१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दो

प्रदेश १ मा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक बढ्दो छ । प्रदेशमा शुक्रबार मात्रै ६७ जना नयाँ कोरोना पोजेटिभका संक्रमित थपिएका छन् । पछिल्लो केही दिनदेखि मोरङमा संक्रमतिको संख्या ह्वात्त बढेको छ । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

प्रदेशमा सबैभन्दा बढी मोरङको विराटनगरमा २४ पुरुष ८ महिला र रंगेलीमा २३ पुरुष ६ महिलामा संक्रमण देखिएको छ भने बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ५ जना डिस्चार्ज भए । कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।

रंगेलीमा संक्रमितको संख्या एकै पटक बढेपछि बजार क्षेत्रलगायतका वडा सिल गरिएको छ । नगरपालिकाले कन्ट्याक ट्रेसिङलाई अघि बढाएको छ । रंगेलीको ७ नम्बर वडामा २३, ६ नम्बर वडामा ३ र वडा नम्बर ४ मा २, ५ नम्बर वडामा १ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । जसमा ६ जना महिला र २३ जना पुरुष रहेका छन् । प्रदेश प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा १० वर्षदेखि ५८ वर्ष उमेर समूहका छन् । केही दिनअघि रंगेली बजारमा घर भएका एक वृद्धको मृत्यु भएपछि त्यहाँ पुगेकाहरूको नगरपालिकाले स्वाब परीक्षण ग¥यो ।  

सो क्रममा मंगलबार २२ जनामा पोजेटिभ रिपोर्ट आयो । मृतकको घरपरिवारका १४ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि नगरपालिकाले ४, ५, ६ र ७ नम्बर वडा शिल गर्‍यो । ‘एक घरपरिवारको ठूलो संख्यामा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ थाल्यौं,’ रंगेलीका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीलले भने, ‘समवेदना दिन पुगेका र आफन्तमा पनि कोभिड १९ पुष्टि भयो ।’

प्रदेश १ मा १ हजार ६ सय ९४ जनाको शुक्रबार पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २३ श्रावण २०७७ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App