३१ श्रावण २०७७ शनिबार
समाज

‘स्तनपानले आमा र बच्चाबीच आत्मीयता बढाउँछ'

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’, भन्ने नाराका साथ २८ औं विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।

भर्खरै जन्मेको शिशुको लागि आमाको दूध नै सबथोक हुन्छ। शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो। आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ।  

सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ। तर यो बिगौती दूधलाई फोहोर दूध भनेर धेरैले फाल्ने पनि गरेका छन्। ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान सुरु गरिसक्नु पर्ने र छोटो–छोटो अवधिमा आमाको दूध खुवाउनु बच्चाको लागि अतिउत्तम हुने स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री योन प्रशुती रोग अस्पतालका निर्देशक डा. संगिता मिश्रको भनाइ छ।  

देशमा नवजात शिशुको मृत्युदर धेरै छ। एनडिएचएसले २०१६ मा सार्वजनिक गरेको तथ्याँक अनुसार प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको छ। सो तथ्यांक अनुसार नेपालमा नवजात शिशुको जन्म पश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर एकदमै उच्च रहेको छ।

यसका अतिरिक्त पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रत्येक १ हजारमा ३९ रहेको छ। सो तथ्यांक अनुसार नेपालमा नवजात शिशुको मृत्युको कारण विभिन्न संक्रमण हुनु, निसास्निु, समय भन्दा अगावै जन्मनु र चिसो हुनु लगाएतका हुन्।

‘यी चारवटै कारणबाट बच्न आमाको दूध महत्वपूर्ण छ। यसकारण पनि आमाको स्तनपानलाई बच्चको लागि अमृत समान हुन्छ।’ डा. मिश्र भन्छिन्। आमाको दूध खाने बच्चा शारीरिक रुपले मात्र नभई मानसिक रुपले समेत स्वस्थ र बलियो हुने उनी बताउँछिन्।  

‘स्तनपानले बच्चालाई त राम्रो गर्छ नै आमालाई पनि धेरै फाइदा पुग्छ।’ उनले भनिन्, ‘बच्चालाई स्तनपान गराउदा महिलामा स्तन क्यान्सरको जोखिम कम हुने र शरीरमा भएको बोसो र चिल्लो पदार्थलाई पनि हटाई शारीरिक सुन्दरता समेत बढाउँछ।’ मिश्रका अनुसार स्तनपानले बच्चाको मात्रै होइन आमाको स्वास्थ्यमा पनि फाइदा पुग्छ।  

स्तनपानले आमालाई हुने फाइदाः

शारीरको तौल घटाएर शारीरिक रुपमा सुन्दर बनाउँछ,

आमाको पाठेघरको खुलेको मुखलाई खुम्च्याउँछ,

सुत्केरी पश्चात् हुने रक्तश्रावलाई पनि कम गर्न मदत पुग्छ,

आमा र बच्चाबीच आत्मियता बढाउँछ,

बच्चालाई कम्तीमा पनि २ वर्षसम्म स्तनपान गराउनु पर्दछ। ६ महिना पुगिसकेपछि बच्चालाई आमाको दूधसँगै घरेलु आहार पनि खुवाउनु पर्ने हुन्छ। स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउन नहुने डा. मिश्रले बताइन्। दूध कम आउने र स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ।

नेपालमा एक सयमध्ये करीव ५५ जना शिशुहरुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ। तर पनि पहिलो एक घण्टा भित्र स्तनपान नगराइने बाँकी शिशुहरुको जीवन भने मृत्यु र रोगको उच्च जोखिममा हुने र उनीहरुले निरन्तर रुपमा स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य संगठनको नयाँ प्रतिवेदनले देखाएको छ।

 

यो पनि पढ्नुहोस्

स्तनपानले बच्चालाई मात्र होइन आमालाई पनि सुन्दर बनाउँछ

 

अहिले धेरै आमाहरु कामको व्यस्तताका कारण स्तनपान नगराइ बच्चालाई बोतलबाट बाहिरी दूध खुवाउने प्रचलन प्रशस्त मात्रामा भइरहेको देखिन्छ। अभिभावकहरु बच्चालाई आमाको दूध भन्दा बजारमा पाइने दूध खुवाउनु नै सहज ठान्दछन्।

यसरी बच्चालाई बोतलबाट दूध खुवाउँदा संक्रमण भई हानी गर्छ भने प्राकृतिक रुपले आमाको दूध चुस्न नै विर्सने सम्भावना धेरै हुन्छ। यसकारण बच्चालाई बोतलबाट दूध नखुवाउँन आग्रह गर्छन् डा. मिश्र। ‘सुत्केरी आमाले पनि हरेक दिन शक्ति दिने विभिन्न प्रकारका खानाहरु खानु पर्दछ। अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुराहरु आमालाई अनिवार्य रुपमा खुवाउनु पर्दछ। सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान पनि गर्नु हुँदैन।’ मिश्र भन्छिन्।  

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा नियन्त्रण गर्न ऐन, २०४९ तथा नियमावली, २०५१ बनाइएको छ। सो ऐनले स्तनपानको संरक्षण र सम्वर्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमन गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न दिशानिर्देशन गर्दछ।

यस ऐन अनुसार आमाको दूधको विकल्पमा अनाधिकृत रुपमा अन्य दूध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ। यसैले अनिवार्य रुपमा आमाको दूध नै खुवाउनु पर्ने सो ऐनमा उल्लेख छ।

शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक २४ घण्टा (दिन र रात) स्तनपान गराउनु पर्दछ। आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले पानी पनि खुवाउनु पर्दैन। बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ।

पहिलो १००० दिनमा ध्यान दिनुपर्ने कुराहरुः

गर्भवतीलाई गर्भावस्थादेखि बच्चाको जन्म २ वर्षसम्म मातृ पोषणमा विशेष ध्यान दिँदै पौष्टिक तत्व युक्त विविध खाना खुवाउने।  

बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने। बच्चा ६ महिनाको भएपछि आमाको दूधसंगै विविध खाना मिसाइएको पौष्टिक पूरक खाना खुवाउने।

जन्मने बित्तिकै नवशिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्ने।

बिगौती दूध पहिलो खोप सरह हुनाले शिशु जन्मने बित्तिकै खुवाउने।  

आमाको दूध आइरहेको समयमा पनि ल्याक्टोजिन जस्ता बाहिरी दूध बच्चालाई नखुवाउन सल्लाह दिन्छिन् डा.मिश्र। उनका अनुसार बाहिरी दूध तथा लेक्टोजिनले बच्चामा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतालाई पनि घटाउने काम गर्छ। त्यसैले बच्चाको सम्पूर्ण विकासका लागि सकेसम्म आफ्नै दूध खुवाउन सबै आमाहरुलाई डा. मिश्रको आग्रह छ।

प्रकाशित: १७ श्रावण २०७७ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App