१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँतिर सोझियो कन्काई नदी : रातभर सुत्दैनन् ७ गाउँका बासिन्दा

फाइल तस्बिर

कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएका कारण झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी साता गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । 

बाढी आउँदा डुबाउला भन्ने चिन्ता, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको हो । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर बताउँछन् । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने ।  

इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्छ । हरेक बर्खा नदीले ठूलो मात्रामा जनधन क्षति गर्ने गरेको छ ।  बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गरेर कन्काई नदीले सयौं बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।  

स्थानीयका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पु¥याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको हो । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पांग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुन सक्ने त्रास उत्पन्न भएको छ ।  

अहिले नै गंगाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित दर्जन परिवारको धानखेत कटानले क्षति गरिसकेको छ । अन्न फलाउने खेत बगर भइसकेको छ । अरू कैयौं किसानको खेतमा क्षति पुर्याउने क्रम जारी छ । कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीय बताउँछन् । खोला गाउँतिर सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीय तेजबहादुर कुँवरले बताए ।  

नगरपालिकाका वडा सदस्य चन्द्र संग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गरेका छन् । नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए ।  

प्रकाशित: २० श्रावण २०७७ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App