८ वैशाख २०८१ शनिबार
समाज

आइसोलेसन कि खोर ?

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालअन्तर्गत साइकृष्ण आइसोलेसन केन्द्रको अवस्था। तस्विरः मिथिलेश यादव/नागरिक

गजेन्द्रनारायण सिंह अस्पतालको साइकृष्ण आइसोलेसनमा राजविराज नगरपालिकाका एक संक्रमित भर्ना भएको पाँच दिन भयो। अर्का साथीसहित ती युवक सो केन्द्रमा मंगलबार भर्ना भएका हुन्। भर्ना भएकै दिनदेखि उनी आइसोलेसन केन्द्रको खराब अवस्था सहन नसकेर सरकारलाई हारगुहार गरिरहेका छन्। तर सुनुवाइ भने भएको छैन।

साउन १२ गते मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संक्रमितको उपचार अवस्थाबारे सो अस्पतालका निमित्त प्रमुखसँग जानकारी लिएका थिए। मुख्यमन्त्री राउतले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखिने बताउन पनि भ्याए तर अस्पतालको बेडबाट संक्रमितले गरेको गुहार सुन्न भ्याएनन्। फलतः ती युवकले मास्कले अनुहार छोपेर प्रदेशकै सबैभन्दा ठूलो १ सय ७८ बेड क्षमता भएको आइसोलेसन अस्पतालको कष्टकर भोगाइ सार्वजनिक गरेका छन्। कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा नभई खोरमा खाँदेर राखेको उनले बताए।  

जस्तापाताले छाएको खण्डहर जस्तो भवनमा लहरै बेड लगाइएको छ। बेडमाथि म्याट्रेस, तकिया र पातलो ओढ्ने राखिएको छ। बेडमुनि डस्टबिन राखिएको छ। तीनवटा ब्लक छन्। प्रत्येक ब्लकमा आठ÷आठवटा शौचालय र स्नानघर छन्। तर, सबै शौचालय र स्नानघर फोहोरले भरिएका छन्। आइसोलेसन कक्षमा समेत फोहोर छरपस्ट फालिएको छ।  राजविराज घर भएका संक्रमित घरबाटै खाना मगाएर खाइरहेका छन्। ‘यहाँ वितरण हुने खानामा कहिले दालमा झिँगा हुन्छ त कहिले भातमा किरा। तरकारी पनि गनाइसकेको हुन्छ। चिया चिसो दिइन्छ। पानी पनि पर्याप्त पाइँदैन,’ संक्रमित एक युवकले भने, ‘यहाँ कोरोना निको हुन भर्ना भएको हुँ कि अर्को संक्रमण थप्न ? बरु बाहिर सुरक्षित तर यहाँ असुरक्षित अनुभूति भइरहेको छ।’  

पहुँचवालालाई होम क्वारेन्टिन र अन्यलाई खोरमा खाँदेको बताउँदै उनले भने, ‘खोरलाई बिरामी बस्नलायक बनाइयोस् सरकार ! यहाँ डरले कोही बोल्दैनन्, सबै घर जाने दिन गनेर बसेका छन्।’  

राजविराजकै क्याम्पसमा स्नातक अध्यनरत एक युवकसहित १० जनाले काठमाडौं जान पिसिआर परीक्षण गराए। दुईजनाको रिपोर्ट पोजेटिभ आयो। सोमबार साँझ नै उनीहरू भर्ना हुन आइसोलेसन अस्पताल पुगे तर त्यो दिन उनीहरूलाई भर्ना लिइएन। ‘हामी फर्केर गयौं। मंगलबार दिउँसो एम्बुलेन्स चढेर आइसोलेसन अस्पतालमा भर्ना हुन आयौं। बेडमा ओछ्याउन दिएको तन्ना हेर्दै फोहोर थियो। हामीले लिन मानेनौं र घरबाटै मगायौं,’ संक्रमितमध्ये एक युवाले भने, ‘शौचालय फोहोर पानीले भरिएको छ। कोठाभरि लामखुट्टे छन्। कोरोना भाइरसभन्दा पहिला अर्को संक्रमणबाट मरिएला जस्तो लाग्न थालेको छ।’ आइसोलेसनको अवस्था बेहाल भएको बताउँदै उनले भने, ‘हामी थुनिएका छौं। कसलाई कसरी गुहार्ने ?’ डाक्टर पनि हेर्न नआउने उनको गुनासो छ।  

कथा राजविराज आइसोलेसन अस्पतालको भए पनि प्रदेशभर सञ्चालित अधिकतर आइसोलेसनको व्यथा यस्तै छ। कतै खानाको समस्या, कतै सरसफाइको त कतै उपचार उपकरण अभावले आइसोलेसन अस्पताल थलिएका छन्।  

यता गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका निमित्त प्रमुख डा. रन्जित झा भने १ सय ७८ बेड क्षमता भएको आइसोलेसन केन्द्रमा तीन सय जनासम्म राख्दा कसैले कहिल्यै गुनासो नगरेको बताउँछन्। ‘अहिले राजविराजका दुई÷चारजना बदमास आएर झुठ प्रचार गर्दै छन्,’ उनले भने। आइसोलेसन केन्द्रमा शौचालयको समस्या भएको विषय भने उनले स्विकारे। ‘सरसफाइका लागि झाडु, फोहोर राख्ने भाँडो सबै व्यवस्था गरिदिएका छौं,’ उनले भने, ‘बदमासहरू फोहोर व्यवस्थापन होइन, छरेर बदनामी फैलाउँदै छन्।’  ‘खानामा यो चाहियो, त्यो परिकार चाहियो भन्छन्,’ डा. झाले थपे, ‘हामीले होटल सञ्चालन गरेको त होइन नि ! अर्डरअनुसार खाना दिन सकिन्न।’

प्रकाशित: १८ श्रावण २०७७ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App