७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बागलुङ–पर्वत जोड्ने लामो झोलुङ्गे पुल सर्वसाधारणलाई खुला

पर्वत - बागलुङ जोड्ने झोलुङे पुल । तस्बिर : सौजन्य राम थापा

बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुल शुक्रबारदेखि औपचारिक रुपमा सर्वसाधारणलाई खुल्ला गरिएको छ। कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन। लकडाउन हटे सँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेसँगै सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए। ‘कोरोनाको जोखिमलाई मध्यनजर गरी खुल्ला गरिएको छ,‘पर्यटनको क्षेत्रमा कोशेढुंगा सावित हुने छ’ मेयर पौडेलले भने।  

कालीगण्डकी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुलको प्रचारप्रसार गरी धेरै पर्यटक भित्राउने बताए। उनले साविकको धवलागिरी अञ्चलका चारवटै जिल्लामा आउने पर्यटकलाई आर्कषित गर्ने बताए। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) कारण नेपालमा चैत्र ११ गतेदेखि भएको लकडाउनका बेला पनि पुलको काम रोकिएको थियो। लकडाउनकै अवधिमा पुल सम्पन्न भएको थियो। ‘सिङ्गल स्पान’मा संसारकै लामो दावी गरिएको ५६७ मिटर लामो रहेको छ। थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी नरहरी खड्काका अनुसार पुल सम्झौताको तीन महिना अगाडि नै सम्पन्न गरिएको थियो। पुल करिब नौ करोड २५ लाख रुपियाँमा निर्माण सम्पन्न भएको थियो। झोलुङ्गे पुलको लठ्ठा बाहेक अन्य सामग्री खरिद तथा निर्माणका लागि छ करोड ९१ लाख रुपियाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको र कार्यालयले लठ्ठा खरिदका लागि दुइ करोड १८ लाख र ल्याव टेष्ट तथा अन्य कामका लागि करिब १६ लाख रुपियाँ खर्च भएको थियो। वि.सं. २०५९ सालदेखि नै पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएकोमा लम्बाई लामो भएकाले प्राविधिक पक्षले असम्भव भन्दै काम भएको थिएन।  

पुलमा एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको छ। पुलबाट एक घण्टा बढी पैदल यात्रा बाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिने कुश्मा नगरपालिका वडा नं. १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले बताए। उनका अनुसार पाङबाट बजारमा जान समेत सहज भएकाले पुलले स्थानीयलाई धेरै राहत मिलेको बताए। पुललाई पर्यटनसँग समेत जोड्ने गरी आसपासका क्षेत्रमा ब्यवसाय समेत सुरु हुन लागेको छ। पछिल्लो एकदशक यता बागलुङ र पर्वतमा पर्यटनको क्षेत्रलाई लक्षित गरी धमाधम पूर्वाधार विस्तार भइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटकको निकै कम चहलपहल हुने बागलुङ र पर्वतमा पूर्वाधार विस्तार भएपछि म्याग्दी र मुस्ताङमा जस्तै पर्यटकको चाप बढ्न थालेको छ। आन्तरिक पर्यटकको रोजाईमा पर्वतको कुस्मा आसपासको क्षेत्र पर्न थालेको छ। यता पुल खुलेपछि सर्वसाधारणको भिडसँगै कोरोनाको जोखिम हुने भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ। कोरोनाको जोखिमलाई मध्यनजर गरी तत्काल पुलमा आवतजावतमा कडाई गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।  

 

प्रकाशित: १६ श्रावण २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App