१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिलाम्मे सडक, स्थानीयलाई सकस

हिलाम्मे बनेको महुरे–सिमपानी सडक अन्तरगत पञ्चरदोबाटो खण्ड। तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्थानीयले हिलाम्मे बनेको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक मर्मत गर्न माग गरेका छन्। कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले वर्षा याममा हिलाम्मे बनेको सडक मर्मतमा ध्यान नदिँदा यातायात सेवा ठप्प भएको भन्दै बुईपाका स्थानीयले तत्काल मर्मत गर्न माग गरेका हुन्।  

सडक ठप्प हुँदा स्थानीयले सास्ती भोग्नु परेको भन्दै बुईपाका स्थानीयले सामाजिक सञ्जालबाट समेत निर्माण कम्पनीको बिरोध गरिरहेका छन्। निर्माण कम्पनीले सडकमा जमेको पानी हटाउनेदेखि खाल्डाखुल्डीमा ग्राभेल गर्न बेवास्ता गर्दा बिजयखर्कको मालादेखि महुरेसम्मको यातायात सेवा ठप्प बनेको स्थानीय मिलन राईले बताए। महुरे–सिमपानी (राजापानी) सडक खण्डमा हाल ट्याक्टर बाहेकका सवारी साधन गुड्न सकेका छैनन्। सडक हिलाम्मे भएका कारण टु–ह्वील गाडीको आवत–जावत पूर्णरुपमा रोकिएको छ। बुईपाको पञ्चरदोबाटोमा सबैभन्दा बढि सडक हिलाम्मे भएको छ। 

सडकमा बनेको खाल्डाखुल्डीमा ग्राभेल गर्न वा चोकर लगाएर पेलेर नियमित सवारी साधन सञ्चालन हुने वातावरणका लागि माग गरिए पनि निर्माण कम्पनीले नसुनेको राईले बताए। ‘हामीले अरु कुरा गरेकै छैनौँ। मात्र सडकमा नियमित सवारी साधन चल्ने वातावरण बनाउनु प¥यो भनिरहेका छौँ,’ राईले भने, ‘केही ठाउँमा मेसिनरी वाल हाल्ने र ड्रेन बनाउने काम भइरहेको छ। तर हाम्रो मागलाई बेवास्ता गरिएको छ। नियमित सडक सञ्चालन गर्ने वाताबरण बनाउनु निर्माण कम्पनीको दायित्व हो।’ वर्षाका कारण हिलाम्मे बनेको सडकलाई सुचारु गराउने सन्दर्भमा समेत सरोकारवाला निकायले स्थलगत अध्ययन नगरेको स्थानीयको गुनासो छ।

पुर्वी तराई जोड्ने सबैभन्दा छोटो दुरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानीभञ्ज्याङदेखि महुरेसम्मको कालोपत्रेका काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले जिम्मा लिएको हो। करिब ९१ करोडको खर्चमा २०७७ साल साउन ११ गतेसम्ममा पुरा गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरेर महुरे–फोक्सिङटार सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको थियो। तर, सडकको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ। ठेकेदारको कामको गति हेर्दा बाँकी रहेको समयभित्र सडक कालोपत्रेका काम पूरा हुने छाँट नदेखिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्ने गरेको छ। हाल आएका नविन मैनाली सातौं साईड इन्चार्जकारुपमा पठाइएका हुन्।  

सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले २०७६ साल फागुन ८ गतेदेखि बन्द गराएको सडकको काम जिल्ला प्रशासन कार्यालयको पहलमा दुई दिनपछि सुचारु गराउने सहमती जुटाइएको थियो। भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम गरे वापतको पारिश्रमिक वर्षौँसम्म नदिएपछि आक्रोशित कामदारले २०७६ साल पुस २० गतेदेखि महिना दिनभन्दा बढि सडकको काम ठप्प बनाएको केही समयपछि पुःन स्थानीयले काम रोकेका थिए। उसबेला तोकिएको भाकामा पारिश्रमिक नपाएको बिरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीको टिफर, ट्यांकर लगायतका सवारी साधनको चाँबी खोसेर प्रहरीचौकी बुईपालाई बुझाएर आ–आफ्नो काम ठप्प बनाएका थिए।  

प्रकाशित: १९ श्रावण २०७७ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App