५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाबाट मृत्यु भएकाको शव सेनाले गर्‍यो व्यवस्थापन

प्रदेश २: एकैदिन थपिए १७९ संक्रमित

गागननदीमा सलामीसहित शव व्यवस्थापन गर्दै नेपाली सेना । तस्बिर सौजन्यः नेपाली सेना, चोहर्वा

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । गोलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवाको शव शुक्रबार गोलबजार–२ स्थित गागन नदीमा व्यवस्थापन गरिएको छ । सेनाले सलामीसहित शव व्यवस्थापन गरेका थिए ।

मृतकसँग सम्पर्कमा आएका १३ जनालाई क्वारेन्टिन गरिएको गोलबजार नगरपालिकाको क्वारेन्टिन संयोजक एवं स्वास्थ्य चौकी प्रमुख निरन्ज शाक्यले बताए । परिवारका पाँच जना सदस्य, आफन्त र नजिकका छिमेकीलाई क्वारेन्टिन गरिएको छ । टोल बस्तीका कन्ट्याक्ट ट्रेसिङ, ट्रयाकिङ, र टेस्टिङ गर्ने कार्य अघि बढाइएको उनले बताए ।

किडनीका बिरामी उनको नियमित डायलासिस प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको थियो । चार दिनअघि डायलासिसका लागि जनकपुर पुगेका उनको पिसिआर परीक्षणका लागि स्वाब लिइएर घर पठाइएको थियो । घर फर्केपछि साउन २१ गते दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको थियो ।

प्रादेशिक कोभिड अस्पालका संयोजक डा. जामुनप्रसाद सिंहकाअनुसार किडनीको नियमित डायलासिस गराउँदै आएका सात जना बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरु सबैलाई डायलासिस गराउन यहाँबाट बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउने र डायलासिसपछि एम्बुलेन्समा फेरी यहाँ ल्याउने गरिँदै आएको डा. सिंहले बताए । सोही क्रममा उनलाई बिहीबार बिहान एम्बुलेन्समा राखेर डायलासिसका लागि धरान पठाइएको थियो । डायलासिस भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिदै गयो । आइसियुमा थप उपचार हुँदै गर्दा उनको मृत्यु भएको डा. सिंले बताए । किडनीका बिरामीलाई कोरोना संक्रमण भयो भने उच्च जोखिम हुन्छ डा.सिंहले भने,‘बाँकी ६ जना कोरोना संक्रमित किडनीका बिरामीलाई पनि उच्च जोखिम छ । हामीले नियमित धरान पुर्‍याउने ल्याउने गरिरहेका छौं ।’

कोरोना संक्रमित किडनीका बिरामीका लागि जनकपुरमा डायलासिसको सेवा उपलब्ध छैन । यो सेवा संचालनका लागि मेसिन खरिद गरिसकिएको छ डा. सिंहले भने,‘काम सुरु भैसकेको छ । दुई सातापछि यो सेवा प्रादेशिक कोभिड अस्पतालबाटै उपलब्ध हुन्छ ।’ कोरोनाबाट सिरहामा मृत्यु भएको यो पहिलो हो ।

यसैगरी, शुक्रबार प्रदेश २ मा १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् । पर्सामा १ सय ३३ जना, बारामा ५ जना, रौतहटमा ४ जना, सर्लाहीमा ९ जना, धनुषामा १० जना र सप्तरीमा १८ जना संक्रमित थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ । ३ हजार ३ सय ४ जना निको भएर घर फर्किसकेका छन् । यस प्रदेशमा मृतकको संख्या २५ पुगेको छ । सबैभन्दा बढी पर्सामा १६ जना, बारामा २ जना, रौतहटमा २ जना, महोत्तरीमा १ जना, धनुषामा १ जना, सप्तरीमा २ जना, सिरहामा १ जना मृतक छन् ।

प्रकाशित: २३ श्रावण २०७७ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App