१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट फर्केकालाई सिधै घर पठाउँदा जोखिम बढ्यो

भारतका विभिन्न ठाउँमा रहेका नेपाली सुदूरपश्चिम फर्कने क्रम रोकिएको छैन। कोरोनाको संक्रमण भयाभह रूपमा फैलिरहेको भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा नराखी साउनदेखि सिधै घर–घर पठाउन थालिएको छ। यसले संक्रमण समुदायमा फैलिने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न लागेका छन्।

‘हामी एकै परिवारका ५ जना सुरतबाट आएका हौं, क्वारेन्टिनमा नराखेर घरमा पठाइएको छ,’धनगढी उपमहानगरपालिका–१ का गोविन्द विकले भने,‘हामी अहिले घरमै आएर बसेका छौं।’

यसअघि क्वारेन्टिनमा दुई साता राखेर घर पठाइने गरिए पनि धनगढी उपमहानगरपालिकालगायत विभिन्न स्थानीय तहले सिधै घर पठाउँदै आएका छन्।कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भारतबाट आउने सबैलाई कैलालीमा क्वारेन्टिनमा राख्ने नगरिएको बताए। भारतका विभिन्न ठाउँबाट कैलालीको त्रिनगर नाका भएर मात्रै दिनहुँ सयांैजना आइरहेका छन्।

भारतबाट आउने नेपालीलाई प्रवेश गर्न दिइएपनि अन्तर्राष्ट्रिय सीमा बन्द छन्। तर कैलालीको त्रिनगर नाकाबाट अवैध रूपमा भारतीय नागरिकसमेत नेपाल प्रवेश गरी विभिन्न व्यवसाय सञ्चालन गर्न थालेका छन्।  

‘भारतबाट आएकालाई कम्तीमा दुई साता क्वारेन्टिनमा राखेर जाँच गरी संक्रमण भए नभएको पत्ता लगाइनुपर्छ,’वरिष्ठ फिजिसियन शुभेसराज कायस्थ भन्छन्,‘जाँच गरेर संक्रमण भएकालाई आइसोलेसन र संक्रमण नभएकालाई मात्र  घर पठाइनुपर्छ।’ संक्रमणको आगो दन्किरहेको भारतबाट आएकालाई सिधै घर पठाउनु भनेको समुदायमा संक्रमणको जोखिमआफंै निम्त्याउनु सरह भएको उनी बताउँछन्।

अहिले क्वारेन्टिन, अस्पताल सबैतिर खाली ठाउँ भएका बेला भारतबाट आउनलेलाई सिधै घर पठाउनुको कारण बुझ्न नसकेको उनको भनाइ छ। ‘भारतबाट ठूलो संख्यामा मानिस आएका छन्,अहिले सिधै घरघर पठाइँदैछ, समुदायमा संक्रमण छ कि छैन भनेर पत्ता लगाउन जाँच गरिनुपर्नेमा त्यसो गरिएको छैन,’उनले भने। समुदायमा संक्रमण फैलिएमा जटिल प्रकृतिका बिरामीको संख्या ह्वात्तै बढेर मृत्युदरसमेत बढेर भयाभह हुने उनले बताए।  

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी पनि भारतबाट आएकालाई सिधै घरघर पठाइनुले समुदायमा संक्रमण फैलिएर भयाभह अवस्था हुने कुरा स्वीकार्छन्। भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने जिम्मेवारी स्थानीय तहको भएको उनको भनाइ छ।‘भारतबाट आएकालाई सिधै घर पठाउनु भनेको समुदायमा संक्रमण फैलाउन सहयोग गर्नु हो,’उनले भने। खानेपानीको धारा, शौचालयलगायतको एउटै प्रयोग गर्नुपर्ने, हिँड्ने बाटो एउटै हुने भएकाले होम क्वारेन्टिन भनेपनि गाउँघरमा अलग्गै बस्नसक्ने अवस्था नहुने स्थानीय बताउँछन्। यसैगरी नियमित स्वास्थ्य जाँचपनि हँुदैन।

पहाडी जिल्लामा रहेका क्वारेन्टिमा बस्नेहरूको समेत थ्रोट स्वाब लिएको रिपोर्ट ढिलो आउने र त्यसअघि नै उनीहरू घर गएर समुदायमा घुलमिल भइसक्ने हुनाले पनि कोरानाको संक्रमण समुदायमा फैलिने खतरा बढेको छ।

साउन महिना यतामात्र कैलालीको त्रिनगर नाकाबाट ६ हजारभन्दा भारतबाट भित्रिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। यसैगरी महेन्द्रनगरको गड्डाचौकीबाटसमेत उत्तिकै मानिसहरू भित्रिएका छन्।

कोरोनासंक्रमण फैलिएपछि भारतबाट करिब ३ लाखनेपालीसुदूरपश्चिममा फर्किसकेका छन्। यकिन तथ्यांक नभए पनि सुदूरपश्चिमाबाट देशभरिमै सबैभन्दा बढी भारतमा मजदुरी गर्न जाने रहेका छन्।  

क्वारेन्टिन रित्तिँदै

सुदूरपश्चिमका क्वारेन्टिन भारतबाट फर्किनेले खचाखच भरिएका हुन्थे। कुनै समय ६० हजारभन्दा बढी विभिन्न क्वारेन्टिनमा राखिए।तर अहिले क्वारेन्टिनमा खाली हुँदै गएका छन।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५६ हजार ६ सय १४ बेड संख्या रहेको सुदूरपश्चिममा २ हजार ६ सय ४६ जना मात्र क्वारेन्टिनमा छन्। सुदूरपश्चिममा पछिल्लो दिनमा संक्रमणदर बढ्दै गएको छ।सुदूरपश्चिममा ४ हजार ४ सय ३२ जना संक्रमित भएका छन। संक्रमितमध्ये९ जनाको मृत्यु भएको छ।

प्रकाशित: १८ श्रावण २०७७ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App