coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिम : तीन सातामा १८ को मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा सोमबार एकै दिन १० जनाको मृत्यु भयो। मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारमा माथिबाट खसेको पहिरोले टहरो पुर्दा त्यहाँ सुतिरहेका आठ जनाको ज्यान गयो। एकलाई घाइते अस्पतालमा जीवितै उद्धार गरियो। भारतीय नागरिक उनको राजधानीको ट्रमा सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीहरु सबै मजदुर हुन्।

मृतक एक भारतीय र सात वीरगन्जका थिए। उनीहरु कभर्ड हल बनाउने काम गर्ने। त्यस्तै सोमबारै पाँचपोखरी–थाङ्पाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा दम्पत्तिकै ज्यान गयो। केही दिनअघि माथिबाट आइरहेको पहिरो बेवास्था गर्दै उनीहरु घरमै बसिरहेका थिए। अबिरल वर्षाले थप पहिरो निम्त्याउँदा उनीहरु घरसँगै पुरिए।

यी दुईसमेत सिन्धुपाल्चोकमा पछिल्लो तीन सातामा बाढीपहिरोका ६ घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। पहिरोमा अझै २० बेपत्ता छन्। १८ घाइते भए। घाइते केहीको अझै उपचार भइरहेको छ।

असार २५ गते बाह्रविसे गाउँपालिका–५ को जम्बु बजार बाढीपहिरोले बगाउँदा दुईको ज्यान गयो। घटनामा चार घाइते र १७ बेपत्ता भए। बेपत्ता अझै फेला पर्न सकेका छैनन्। जम्बुका ११ घर बगे भने केही क्षतिग्रस्त भए। सोही दिन भोटेकोसी गाउँपालिका–५ बुल्कुटेका दुई घर पहिरोले बगाउँदा चार बेपत्ता भए। बेपत्तामध्ये एकको शब केही दिनपछि फेला प¥यो। अझै तीन हराइरहेका छन्।

भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिका जिल्लामा सबैभन्दा बढी बाढीपहिरोको चपेटमा छन्। बाढीपहिरोले मानवीय क्षतिसहित ठूलो भौतिक नोक्सानी पु¥याएको छ। तीन घटनामा मानवीय क्षति भए पनि यीबाहेक दुई  स्थानीय तहमा दर्जनौँ पहिरो निम्तिए। असार २६ गते भोटेकोसीकै लार्चा खुम्पातेमा पहिरोले आधा दर्जन घर बगाउँदा तीन घाइते भएको थिए। लगत्तै साउन ४ गते भोटेकोसी–४ को फुल्पिङ गाउँमा पहिरोले एकै परिवारका पाँच सदस्य पु¥यो। दुई साताको अन्तरमा परिवारका पाँचैको शब फेला परेको थियो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सिन्धुपाल्चोक बाढीपहिरो लगायत प्राकृतिक प्रकोपको उच्च चपेटामा रहेको बताउँछन्। ‘यहाँको भौगर्भिक अबस्था कमजोर रहेछ,’ उनले भने। बाह्रविसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकाले बिपद्को सामना गरिरहनु परेको उनले बताए। ‘बाढीपहिरोबाट सुरक्षित रहन सचेत गराइरहेका छौँ,’ जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रजिअ ढकाल भन्छन्, ‘सावधानी अपनाउँदा अपनाउँदै पनि लगातार जनधनको क्षति भइरहेको छ।’

प्रकाशित: १९ श्रावण २०७७ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App