८ वैशाख २०८१ शनिबार
समाज

दाङमा पनि समुदाय स्तरमा कोरोना

दाङमा पनि समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यसअघि सम्म बाह्य मुलुकबाट आएकाहरूमा मात्रै कोरोना संक्रमण देखिएको दाङमा पहिलो पटक समुदाय स्तरमा पनि कोरोना संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाको गढवा गाउँपालिका–८ कोईलावासका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

‘गढवा गाउँपालिकाको कोईलावासमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भने, ‘यो दुईवटा केसले थप सजग बन्नु पर्ने देखाएको छ ।’ कोईलावास नेपाल भारत सीमा क्षेत्र हो । त्यहाँका नागरिकहरूको आवातजावत भारतीय बजारमा नै बढि हुन्छ ।

त्यही क्रममा त्यहाँका समुदायका दुईजनामा पनि कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । ‘त्यहाँका नागरिकहरूको आवतजावत हुने क्षेत्र भनेकै भारतीय बजार हो,’ चन्दले भने, ‘त्यसै क्रममा त्यहाँको समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्छ ।’ 

बाँकेको समुदाय स्तरमा कोरोना संक्रमण ब्यापक भएपछि दाङमा पनि समुदाय स्तरमा कोरोना जाँच गरिएको थियो । गढवाका ४० जनामा गरिएको कोरोना परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका समुदायका अन्य नागरिकहरूमा पनि कोरोना परीक्षण गरिने चन्दले जानकारी दिए ।

‘हामीहरूले यसअघि गरिँदै आएको क्वारेन्टिन बाहेक समुदाय स्तरमा कोरोना परीक्षण गरेका हाैं,’ चन्दले भने ‘कोईलावासका दुईजनामा कोरोना फेला परेपछि उनीहरूको सम्पर्कमा आएकाहरूको पहिचानमा हामी लागेका छौं, उनीहरूको सम्पर्कमा रहेकाहरूको अबको परीक्षण नतिजाले त्यहाँको समुदायमा कोरोनाको संक्रमण कति फैलिएको छ वा छैन भन्ने एकिन हुने छ ।’ कोरोना संक्रमण पुष्टि भएका दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि उनले जानकारी दिए ।

जिल्लाका अन्य स्थानमा पनि कोरोना परीक्षण गरिएकोमा अहिले सम्म समुदाय स्तरमा कोरोना संक्रमण देखिएको कोईलावासमा मात्रै हो । जिल्ला जनस्वास्थ्य कार्यालयले छिमेकि बाँके लगाएत अन्य जिल्लाहरूमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि जिल्लामा पनि समुदाय स्तरमा सम्भावितहरूको कोरोना परीक्षण गरेको हो । तर कोईलाबास बाहेक अन्य स्थानमा भने अहिले सम्म समुदाय स्तरमा कोरोना संक्रमण भेटिएको छैन ।

घोराहीका समुदाय स्तरका ५१ जनामा गरिएको परीक्षणका क्रममा सबैको परीक्षण नतिजा नेगेटिभ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो उपमहानगरपालिकाका सुरक्षाकर्मी, मेडिकल सञ्चालक र बैकका कर्मचारीहरू गरि ५१ जनाको कोरोना परीक्षण गरिएको थियो ।  यसैगरि राप्ती गाउँपालिकाका स्वास्थ्य प्रदायक निकायका २२ प्रतिनिधिहरूको पनि कोरोना परीक्षण गरिएको छ ।  

उनीहरूको पनि रिपोर्ट नेगेटिभ आएको चन्दले जानकारी दिए । लमहीका विभिन्न ३० पसल सञ्चालकहरूमा गरिएको कोरोना परीक्षणको पनि रिपोर्ट नेगेटिभ आएको छ । उता तुलसीपुर उपमहानगरपालिकाले भने वडा नम्बर १३ का प्रत्येक घरका एकजनामा कोरोना परीक्षण सुरु गरेको छ । उपमहनगरले वडाका प्रत्यक घरघरमा पुगेर स्वाब संकलन गर्ने काम बुधबारबाट सुरु गरेको छ ।  

बाँकेसंगको सीमा साँध जुधेका कारण पनि दाङको समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम धेरै रहेको जनस्वास्थ्य कार्यालय वताउँछ ।  ‘हाम्रो जिल्लासंग सीमासाँध जुधेको बाँकेमा समुदाय स्तरमै कोरोना भेटिएपछि दाङा स्वाभाविकै रुपमा खतरा बढ्छ,’ चन्दले भने, ‘यसर्थ यहाँ पनि समुदाय स्तरमा पुगेर कोरोना परीक्षणको काम थालनी गरिएको छ ।’ सरकारले लकडाउन हटाएपछि दाङ र बाँकेमा नागरिकको आउजाउ निकै बढेको छ । यसले पनि संक्रमणको जोखिम थप बढाएको छ ।

जिल्लामा अहिले झण्डै १ सय ५० को हाराहारीको संख्यामा नागरिकहरू क्वारेन्टिनमा बसेका छन् भने २३ जना आइसाेलेसनमा रहेका छन् । जिल्लाको बेलझुण्डि कोरोना विशेष अस्पतालमा ७ र देउखुरी लालमटिया स्थित आइसाेलेसन केन्द्रमा २६ जना कोरोना संक्रमित रहेको चन्दले जानकारी दिए । जिल्लामा कोरोनाबाट अहिले सम्म कुल ६ सय ६९ जना संक्रमित भएका छन् ।

प्रकाशित: २१ श्रावण २०७७ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App