२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

रेडपाण्डा संरक्षणका लागि ताप्लेजुङमा ३० वटा कार्यक्रम सञ्चालन हुने

ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले सन् २०२५ भित्र करिब ३० वटा शीर्षकका कार्यक्रम चलाउने भएको छ।

मञ्चले यो अवधिमा १ करोड ४३ लाख ४८ हजार ८ सय २६ रुपैयाँ खर्च गर्ने भएको छ। जिल्ला परियोजना सल्लाहकार समितिमा आइतबार मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा सञ्चालन खर्च र कार्यक्रमका शीर्षकमा हेरफेर गरिएको छ।

सन् २०२४ मा ४१ वटा कार्यक्रम सञ्चालन गर्दा १ करोड ९२ लाख ५५ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने गरी रकम विनियोजन गरिएको थियो। यसपटक अघिल्लो वर्षभन्दा करिब ११ वटा शीर्षकका कार्यक्रमलाई समायोजन गरिएको राईले जानकारी दिए।

संरक्षण मञ्चले उक्त रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीवीकोपार्जन र पर्यापर्यटन प्रवर्द्धन शीर्षकमा खर्च गर्ने छ। हिमाली संरक्षण मञ्चले रेडपान्डाको सम्भावित बासस्थान भएका जिल्लाका सबै क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै वन अभिभावकका लागि पुनर्ताजकी तालिम, रेडपाण्डा अनुगमन ब्लकको पुनः रेखाङ्कन, रेडपाण्डाको नियमित अनुगमन, सामुदायिक वनमा चोरी शिकारी तथा चोरी निकासी न्यूनीकरण अनुगमन, कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद, रेडपाण्डा बुलेटिन प्रकाशनसहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले सञ्चालन गर्ने भएको छ।

रेडपाण्डाका प्रमुख बासस्थान भएका क्षेत्रका विद्यालयहरूमा रेडपाण्डा तथा वातावरण संरक्षण सम्बन्धी स्थानीय पाठ्यक्रम सञ्चालन, रेडपाण्डा संरक्षण पुरस्कार, रेडपाण्डा संरक्षण सचेतना बोर्ड स्थापना, रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम, रेडपाण्डा संरक्षण सम्बन्धी वृतचित्र निर्माण, रेडपाण्डा संरक्षण शिक्षाका लागि पोष्टर र पम्प्लेट छपाइ, रेडपाण्डाको आहारा प्रजातिका बिरुवा उत्पादनका लागि नर्सरी निर्माण, वृक्षरोपण, पानीपोखरी निर्माण, कुकुरहरूका लागि रेविजविरुद्धको भ्याक्सिन र बन्ध्याकरण अभियान, सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नवीकरणसहितका कार्यक्रम समेत सञ्चालन हुने भएका छन्।

रेडपाण्डा करिडोर क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल समेत निर्माण गरिने भएको छ। संरक्षण सिकाइमा नयाँपन दिन उक्त कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक राईले बताए। अल्लो कपडा बुनाइ, कटाइ, सिलाइ र प्रविधि हस्तान्तरणसहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले अघि सारेको छ। गोठमा बस्नेहरूका लागि सोलार सेट वितरण, रेडपाण्डाको बासस्थान व्यवस्थापन तथा बेसलाइन सर्भे, हिमालयन् हाब्रे सेन्टरको थप व्यवस्थापन, हाब्रे संरक्षण केन्द्रको अध्ययन तथा अवलोकनमा आउनेहरूलाई लक्षित गरी बाह्य कक्ष निर्माणसहितका कार्यक्रम सञ्चालन गर्ने हिमाली संरक्षण मञ्चले जनाएको छ।

सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रम छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। शेर्पाले संरक्षण आफैँमा चुनौतीको विषय भए पनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताए। कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित सुरक्षा निकायका प्रमुखहरू, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझालगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रकाशित: २० श्रावण २०८२ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App