलाई धरानको बिपी प्रतिष्ठान लगेका थिए। शुक्रबार धरान जाँदासम्म उनको कोरोना रिपोर्ट आएको थिएन। प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरी पुनः कोरोना जाँच गर्न भन्दै स्वाब संकलन गरेको थियो।  

शुक्रबार इमरजेन्सीमा भर्ना भई उपचारका क्रममा शनिबार उनको मृत्यु बिपी प्रतिष्ठानले जनाएको छ। तर, उनको धरानमा गरिएको स्वाब परीक्षणको रिपोर्टमा भने पोजेटिभ देखिएको अस्पताले जनाएको छ। यता, एक दिनपछि शुक्रबार प्रतिष्ठानले संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा परीक्षणका लागि पठाएको स्वाबमा भने नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।  

बिपी प्रतिष्ठानले अग्रवालको नेगेटिभ रिपोर्ट आएपछि शव आफन्तलाई जिम्मा लगाइदिएको जनाएको छ। उनको शनिबार नै परिवारले अन्त्येष्टि गरेको छ।

एक व्यक्तिको २४ घण्टाभित्र दुई फरक स्थानमा गरिएको कोरोनाको रिपोर्ट फरक आएपछि शव नेपाली सेनाले अन्त्येष्टि गर्ने वा आफन्तको जिम्मा लगाउने विषयमा विवाद भएको थियो। पछि विराटनगर महानगरपालिकाले थोरै मलामीको उपस्थितिमा अन्त्येष्टि गर्नुपर्ने सर्तसहित मृतकको शव आफन्तको जिम्मा लगाइएको थियो।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘अग्रवालका परिवार सदस्यको पिसिआर परीक्षण गर्छौं। पिसिआर परीक्षण गर्दा कहिलेकाहीँ २५ प्रतिशतमा नदेखिने समस्या आउनसक्छ।’

प्रकाशित: २६ श्रावण २०७७ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App