७ वैशाख २०८१ शुक्रबार
समाज

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा न ७ धारापानी निवासी २३ वर्षीया फुलमायाँ सुनारलाई प्रभु हेलिकप्टरबाट उद्वार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भर्ना गरिएको छ । महिलालाई सुत्केरी व्यथा लागेपछि ताकम स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा तत्काल उद्धार गरी पोखरा पठाइएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । 

‘सडकमार्गबाट सम्भव नभएपछि तत्काल हेलिबाट उद्धार गरिएको हो,‘दुर्गमका महिलालाई यो सुविधा बरदान सावित भएको छ’उपाध्यक्ष छन्त्यालले भने । बेनी अस्पतालमै गुणस्तरीय प्रसुती सुविधा भएपनि सडक सञ्जाल अवरुद्ध भएकै कारण हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिकाले जनाएको छ । उद्धारको क्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा समेत ताकम पुगेकी थिईन् । मन्त्री थापाको कार्यकालमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्वारसम्बन्धी कार्यविधी २०७५’ पारित भई कार्यान्वयनमा आएको थियो ।  

लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका महिलालाई निःशुल्क हवाई उद्वार गरिन्छ । म्याग्दीमा सरकारी बाहेक निजी खर्चमा समेत यसअगाडी धेरै गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App