७ वैशाख २०८१ शुक्रबार
समाज

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

लुहाले र ठाडी खोलामा राति बालुवा निकाल्दै गर्दा नियन्त्रणमा लिएका ट्याक्टर जिल्ला प्रहरी परिसरमा । तस्बिरः महेश्वर/नागरिक

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रणमा लिएकाे छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रातिराति अवैध रुपमा ढुंगा, गिटी र बालुवा निकाल्दै चोरी निकासी र बिक्री वितरण हुने गरेको स्थानीयको उजुरीका आधारमा खटेको प्रहरी टोलीले ठाडी खोला र लुहालेबाट छुट्टाछुट्टै दुई ट्याक्टर नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए । उनका अनुसार प्रहरी प्रशासनको नजरबाट जोगिन रातिराति खोलाभरी ट्याक्टर पसेर नदीजन्य पदार्थ निकाल्दै अज्ञातस्थलतर्फ लाने गरेको सुराकीका आधारमा छड्के टोली पठाउँदा ट्याक्टर फेला परेका हुन् ।

टोलीले खोलाबाट ढुंगा गिटी भरेर अज्ञातस्थलतर्फ लान तयार पारेको अवस्थामा प्रदेश २–०१–००१ त ०२३५ र स १ त २४४७ नं. का ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख एसपी भीम दाहालले प्राकृति स्रोतसाधनको अनाधिकृत दोहन र चोरी निकासी कार्य नियन्त्रण गर्ने अभियान अन्तर्गत बिभिन्न खोला नदीमा पछिल्लो समय छड्के टोली खटाएर अनुगमन गर्ने गरिएको छ । यसै क्रममा मंगलबार राति मात्र प्रहरीले उदयपुर र सिराहाको सीमास्थल उदयपुरगढी गाउँपालिका ७ कोल्टेस्थित बलान खोलाबाट अवैध ढुंगा निकाल्दै गरेका ७ ट्याक्टर नियन्त्रणमा लिएकाे थियो ।

सदरमुकाम गाईघाटदेखि झण्डै ३५ किलोमिटर टाढा कोल्टेमा गएको असारदेखि निरन्तर रुपमा अवैध रुपमा ढुंगा गिटी निकाल्ने गरेको स्थानीयको खवर अनुसार टोली पठाउँदा खोलाभरी ट्याक्टर फेला परेको एसपी दाहालले बताए । खोलाबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर गाईघाट ल्याइएका ती ट्याक्टरहरू बुधबार उदयपुगढी गाउँपालिकाको जिम्मा लगाइएको उनले बताए ।

उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकालाई जानकारी नदिई ढुंगा निकाल्दै गरेको अवस्थामा ट्याक्टरहरू नियन्त्रणामा लिइएकाे स्वीकारेका छन् । नियन्त्रणामा लिइएका ट्याक्टरहरू प्रहरीले जिम्मा दिएको र गाउँपालिकाले घट्नास्थलको अनुगमन गरी यथार्थ जानकारी लिएर कारबाही अघि बढाउने बताए ।

उदयपुर ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम’ लागू भएको जिल्ला भएकाले हरेक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म जिल्लाका कुनै पनि खोला, खहरे र नदीबाट ढुंगा, गिटी र बालुवा निकाल्न नपाउने व्यवस्था छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले सरकारले रोके  पनि वर्षेनी प्रशासन र प्रहरीको आँखा छलेर नदीजन्य पदार्थको संकलन, चोरी निकासी र बिक्री वितरण हुने गरेपछि अनुगमन कार्यलाई तिब्रता दिइएको बताए । उनले स्थानीय खोला नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको संकलन तथा बिक्री वितरण भएको पाइए स्थानीयतहहरुले नै अनुगमन, नियमन र कारबाही गर्न पाउने व्यवस्था राज्यले गरेको हुनाले गाउँ तथा नगरपालिकाले नै यसको जिम्मा लिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिलाई ‘नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति’को पनि जिम्मा भएकाले अवैध उत्खनन भएको पाइए स्थलगत अनुगमन निरीक्षण गरेर कारबाही गर्न सम्बन्धित स्थानीयतहलाई निर्देशन दिने प्रमुख परियारले बताएका छन् ।

प्रकाशित: २२ श्रावण २०७७ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App