coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इटहरी र इनरुवामा समुदायस्तरमा कोरोना फैलिँदै

पूर्वका प्रमुख सहर इटहरी र इनरुवामा पछिल्लोसमय समुदायस्तरमै कोरोना संक्रमण देखापर्ने क्रम बढ्दो छ। पहिलोपटक इटहरीमा उपमहानगरपालिकका एक इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै पिसिआर जाँच बढाइएकोमा थप ४ जनामा पुष्टि भएको छ।

उपमहानगरपालिकाको योजना फाँटमा कार्यरत इन्जिनियरमा कोरोना पोजेटिभ भेटिएपछि उपमहानगरपालिकका र सबै वडा कार्यालयबाट प्रवाह हुने अति आवश्यक र स्वास्थ्यबाहेक अन्य सेवा बन्द गरेर पिसिआर जाँच बढाइएको हो। संक्रमित इन्जिनियरका छोरामा पनि कोरोना पुष्टि भएको छ। यस्तै, इटहरी उपमहानगरपालिकाकै सवारीचालकमा पनि कोरोना पुष्टि भएको छ।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार इलाका प्रहरी कार्यालयका थुनुवामा पनि कोरोना पुष्टि भएको छ। सवारी ज्यानका थुनुवा साउन ९ गतेदेखि प्रहरीको नियन्त्रणमा रहेका थिए। उनलाई अहिले उपचारका लागि गोठगाउँ मोरङको आइसोलेसनमा राखिएको छ। ९ दिनअघि पनि इटहरी प्रहरी कार्यालयको थुनामा एक रात बसेका एक युवामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो। इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षमा साउन ४ गते राति बसेका विराटनगरका युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

उनलाई राजस्व चुहावटको आरोपमा राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले पक्राउ गरी साउन ४ गते इटहरी प्रहरी कार्यालयमा राखिएको थियो। तर, सोमबार कोरोना पुष्टि भएका पुरुष भने साउन ९ गतेदेखि मात्रै प्रहरी कार्यालयमा बसेका थिए।

कोरोना पोजेटिभको संख्या बढिरहेका बेला इटहरी–१ मा भारतबाट आएर होम क्वारेन्टिनमै बसेका एक पुरुषमा पनि पुष्टि भएको छ। इटहरीमा समुदायस्तरमा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ। यहाँ अहिलेसम्म कुल कोरोना पोजेटिभको संख्या १८ पुगेको छ। इटहरीमा १ हजारभन्दा बढीको पिसिआर परीक्षण गरिएको इटहरी अस्पतालले जानकारी दिएको छ।

उता, इनरुवामा मंगलबार जिल्ला प्रहरी कार्यालयका एक प्रहरी जवानमा कोरोना पुष्टि भएको छ। उनलाई उपचारका लागि मोरङ गोठगाउँको आइसोलेसनमा राखिएको छ। इनरुवामा अहिलेसम्म समुदायस्तरमा ४ जनालाई कोरोना पोजेटिभ भएको नगरपालिकाको स्वास्थ्य शाखाका सन्तोषकुमार देवले बताए। केही दिनअघि समुदायस्तरका ३ जनामा कोरोना पोजेटिभ भएपछि आइतबारसम्मका लागि लकडाउन घोषणा गरिएको थियो। इनरुवामा अहिलेसम्म समुदायस्तरका ४ जनामा कोरोना पुष्टि भएको छ। कुल कोरोना संक्रमितको संख्या भने १० पुगिसकेको छ। यहाँ ३ सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको छ।

प्रकाशित: २० श्रावण २०७७ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App