८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भतिजीसंग मिलेर भाइले गरे दाइकाे हत्या

गत साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै ६० वर्षीय भाइले हत्या गरेको रहस्य खुलेको छ ।  

प्रहरीले शुक्रबार अपरान्ह पत्रकार सम्मेलनमार्फत यो घटना बिवरण सार्वजनिक गरेको हो । शंकाका आधारमा प्रहरीले घटना लगत्तै मृतक फुर्वा ग्याल्वोका भाई पेम्बालाक्पालाई पक्राउ गरेको थियो । करिब ७ सातादिन लामो अनुसन्धान तथा सोधपुछका क्रममा पेम्बालाक्पाले अगेनाको चिर्पटले हानेर दाजुको हत्या गरेको प्रहरी साबिति बयान प्रहरीलाई दिएका छन् । 

‘संगै गोठ रहेका उनीहरुको सामान्य विवाद नियमित जस्तै रहेछ’जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले भने‘यहिँ विवाद आवेशमा परिणत हुँदा पेम्बालाक्पाले आफ्ना दाजुको हत्या गरेको प्रारम्भिक निस्कर्ष आएको छ’ ।  

फुर्वा ग्याल्वोलाई खानेकुरा पुर्‍याउन गएका निजकी काईली बुहारी र बुहारी नाता पर्ने छिमेकी ल्हामु शेर्पाले फुर्वा ग्याल्वोलाई आगोले जलेर मृत अवस्थामा देखेपछि फोन सम्पर्क गरी घरमा जानकारी गराएका थिए । त्यसपछि फुर्वा ग्याल्वोका छोराहरु समेतका मानिसहरु गोठमा पुगि हेर्दा गोठ भित्र रहेको अगेनामाथि ओछ्याउन प्रयोग गरिन म्याट्रेस, राडी र ओढ्ने कम्बलले छोपेको अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराईएको थियो । घटना शंकास्पद रहेको आधारमा अनुसन्धान थालेको प्रहरीले फुर्वा ग्याल्वोका भाई पेम्बालाक्पा माथि शंका गरि गहिरो अनुसन्धान गर्दा पेम्बालाक्पाले दाजुको हत्या स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए ।  

श्रेष्ठका अनुसार प्रहरी बयानमा पेम्बालाक्पाले आफूलाई बारबार अपमानित हुने गालीगलौज गरेकोले दाजु फुर्वा ग्याल्वोलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी गोठको अगेना माथि राखी ओछ्याउन प्रयोग गरिने सामग्रीले छोपी आगो लगाएको बयान दिएका छन् । प्रहरीले यो घटना हुँदा संगै रहेकी भतिजी नाता पर्ने पासाङ्ल्हामुलाई समेत घटनाको मतियारको रुपमा मुद्दा चलाउने तयारी थालेको छ ।  

पेम्बालाक्पाले पनि पासाङ्ल्हामुकै सहयोगमा दाजु फुर्वा ग्याल्वोको हत्या गरेको बयान दिएपछि प्रहरीले उनलाई समेत ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रकृया सुरु गरेको हो । फुर्वा ग्याल्वोका काईला छोरा दावा शेर्पाले पेम्बालाक्पा माथि भने बाबुको हत्या आरोपमा किटानी जाहेरी दिई सकेका छन् ।  

प्रहरीका अनुसार बस्तीभन्दा निकै माथि रहेको जंगलमा दाजु फुर्वा ग्याल्वो, भाई पेम्बालाक्पा र भतिजी नाता पर्ने ५४ वर्षीया पासाङ्ल्हामु शेर्पाका गरी ३ जना गोठमा थिए । भाई पेम्बालाक्पा र भतिजी नाता पर्ने पासाङ्ल्हामु को करिव ५ सय मिटर वरपर तथा दाजु फुर्वा ग्याल्वोको करिब १ घण्टाको दूरीमा गोठ रहेको थियो । नजिक गोठ रहेका दाजुभाई विवाद गरेपनि घटनाको दिन भने साँझसंगै जाँड खाएका र त्यहाँपनि विवाद भएपछि पेम्बालाक्पाले दाजु फुर्वा ग्याल्वोलाई अंगारसरीको दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।  

घटनास्थल फुर्वा ग्याल्बोको घरदेखि ४ घण्टाको पैदल दूरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा भएको हो । फुर्वा ग्याल्बोको शव थोरै डढेको र चोटपटक रहेको अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित: २३ श्रावण २०७७ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App